‘के भयो?" शालिकरामको घरमा जम्मा भएका केही मानिस देखेपछि नवराजले आश्चर्य हुँदै सोध्यो।
‘के हुनु विचरा बुढाबुढी नै एकैसाटो गएछन्।’ जम्मा भएका मध्ये अमृतलालले भने।
प्रहरीले पनि पञ्चनामा तैयार पार्दै थियो। ‘होइन ढिला नगरौं पोष्टमार्टम गराउँनै पर्छ।’ प्रहरी बोल्यो।
‘सर! घरमा कोही पनि छैनन्। हामीले के भन्न सक्छौं!’ अमृतलालले गम्भीर हुँदै भने
‘छोराहरू आएका छैनन्?’ नवराजले सोधे।
‘काँ आउनु नि हिजो साँझ हामीलाई थाहा भएपछि फोन सम्पर्क गर्ने प्रयत्न गर्याैं तर तीन भाइमध्ये कसैको पनि फोन मिलेन। प्रहरीलाई राति फोन मिलाएको अहिले बिहान आए।
‘घरमा बाहिरबाट ताला लगाएर आफू बरण्डामै पल्टेको अवस्था देखेपछि हामी जम्मा भयौँ।’ अमृतलालले जानकारी गराए।
‘कस्तो अवस्था हुन थाल्यो हाम्रो देशको। आखिर के कमी थियो होला यस्तो वृद्धावस्थामा पनि आत्महत्या गर्नुपर्ने।’ नवराजले सुय्य सुस्केरा हाल्दै भने।
‘खै के भनौँ गाउँका केही जान्नेमान्ने जुटेका छन् तर यो अवस्थामा पनि आफन्ती नाताकुटुम्ब भने कुनै पनि आएका छैनन्।
‘दुवै जनाले विषालु औषधको सेवन गरेको देखिन्छ।’ अमृतलालले भने।
नवराजले आश्चर्य मान्दै सोधे, ‘तीन छोरा त विदेशमा भएर आएनन् तर छोरी त नजिकै विवाह गराएका थिए। उनीहरू किन आएनन् त?’
अमृतलालले भने, ‘को? रञ्जिता ऊ पनि अस्ट्रेलिया हिंडी केही दिन भयो।’
‘हजुरहरू कुनै वारिस नभए। हामीले लावारिस अवस्था उल्लेख गर्छौ। गवाको सहीछाप गर्दिनुस्। यी वृद्धाहरूको पोस्टमार्टम गराएर हामी आफैं दाहसंस्कार गराइदिन्छौं।’ प्रहरीले पञ्चनामामा हस्ताक्षर गराउँदै भन्यो।
‘सर! हामी सबै गाउँले वारिस नै हौं। लावारिस त नलेखौँ है।’ अमृतलालले विन्ती बिसाए।
प्रकाशित: २० चैत्र २०८१ १२:३१ बुधबार





