जुम्लाको हिमाली भेगमा उत्पादन हुने अर्गानिक आलु गुणस्तर, स्वाद र पोषणका हिसाबले देशभर चर्चित छ। तर उत्पादनको यो सम्भावना किसानका लागि अपेक्षित आम्दानीमा रूपान्तरण हुन सकेको छैन। दुर्गम भौगोलिक अवस्था, कमजोर पूर्वाधार, ढुवानीको कठिनाइ र बजारसम्मको सीमित पहुँचले किसानलाई अझै पनि न्यून मूल्यमा उत्पादन बेच्न बाध्य बनाइरहेको छ।
गुठीचौर गाउँपालिका–१ का गोरबहादुर बस्नेत वर्षमा ५० क्विन्टल आलु उत्पादन गर्छन्। केही आफ्नो र केही छिमेकीको आलु संकलन गरेर बजारसम्म लैजान्छन्। तर कहिले मौसमले बाटो बिगार्छ, कहिले मूल्य घट्दा व्यापारिक उत्साह कमजोर हुन्छ। आठ सदस्यीय परिवारको खर्च धान्ने मुख्य स्रोतका रूपमा आलु खेती गर्दै आएका बस्नेत भन्छन्, “दुर्गममा आलु धेरै उत्पादन हुन्छ, तर नजिकै बजार छैन। गाउँको आलु कौडीको भाउमा बेच्न बाध्य छौं।”

गाउँमा किसानले अधिकतम १५–२० रुपैयाँ प्रतिकेजीमा आलु बेच्दै आएका छन्। तर खलंगासम्म आइपुग्दा मूल्य ३० रुपैयाँ प्रतिकेजी पुग्छ। बस्नेतका अनुसार, “घरमा हरेक वर्ष करिब ५० क्विन्टल आलु उत्पादन हुन्छ। यसबाट कम्तीमा डेढ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा हुन्छ, तर मेहनत अनुसारको मूल्य पाइँदैन। केही नपाउनेभन्दा थोरै भए पनि आम्दानीको स्रोत बनेको छ।”
यस्तै, पातारासी गाउँपालिका–६ की रूपा खड्का हरेक दिन आलु बेच्न सदरमुकाम खलंगा आइपुग्छिन्। सात रोपनी जमिनमा आलु खेती गरेर वर्षमा एक सय क्विन्टलसम्म उत्पादन गर्ने उनको परिवारको जीवनयापन यही खेतीमा निर्भर छ। रूपा भन्छिन्, “आलु उत्पादन धेरै हुन्छ, तर नजिकै बजार नहुँदा उचित मूल्य पाइँदैन। यदि संकलन केन्द्र र व्यवस्थित बजार प्रणाली हुन्थ्यो भने किसानको जीवन बदलिन सक्थ्यो।”
पहिले खाडलमा भण्डारण गरिएको आलु प्रायः कुहिन्थ्यो। अहिले केही मात्रामा बजारसम्म पुग्न थालेको छ। तर ढुवानी, भण्डारण र मूल्य निर्धारणको अभावले किसान अझै पनि उचित लाभ लिन सकेका छैनन्।
पातारासी गाउँपालिकाको तथ्यांकअनुसार, हरेक वर्ष ५ हजार ७ सय ५८ मेट्रिक टन आलु जिल्लाबाहिर निकासी हुन्छ। यहाँबाट कालीकोट, मुगु, जाजरकोट, दैलेख, सुर्खेत, नेपालगन्जलगायतका सहरमा आलु वितरण गरिन्छ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार, गत वर्ष २ हजार २ सय ९२ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो, जसबाट ३९ हजार ७ सय १५ मेट्रिक टन उत्पादन भयो। यसबाट करिब तीन करोड रुपैयाँ बराबरको कारोबार जुम्लामा भित्रिएको छ।
जुम्ली लोकल, महत, खुमल सेतो, खुमल रातो, डेजिरे, जनकदेव र कुफ्रिज्योति जातका आलु यहाँ उत्पादन हुन्छन्। विशेष गरी दुई सिजन—तीन महिनाको छोटो र छ महिनाको लामो अवधिमा फल्ने आलु लोकप्रिय छन्। यहाँको आलु विषादीरहित भएकाले अर्गानिक मानिन्छ, र स्वादिलो तथा पोषिलो भएकाले यसको माग उच्च छ।
तर माग र मूल्यबीचको खाडल अझै पनि किसानका लागि चुनौती बनेको छ। उत्पादनले पहिचान बनाए पनि आर्थिक फाइदा सीमित छ। कृषि विज्ञका अनुसार, “उत्पादनको मूल्य शृंखला बलियो बनाउने, भण्डारण सुविधा विस्तार गर्ने र बजारसँग किसानलाई प्रत्यक्ष जोड्ने काम गर्नुपर्छ। यही उपायले जुम्लाको आलुलाई पहिचान मात्र नभई समृद्धिको आधार बनाउन सक्छ।”
प्रकाशित: १८ चैत्र २०८२ २२:१३ बुधबार





