३१ चैत्र २०८१ आइतबार
image/svg+xml ९:४० पूर्वाह्न
कला/संस्कृति

श्रद्धाञ्जली चित्त दाइ!

व्यक्तित्व

चित्तरञ्जन राजभण्डारी कुलायन धर्म, संस्कार, संस्कृतिमूलक नाम। चित्तरञ्जन नेपाली रचनागर्भबाट उद्भव भएको साहित्यिक नाम। कुलायण तन्त्रमा आधारित होस् वा चित्तवृत्ति/रचना गर्भबाट प्रजनित, स्वनाम धन्य नै रहन्छन्। प्रसङ्गवश बेलायती कवि टिएस इलियट श्रव्यदृश्य साधनका अन्तक्रिया या कतै पढेको यकिन गर्न सकिनँ। एक महिला पात्रले लेखेको झिसमिसे स्मृति छ। उहाँको उद्गार यसप्रकार थियो– ‘टिएस इलियट छद्म नामकी पात्र म नै हुँ।’

 किन आफ्नै नाम उल्लेख नगर्नुभएको त? भन्ने जिज्ञासामा उहाँले भन्नुभएको अहिलेझैं लाग्छ। उहाँको प्रत्युत्तर थियो– पुरुषप्रधान समाजमा नारीपात्रलाई कहाँ प्रश्रय पाइन्छ र? २० औं शताब्दीको बेलायतमा त त्यस्तो। अन्ततिरको के कुरा?

चित्तरञ्जन दाइभन्दा उमेरले तीनचार वर्ष कान्छो। मेरो उमेरका सर्जकवृन्द विरलै लेख्दा हुन्। अलिअलि कनीकनी लेख्दैछु मुस्किलले। सास रहेसम्म आश गर्नैपर्छ। आश गरेपछि प्रयास गर्नैपर्दो हुन्छ। जीवन्त प्रयास यस्तै त हो! जीवन प्रयासै प्रयास। गर्नैपर्छ प्रयत्न। जीवनसार प्रयत्नै प्रयत्न। चित्ताउँदा चिन्तन फुर्दो रहेछ।

ढुक्क छ, वृद्ध अवस्थामा सलक्क सर्लकिनु नै श्रेयष्कर। आयुर्वेद–यलोपेथी दुवै धारका जोखना यस्तै उस्तै। मोटाइ बस्नु कष्टकर। आफूलाई आफैंले बोक्नु कठिन हुँदोरहेछ। कठिनाइ बोक्नु जीवन होइन, जीवनधर्म। आफूलाई आफन्तजन, घरपरिवारलाई सर्लक्क हर्लक्क सुविधाजनक तवरले जीवन व्यतीत गर्नु। परिवारलाई कष्ट दिई जीवन बाँच्नु नै कसरी? अति होसियारीसाथ चाल्छु पाइला, ताकि नलरखरियून्, आफैं नलडियून्।

चित्त दाइको भक्तपुरसित रक्तसम्बन्धी नाता पनि छ। जन्मस्थल मेरो बज्रखाल। पुर्खाले खुला स्थानमा बज्रलेपन गरी ग्वंगल चोक बनाई चारैतिर घर निर्माण गरेथे। त्यस बज्रलेपन गरी बनाइएका स्थानमै बज्रखाल भए। नेपाल भाषामा बज्रखाल बजखाल बने। शब्दविन्यासमा अप्रभंश हुनु भाषाविज्ञानले नाइँनास्ति गरेको पाइन्न। एकप्रकारले यसलाई ग्राह्य नै मानिन्छ।

 हाम्रा पुख्र्यौली चोकबाट चित्त दाइका दिदीभिनाजुको घर दुई मिनेट मात्र, चोकभित्र चोकबाहिर! दिदीभिनाजुकहाँ आउँदा ‘ए ग्वंगजु जिवया! म आएँ’ भन्दै भरेङ उक्लनुहुन्थ्यो। चित्तरञ्जन दाइसितको सहृदयता बहुआयामिक। बहुआयाम बनेर खुल्छ, जब सहृदयता झांगिन्छ। श्रद्धाञ्जली यो बहुआयामिक! सदभावना बिन्दु! अब  प्रत्यक्ष दर्शनमा छैनन्। निराकार सिन्धुमा परिणत आत्मा झर्दो बाछिटामा प्रतिबिम्बितिन्छ। प्रतिबिम्ब हुन्न साक्षातकार !

