१६ वर्ष पार नगरेकी जुना। चुलबुले अवस्था। बाआमाको काखमा लुटुपुटु गर्ने उमेरमा उसले गम्भीर मोडमा पाइला टेक्नुपर्यो। गाउँको चलनअनुसार छोरीको चाँडै बिहे गराउनु उचित ठानिन्थ्यो। बुबाआमाले समाजको डर र आर्थिक बोझ हल्का गर्ने सोचले उसलाई सानो उमेरमै कान्छासँग विवाह गरिदिने निर्णय गरे। बाल्यकालको खेल्ने, पढ्ने समयमा बेहुलीको पहिरनमा सजिएर नयाँ जीवनको बोझ बोक्न बाध्य भई जुना।
सुरुमा उसलाई थाहा नै थिएन, बिहे के हो ? यसले उसको जीवन कति परिवर्तन गर्नेछ? श्रीमान्को घरमा गएपछि उसले घरको काम, जिम्मेवारी र संस्कारको भारी थाम्नुपर्यो। उसको पढ्ने र खेल्ने अधिकार खोसियो। पढाइ रोकियो, र बालापन घरको कामकाजमा लटपटियो। परिवारबाट मानसिक र शारीरिक दबाब सहनुपर्यो।
बालविवाहको असरले उसको स्वास्थ्यमा पनि नराम्रो प्रभाव पार्यो। कम उमेरमा गर्भवती हुनुले स्वास्थ्य समस्या थपियो। उसले आफ्नो सपना त के, स्वतन्त्रता र बाल्यकालसमेत गुमाई। बालविवाहको पीडाले उसलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि कमजोर बनायो।
‘जुना’को कथा केवल उसको मात्र होइन। समाजका हजारौं छोरीको प्रतिनिधित्व गर्ने एक व्यथा हो। बालविवाहले बालिका मात्र होइन, सिंगो पुस्ताको भविष्य अन्धकारमा पार्छ भन्ने एउटा ज्वलन्त उदाहरण पनि हो। चलचित्रमा बालविवाहको पीडादायी कथा, पीडित पात्रहरूको मनोदशा, सामाजिक मानसिकता र परिवार तथा समाजबिचको द्वन्द्वलाई यथार्थपरक रूपमा चित्रण गरिएको छ।
ग्रामीण समाजमा बालविवाहले पार्ने असर, महिलाहिंसाको स्थायी घाउ र महिला सशक्तीकरणका लागि आवश्यक सचेतना चलचित्रले मूल कथावस्तु बोकेको सामाजिक यथार्थतामा आधारित उत्कृष्ट सिर्जना हो ‘जुना’।
सुदूरसँग जोडिएको कथा भए पनि समग्र नेपालको अवस्थालाई झल्काएको छ। समाजमा अझै पनि छोरीप्रतिको नकारात्मक सोच र बालविवाहजस्ता गम्भीर विषयवस्तु उजागर गरेको चलचित्र हो ‘जुना’।
जीवन सेन्चुरीको निर्देशनमा बनेको यस चलचित्रले छोरीलाई बोझ ठान्ने सोच र कम उमेरमै बिहे गरिदिएर जिम्मेवारी पन्छाउने प्रवृत्तिप्रति गहिरो प्रश्न उठाएको छ। बालविवाह, पितृसत्तात्मक सोच, छाउपडी प्रथाजस्ता सामाजिक विकृतिको चित्रण गर्दै यस चलचित्रले दर्शकलाई सोच्न बाध्य बनाउँछ।

फिल्मले १६ वर्ष नपुग्दै सन्तानको विवाह गर्दा घरेलु हिंसा र मानसिक यातना सहनुपर्ने यथार्थ प्रस्तुत गरेको छ। गरिबी र बालविवाहको चक्रव्यूहमा परेर हजारौं किशोरीहरूले अकालमै ज्यान गुमाउनुपरेको पीडादायी चित्रणले दर्शकलाई गम्भीर र संवेदनशील बनाउँछ।
गरिबी र अशिक्षाका कारण निम्तिएको एउटा दर्दनात्मक कथा बोकेको यस चलचित्रले महिलाले कस्तो हिंसा भोग्नुपर्छ भन्ने यथार्थ बोकेको छ। गरिबीकै कारण अकालमा ज्यान गुमाउनुपर्ने पीडा ‘मुने’ पात्रको कथाले बोकेको थियो। जसको लासले आफ्नो जमिन पनि टेक्न पाएन।
चलचित्रको कथा पहाडी दुर्गम क्षेत्रमा केन्द्रित छ, जहाँ गरिबी, अशिक्षा र रुढीवादी परम्पराको चपेटामा परी युवतीहरूले घरेलु हिंसा र मानसिक यातना भोग्न बाध्य हुने दृश्य अत्यन्तै मार्मिक रूपमा प्रस्तुत गरिएको छ।
