१) गजल
यो मौसममा बदलाव् आएको छ,
मेरो मनमा सनसनी छाएको छ।
भारी बोकी जँघार तर्नु बाध्यता छ,
न्याउलीले विरहको गीत गाएको छ।
फूल छिप्पिएर बैंस औल्याउँदै गयो,
थुप्रै भरिया यही नदीले बगाएको छ।
यो गाउँले अझै उज्यालो देखेको छैन,
तर देशका लागि सपूत जन्माएको छ।
धुरी-खाँबोमा धमिरा लागेपछि के गर्नु?
कसैले आकाशमा आगो सल्काएको छ।
२) गजल
झर्न चाहँदैनन् हाँगाबाट पातहरू,
प्रिय सम्झेर भुलिदेऊ न बातहरू।
सुरेली खेल्दै म शिखर उक्लदै छु,
बिन्ती बिसाउँछु नर्गनु है घातहरू।
तिमीले विचार प्रधान हो मान्नुपर्छ,
अन्यथा दुखमा गुज्रने छन् रातहरू।
केही गरे बदलिंदो रहेछ यो दुनियाँ,
हाँस्दै छ आकाश सहेर आघातहरू।
-आकाश अधिकारी
प्रकाशित: ११ चैत्र २०८१ १२:४१ सोमबार