भावुकताका स्वच्छन्द लहर हुन चित्तरञ्जन नेपाली बनाम् चित्तरञ्जन राजभण्डारी। तत्कालीन शासन व्यवस्था राणाकालीन परराष्ट्र मन्त्रालयको कार्य मुन्सीखानाबाट हुन्थ्यो। चित्तरञ्जन नेपालीका स्वनामधन्य पिता दिवंगत मेदिनीप्रसाद राजभण्डारी मुन्सीखानाका हाकिम।

‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ ग्रन्थलेखनमा त्यहाँका ऐतिहासिक दस्ताबेजले महत्त्वपूर्ण भूमिका खेल्यो। ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ ग्रन्थले पहिलो मदन पुरस्कार पाएका थिए। लोकगीत संकलनमा स्व. सत्यमोहन जोशीले मदन पुरस्कार पाएको सम्झना उस्तै !

मेदिनीप्रसाद सुब्बा र मेरा पिताजी स्व. निरञ्जनलाल ग्वंगः मित्रवर नै हुनुहुन्थ्यो। मेदिनी सुब्बाको बुढोपास्नी–जन्कुमा चित्तदाइले मलाई पनि आमन्त्रण गर्नुभएको थियो। केराको झुप्पो र फलफूल सगुनसहित असन–त्यौडमा भोज खाएको स्वाद अझै !

चित्त दाइले बालगीति कविता लेख्नुहुन्थ्यो। ‘साँचो बोल्नु राम्रो गर्नु, यसमा केको लाज?’ एक हरफ यो। पर्सियन गजलकार कवि उमर खैयामका अंग्रेजी अनुवादलाई दुवै मातृभाषा नेपालभाषा अनि नेपाली राष्ट्र भाषामा अनुवाद–रूपान्तरण गर्नुभएको थियो।

हामी दुवैका मिलनसार मित्रगण– स्व. सूर्यबहादुर ‘पिवा’, स्व. तीर्थराज तुलाधर, जनकवि दुर्गालाल श्रेष्ठ। यीमध्ये दुर्गालाल श्रेष्ठ जसले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गीत  रचे, बौद्ध आनीले सुमधुर कोयल कण्ठनाद भरिन्। स्रष्टामा अमरत्व भर्न एकै अभिव्यञ्जना पर्याप्तिँदो। सास फेरेँ मजाले!

राष्ट्रभाषा नेपाली र मातृभाषा नेपाल भाषा दुवैमा लेखन अभिव्यक्तिले अभिव्यञ्जित गरिरहनु हुनेमा मित्रवर तिलकप्रकाश कायस्थ हुनुहुन्छ। खःमा टोल जन्मजात हामी बालसंगति। नेपाल भाषामा ‘खः’को अर्थ रथ र ‘मा’को अर्थ आकार। तत्काल मल्लकालीन समयमा ख्वप भनेको भक्तपुर, लाय्कू भनेको राजकूलको। अपभ्रंश, नेपाल भाषामा र–ल अन्योन्याश्रित। संस्कृत राजकुल शब्द लाय्कूमा परिणत हुनुले रहस्य! भाषा विज्ञानमूलक प्रसङ्ग यो। अध्ययन अनुसन्धानमा विचार विमर्श हुनुपर्ने होला, गरिन्छ पनि। स्वाभाविक तर्क यो। विवादरहित यो। साँचो बोल्नु।

असल गर्नु, यसमा केको लाज? चित्तदाइकै बालगीति कविता झझल्किन्छ स्मृतिमा। झझल्किन्छ मनमस्तिकमा उसै।

