१३ चैत्र २०८१ बुधबार
image/svg+xml १८:४८ अपराह्न

‘हैन बुढो उमेरले तिन बिस र पाँच कटिसक्यो फेरि पनि कति काम गर्ने?’ साइँली लोग्ने अन्तनारायणलाई हेर्दै बकबक कराउँदै भन्दै थिइन्।

‘नगरेर के गर्नु अलि पैसाको जोहो गर्न सके हाम्रो आफ्नै पात्लेखेतमा टहरो बनाएर हामी दुवै उतै बसौं भन्ने सोचिरहेको थिएँ।’ अन्तनारायण धोक्रे स्वरले साइँलीलाई हेर्दै भन्दै थियो।

‘अब के हामी यो घर छोडी अन्यत्र जानुपर्ने?’ ट्वाल्ल पर्दै साँहिली सोध्छिन्।

‘के गर्नु बुढी मलाई त्यही कान्छाको सधैं अंश छुट्याइदे भन्दै हिंडेको कुराले पिरोल्नु पिरोलिंदै मुटु पोलिरहेको त तँलाई थाहा नभए हैन नि।’ अन्तनारायण आफ्नो बहमा दह जमिरहेको कुरा साइँलीलाई सुनाउँछन्।

‘हैन हो पोहाेर जेठो र माहिलालाई त अंशबण्डा छुट्याई रात्माटेको दुईतल्ले घर बाँडफाँड गरिसक्नुभो। हामीले अल्लारे कान्छालाई काखी च्यापेर यो घरबारी राखें। अब उनैलाई यो घर सुम्पेर हामी कहाँ जाने?’ साइँली अन्तनारायणलाई हेर्दै निन्याउरो मुख पारेर भन्छिन्।

उ बेला कान्छो भनेर आफूसँगै राख्ने भनी मायाले राखियो जब बिहे गरियो कुन्नि बुहारीको कुरा सुनेर कचकच सुन्नुपरेको जस्तो अन्तनारायणलाई लागिरहेको थियो यद्यपि बुहारीको मुखबाट उनले गाइँगुइँ सुनेको त थिएनन्। अलि बरालिने घरको केही कामै नगर्ने कान्छो बिहे गरेपछि सप्रिन्छ कि भनी सोची अन्तनारायण मन तताएको थियो तर बांगाे बग्ने नदी सोझिने पनि कसरी? झनै बिहे गरेपछि अंश पो माग्न थाले।

बाउआमाबाट छुटेर राम्रोसँग घरव्यवहार गर्छन् भन्ने दिऊँ त अंश नै भन्ने आशयले साइँलीसँग मन पोखिरहेको पनि थियो तर आमा साइँली छोराहरूको व्यवहार देखेर मन दुखाउँथिन्। छुटेर गएका छोराहरू आमाबाउ कसरी जीवन बिताइरह्यो भनी फर्केर पनि हेर्न आएनन्।

यता कान्छाको हठ र जिद्दीले आमा बाउको भरोसा टुट्दै गैइरहेका थिए।

आखिर अन्तनारायण सन्तानको खातिर त पसीना बगाएको त थिएँ भन्दै सम्झेर उनीहरूले हक मागेकोमा कुनै बेअर्थ लगाउँदैन त्यो स्वाभाविकै जायज अधिकार सम्झिन्छन्। किंतु साइँली आफ्नो सिन्दूर सजाउनेको मन दुखिरहेको राम्रोसँग थाहा थिएन।

कुन बाउआमाको मन आफ्नो सन्तान बुढेसकालको सहारा बनोस् भन्ने चाहँदैनन् तर हालातको अर्कै मन्जुर हुँदै थियो। बिहे नहुन्जेल आफ्ना थिए जब बिहे भैसकेपछि अर्कैको छोरी बुहारीको इसाराले नाचिंदो रहेछ भन्ने मानसिकता अन्तनारायण र साइँलीको मनमा नभएका होइनन्। त्यसैले अन्तनारायणभन्दा साइँली छटपटाइरहेकी थिइन्।

अंशको नाउँमा त्यही एउटा घर पनि लिखितै पास गरेपछि भोलि छोरा र बुहारीले निस्केर जाओ भने कहाँ जाऔं भन्दै साइँली पिराेलिंदै थिइन्।

अन्तनारायण साइँलीलाई हेर्दै भन्छन्, ‘भन्यो भने जहाँ भए पनि जाउँला नि।’

‘बुहारीको पनि हकको चाहना होलिन्। सिधै मात्र हामीलाई नभनेकी होलिन्।’ साइँलीलाई हेर्दै अन्तनारायण अनुमान गर्दै भन्छ्न्।

‘बुहारी नै नहुने भएर त होला नि कान्छो दिन बिराएर कराइरहेको हुन्थ्यो।’ साइँली शंकाको दियोमा तेल भरिरहेकी हुन्छिन्। कान्छो उत्ताउलो स्वभाव अनि जाँडरक्सी खाने आदतले पनि अन्तनारायण गलिसकेको थियो।

हार नै मानेर आज आमाबाउ धोबीचौरसम्मै कान्छालाई नै सँगै लिएर जग्गा लिखित पास गर्न बिस्तारै अघि बढ्छ्न।

त्यहाँ पुग्नुअघि नै लेखनदासले अनलाइनबाट कागजपत्र तयार पारिसकेको रहेछ्न्। जब अन्तनारायण र साइँलीले कागजमा सही गर्न के खोजेको थियाे। बुहारी त्यहाँ अकस्मात आई कागज नै तान्छिन्। यो देखेर अन्तनारायण ट्वाल्ल पर्छन्।

‘हजुरको शेषपछि त हाम्रो अधिकार हो। फेरि किन यो कागज?’ बुहारीको उपस्थित र आक्रोशित स्वरको प्रश्न सूचकले सबै आफ्ना प्रत्युत्तर आँखाले हेर्छिन् त अन्तनारायण र साइँली आफ्नो झुठो सन्देहमाथि जिब्रो टोक्छन्। कान्छालाई हेरिरहेकी बुहारीको आँखा रातोरातो देख्दा अन्तनारायणले गहिरो श्वास फेरेको साँहिली हेर्दै थिइन्।

प्रकाशित: ११ चैत्र २०८१ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App