एकादेशमा एउटा घरमा न्याउरी मुसो थियो। आफ्नो बच्चालाई न्याउरीको जिम्मा लगाएर घरका दम्पती मेलापात गए। साँझ फर्किंदा न्याउरीको मुख रगताम्मे देखे। उनीहरूले न्याउरीले बच्चा मारेको ठानेर हतार हतार रिसले चुर भई न्याउरीलाई मारे। जब उनीहरू कोठाभित्र छिरे, बच्चा त आनन्दले खेलिरहेको थियो। भुइँमा टुक्राटुक्रा परेर मरेको सर्प देखेपछि मात्र उनीहरूलाई वास्तविकता थाहा भयो– न्याउरीले त बच्चालाई जोगाउन सर्पलाई मारेको रहेछ। अब पछुताउनुको अर्थ थिएन।
न्याउरीको महत्त्व
यो कथा सत्य हो वा कल्पना, तर न्याउरीको भूमिका वैज्ञानिक रूपमा महत्त्वपूर्ण छ। न्याउरी विशेषगरी मुसा नियन्त्रणमा प्रभावकारी हुन्छ। यसले अन्नबाली जोगाउने मात्र होइन, घर र वरपर सफा राख्न पनि मद्दत गर्छ। अझ रोचक कुरा, न्याउरीले सर्पसँग लड्ने क्षमता राख्छ। विषालु सर्पलाई भगाउने वा मार्ने हुनाले अप्रत्यक्ष रूपमा मानव जीवन सुरक्षित राख्छ।

तर, हाम्रो समाजमा न्याउरीलाई हेर्ने दृष्टिकोण सधैं सकारात्मक छैन। कतिपयले अझै पनि न्याउरीले बाटो काटे साइत पर्दैन भन्ने धारणा राख्छन्। यही गलत सोचका कारण धेरै ठाउँमा न्याउरीहरू अनावश्यक रूपमा मारिन्छन्। तर जब मुसाको बिगबिगी बढ्छ, न्याउरी मार्ने मानिसहरू पश्चात्ताप गर्छन्। त्यति बेलासम्म धेरै ढिला भइसकेको हुन्छ। यही परिवेशबाट ‘न्याउरी मारी पछुतो’ भन्ने उखान जन्मिएको हो।
कथाबाट सिक्ने शिक्षा
यस कथाले हामीलाई गहिरो पाठ दिन्छ– जसको मूल्याङ्कन हामीले बेलैमा गर्न सक्दैनौं, त्यसलाई गुमाएपछि पछुताउनुको कुनै अर्थ रहँदैन। चाहे त्यो कुनै जीव होस्, व्यक्तिको योगदान होस्, वा कुनै अवसर। समयमै बुझ्न सकिएन भने पछि गुमाउनुपर्छ।
त्यसैले, निर्णय गर्ने बेला धैर्य, विवेक र सूचनाको सही प्रयोग आवश्यक हुन्छ। गत शनिबार, मैले लाजिम्पाटस्थित रानीबारी सामुदायिक वनमा न्याउरीको तस्बिर खिच्दै थिएँ, यही कथा मेरो मनमा आयो। आखिर, प्रकृतिले दिएका प्रत्येक जीवको आफ्नै महत्त्व छ। आवश्यक छ त केवल हामीले त्यसलाई बुझ्ने, मूल्याङ्कन गर्ने र सम्मान गर्ने !
प्रकाशित: १६ चैत्र २०८१ ११:२३ शनिबार