चित्त दाइले साहित्यिक कृतिसाथै ऐतिहासिक कृति पनि रचेका छन्। ‘भीमसेन थापा’ ग्रन्थ उदाहरण। यसको पृष्ठपोषण गर्छ, जसले उहाँको कूटनैतिक विश्लेषण क्षमता छर्लङ्ङ पाउछौं। चित्तरञ्जन नेपालीका स्व. पिता मेदिनीप्रसाद राजभण्डारी तत्कालीन राज्यव्यवस्थामा मुन्सीखानामा हुनुहुन्थ्यो।

मुन्सीखाना परराष्ट्र मामिला सम्हाल्ने कार्यालय। २००७ सालपछि त्यसलाई परराष्ट्र मन्त्रालयमा गाभियो। राज्य व्यवस्थाको परिवर्तनले ल्याएको फेरबदलको एक झिल्का लाग्छ। विश्वपरिवेश हाम्रो सबै झिल्कै झिल्काका चस्कै चस्का! ऐतिहासिक दस्ताबेज साबितिएको ‘भीमसेन थापा’ ग्रन्थले २००४ सालमा पहिलो मदन पुरस्कार पाएको थियो।

चित्त दाइ, म मात्र होइन, अपितु उहाँका बुबा मेरा बुबा पनि एक ज्यान मित्र हुनुहुन्थ्यो। चित्त दाइका बुबा मेदिनीप्रसाद राजभण्डारीका जन्को (जन्मकुण्ण्डली अनुसार गरिने बुढो पास्नी) मा म र बुबासँगै शुभेच्छा भोज गएको स्मृति ताजै छ।

भोजको रहर लहरमा पर्सियन गजलकार बन्थे सबै। म पिउन्नथेँ, मावली खानदानमा हुर्केबढेको पृष्ठभूमिले। मामाहरू नपिउने। संगत गुणको फल हो खासा यो। बाल्यकालको लीलाले डोर्‍याउँदो जीवन सुखानुभूति। झझल्को आफ्नै मनमा झझल्किँदो रहेछ। झलझल अझै! मन बलियो भए चिन्तनशील बन्दो मानिस ठान्छु।

साहित्यमा समर्पित भएपछि तन, मन, धनले लागिरहने, उत्सर्गले सुमसुम्याउँदो अनुभूति यो। मनै लाग्दा तन लाग्ने नै भयो। तन, मन लागेपछि औकातभरिको धन सौगातिने रहेछ। चित्तदाइ, तपाईं र सूर्यबहादुर ‘पिवाः’ चित्तका ठट्टा मन बहलाउँदो हुन्थे। हाँस्दाहाँस्दै ‘पिवाःजीकी अर्धाङ्गिनी शोभना भाउजू पनि हाँस्नुहुन्थ्यो। झझल्को ताजा यो। बाँच्नु बचाउनु स्मृति संस्मरणमै। बाँचुन्जेल सम्झने सम्झाउने! देहावसानपछि जीवितले संस्मरण गर्नुमै सार्थकता रहने त हो नि। स्मृति, संस्मरण अमरत्वका बिम्ब प्रतिबिम्ब !

कैलाली, झापा, कास्की, पोखरा लगायतमा देशव्यापी साहित्य सम्मेलन कालान्तरपछि पनि चल्दै रह्यो। व्यथितजीकै अगुवाइमै कैलाली जाँदाका संस्मरण। रेल चढ्न गुन्टा हाल्न लाग्दाको घटना। गुन्टा चेकजाँच गर्ने ख्याउटेले गुन्टा खोल भन्दै थिए, व्यथितले हिन्दी प्रयोग गर्नुभएको थियो। उहाँलाई ख्याउटे टेरपुछ लाएन।

व्यथितजीले भन्नुभयो– दुई सय वर्ष अंग्रेजको थिचोमिचोमा जकडिएका यिनलाई तपाईंले अंग्रेजीमा बोल्नूस्। दच्किन्छ निर्धक्क। भयो त्यस्तै।  २०८० असोज ३० मा श्रव्यदृश्य साधनबाट चित्तरञ्जन दाइको अवसानको जानकारी पाएँ। मृत्युञ्जय पाठपठन मेरो, श्रद्धाञ्जली!

प्रकाशित: २३ चैत्र २०८१ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App