२० चैत्र २०८१ बुधबार
image/svg+xml १९:१३ अपराह्न
कला/संस्कृति

फिल्म क्राइम थ्रिलर ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) का कलाकारकाे आआफ्नै अभिमत

 चैत्र ८ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) निर्माण टिम यतिबेला प्रचारप्रसारमा व्यस्त छ। सिनेमाका सार्वजनिक प्रचार सामग्रीले दर्शकको विश्वास जितेकाले निर्माण टिम उत्साहित देखिन्छ।

सिनेमाका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल अहिले विभिन्न ठाउँ पुगेर धेरैभन्दा धेरै दर्शकलाई सिनेमाबारे जानकारी दिन लागिपरेका छन्। उनीहरू ‘११ः५५’ क्राइम थ्रिलर जनरामा निर्माण भएको एउटा सुन्दर सिनेमाको रूपमा दर्शक आकर्षित गरिरहेका छन्। यो सिनेमाका प्रचार सामग्री पोस्टर, टिजर, गीत र ट्रेलरमा प्राप्त प्रतिक्रिया हेर्दा दर्शक उत्सुक रहेको बुझ्न सकिन्छ।

सिनेमाकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ आफूले हरेक सिनेमामा फरक क्यारेक्टर गर्दै आएकाले ‘११ः५५’ को भूमिका पनि रुचाइनेमा आशावादी देखिइन्। उनी यो सिनेमा एक विवाहित महिलाको भूमिकामा देखिएकी छन्। यो सिनेमा थ्रिलर जनरामा निर्माण भएकाले पनि आफू काम गर्न तयार भएको बताइन्। यो उनको मनपर्ने जनरा समेत रहेको खुलाइन्। यो सिनेमाको कथा एक दिन रातको ‘११ः५५’ मा घटेको घटनाको वरिपरि घुम्ने उनले बताइन्।

सामान्य दर्शकको रूपमा सिनेमाको स्क्रिप्ट पढ्दै गर्दा रमाइलो लागेकाले सिनेमामा काम गर्न तयार भएको उनले बताइन्। ‘आजसम्म मैले एक किसिमको क्यारेक्टर गरिरहेको थिएँ। मेरो लागि यो सिनेमाको क्यारेक्टर समेत फरक लागेको थियो। यो क्यारेक्टरको एउटा साइकोलजिकल ग्राफ अनि लुक वाइज पनि फरक थियो। त्यही भएर पनि म यो सिनेमामा काम गर्न तयार भएकी थिए,’ उनले भनिन्।

सिनेमाकी अर्की मुख्य अभिनेत्री करिष्मा श्रेष्ठले सिनेमामा आफ्नो ‘ग्रे’ क्यारेक्टर रहेको बताएकी छन्। ‘सिनेमामा मेरो ‘ग्रे’ क्यारेक्टर छ। मैले यस्तो क्यारेक्टर कहिल्यै गरेको थिइनँ। यस्तो क्यारेक्टर गर्छु भनेर मैले सोचेको पनि थिइनँ। त्यो क्यारेक्टर निर्वाह गर्न निकै चुनौती भयो। मलाई चुनौती मन पनि पर्छ। मेरो क्यारेक्टर दर्शकमा नोटिस हुन्छ भन्नेमा विश्वस्त छु,’ उनले भनिन्।

सिनेमाले ११ः५५ बजे भएको ‘मर्डर’मा सिनेमाको कथा केन्द्रित छ। ‘११ः५५ बजे एउटा मर्डर हुन्छ। सिनेमाको कथा नै त्यसैको वरिपरि घुमेको छ। सिनेमामा फरकफरक क्यारेक्टर छन् र हरेकले आफ्नै हिसाबले जीवन बाँचेका छन्। त्यही बीचमा अचानक हत्या हुन्छ र त्यसमा सबै संलग्न हुन्छन् अनि त्यसैको अनुसन्धानमा सिनेमा घुम्छ। प्रत्येक १५ मिनेटमा ट्विस्ट आउँछ। जसले दर्शकमा सिनेमाप्रति उत्सुकता जगाउन सक्छ,’ उनी भन्छिन्।

सिनेमाका मुख्य अभिनेता महेश त्रिपाठी पनि सिनेमालाई लिएर उत्साहित देखिन्छन्। नेपालमा कमै मात्र बन्ने जनरा क्राइम थ्रिलरमा सिनेमा निर्माण भएकाले पनि आफू काम गर्न तयार भएको थिए। योसँगै सिनेमा यसकाे मुख्य भूमिका उसकाे सहायक भूमिका भन्ने नै छैन। सिनेमामा काम गरेका सबै कलाकार नै मुख्य भूमिकामा भएकाले काम गर्न निकै मज्जा आएको उनको अनुभव छ। जसरी हामीले छायांकन सेटमा काम गरेका थियौं। त्यसरी नै हलमा सिनेमा हेर्न पनि मजा आउने विश्वास उनको छ।

यो सिनेमाबाट अभिनेता सागर खनालले समेत नेपाली रजतपटमा डेव्यु गर्दैछन्। आफूलाई डेव्युको प्रेसर नलिएको उनले बताए। ‘मैले यहाँसम्म आउन निकै संघर्ष गरेको छु। यो कुराका लागि अलिकति रेडी पनि थिएँ। सिनेमा डेव्यु तयारीका लागि समय पनि लिए। झ्वाट्टै आइहालेको पनि होइन। कलेज पढ्नुपर्छ, बुझ्नुपर्छ भनेर पहिलो नै थाहा पाएर तयारी गरेर नै आएकाले पनि आफूले डेव्युको प्रेसर नलिएको हुँ,’ अभिनेता डेव्यु खनालले भने।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन्। यो उनको डेव्यु निर्देशकिय सिनेमा हो। सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ।

अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रूपमा छन्।

विचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। सिनेमामा सागरसहित महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन्। सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन्। सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।

प्रकाशित: ६ चैत्र २०८१ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App