विशेषगरी, बालविवाहपछि जुना र उनीजस्ता हजारौं युवतीले सामना गर्नुपर्ने शारीरिक र मानसिक पीडा साथै सानै उमेरमा गर्भवती भई अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई चित्रण गरेको छ। साथै सामाजिक मुद्दालाई गहिरो तरिकाले प्रस्तुत गर्दै चलचित्र ‘जुना’ले दर्शकलाई बालविवाहविरुद्धको लडाइँमा जागरुक बनाउन र समाजमा सकारात्मक परिवर्तनमा सुधार ल्याउन यस्ता खाले सन्देशमूलक फिल्मले सहयोग पुर्याउँछन्।
नेपाली सिनेमाजगत्मा हालै प्रदर्शन भएको सामाजिक कथावस्तु बोकेको यथार्थपरक नाटक ‘जुना’ले चलचित्र हेर्ने व्यक्तिको मन अवश्य जित्छ। यस चलचित्रले समाजमा छोरीलाई बोझको रूपमा हेर्ने मानसिकता, बालविवाह र महिला हिंसाजस्ता विषयलाई निर्ममतापूर्वक उजागर गरेको छ। चलचित्रले १६ वर्ष नपुग्दै विवाह गरिएकी युवती ‘जुना’को जीवनयात्रामार्फत समाजको अँध्यारो पक्ष छर्लंग बनाएको छ।
‘जुना’ चलचित्रले विशेष गरी बालविवाह, महिलामाथि हुने हिंसा, महिलाप्रतिको विभेद र सामाजिक बेवास्ताजस्ता मुद्दा उठान गरेको छ। चलचित्रले छोरीलाई अब बालविवाहको चक्रबाट मुक्त राखी शिक्षाको उज्यालोमा अघि बढाउनुपर्छ भन्ने सन्देश दिएको छ।
सिनेमा केवल मनोरञ्जनको साधन मात्र होइन। यो समाजलाई सत्यको ऐना देखाउने एउटा प्रभावशाली माध्यम पनि हो। त्यसैले नेपाली समाजमा अझै पनि गहिरो रूपमा जरा गाडेर बसेका यस्ता कुरीति, अन्याय र पितृसत्तात्मक सोचलाई पर्दामा उजागर गर्ने एउटा अर्थपूर्ण ऐना हो ‘जुना’।
‘जुना’ केवल एउटा कथा मात्र होइन। समाजको वास्तविक तस्बिर हो। अझै पनि हाम्रो समाजमा व्याप्त छोरीलाई हेर्ने नजरको एउटा रूप हो। छोरा र छोरीलाई हेर्ने नजर पनि यस कथावस्तुले छुन खोजेको छ। यस कथाका मुख्य पात्र कान्छा (कृष्णप्रसाद धिताल) ले ‘छोरा जन्मे विशेष हुन्छ, नत्र उही हो’ भन्ने वाक्य समाजमा हामीले सुन्दै आएको शब्द हो।
महिलाहिंसा र बालविवाहविरुद्ध जनचेतना जगाउने महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सन्देशमूलक चलचित्र हो ‘जुना’। हाम्रो समाजमा जुन खालको परिवेश छ, त्यसलाई सुधार गर्न आवश्यक छ। त्यो परिवेशलाई जुनामार्फत पस्किने प्रयत्न गरिएको छ। सामाजिक परिवेशको कथासँगै जीवन्त अभिनय भएको यस चलचित्रले छोरीको स्वतन्त्र अधिकारलाई सम्मान गर्दै समाजमा व्याप्त कुसंस्कारको जालो तोड्न मद्दत गर्नेछ।
विशेषगरी ग्रामीण भेगका बालिकाहरूको जीवन, उनीहरूका अधुरा सपना, अभिभावकका सोच र समाजको दबाबलाई चलचित्रले बलियो रूपमा प्रस्तुत गरेको छ। महिला सशक्तीकरणका लागि गम्भीर भएर सोच्न बाध्य पार्ने मूल सन्देश बोकेको यो चलचित्र शिक्षाप्रद मात्र नभई प्रेरणादायी पनि बनेको छ।
‘बालविवाह सामाजिक अपराध हो, त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारालाई मुख्य कथ्य बनाएको यस चलचित्रले नेपाली समाजमा रहेका बालविवाह तथा लैङ्गिक हिंसाजस्ता मुद्दा उठाएको छ। हाम्रो समाजमा अझै पनि बालविवाह अन्त्यका लागि कानुनी कडा प्रबन्ध र जनचेतनाको खाँचो छ। बालबालिकालाई शिक्षा, स्वतन्त्रता र बाल्यकालको हक दिलाउनु हामी सबैको दायित्व हो।
प्रकाशित: ९ चैत्र २०८१ ०७:२७ शनिबार





