हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा कवि तोया भट्ट पुरस्कृत भएका छन्।
समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका )ले स्थापना गरेकाे सो पुरस्कारमा एक लाख राशिसहित सम्मानपत्र रहेको छ। सो निर्णय हेम सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले प्रेषित गरेको पत्रमा उल्लेख छ।
यसअघि प्रतियोगिताका लागि प्राप्त कविताहरूमध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविता सार्वजनिक गरिएको थियो। उक्त प्रतियोगिताका लागि साहित्यकारहरू - प्रमोद प्रधान, प्राडा गोविन्दमान सिंह कार्की र पारश नेपाल तीन सदस्यीय निर्णायक समिति रहेको थियो।
उक्त पुरस्कार आउँदाे वैशाख १३ गते काठमाडौंमा अर्पिने भएको छ। सोही दिन १ लाख राशिको भ्रष्टाचारविरुद्धको गीत प्रतियोगितामा पुरस्कृत "जनतालाई रुवायो" गीतका सर्जक गोपालप्रसाद थपलिया र सो गीतका गायक एवं सङ्गीतकार शिशिर योगी तथा २ लाख राशिको "टंकप्रसाद - रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार" का पुरस्कृत पत्रकारहरू मातृका दाहाल र दीपा दाहाललाई पनि पुरस्कार अर्पिने भएको छ।
प्रकाशित: ८ चैत्र २०८१ १२:३३ शुक्रबार