२५ चैत्र २०८१ सोमबार
image/svg+xml १:४ पूर्वाह्न
समाज

तीनकुने घटनाः २५० राउन्ड गोली प्रहार, ५८ वटा व्यक्ति लक्षित

रेविकालाई झुक्किएर गोली लाग्यो : डीआईजी आचार्य

राजावादीहरुको प्रदर्शनलाई तितरवितर गर्नेक्रममा प्रहरीले तीनकुने क्षेत्रमा साढे दुई सय राउन्ड गोली प्रहार गरेको स्वीकारेको छ ।  

पदर्शन भएको ६ दिनपछि बुधबार पत्रकार सम्मेलन गर्दै प्रहरीले प्रदर्शन हिंसात्मक भएपछि नियन्त्रणका लागि गोली चलाएको स्पष्ट पारेको हो । सो क्रममा व्यक्ति लक्षित ५८ राउण्ड गोली प्रहार भएकोमा २० जनालाई लागेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिए । गोली लागेर १८ पुरुष र दुई महिला घाईते भएको उनले जानकारी दिए । 

प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको तत्काल मृत्यु भएको थियो । प्रहरीको गोली लागेर रेविका खत्रीसहितका अन्य केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । 

स्थिति अनियन्त्रित हुन थालेपछि प्रहरीले १९२ पटक हवाई फायर गरेको डीआईजी आचार्यको भनाई छ । भीड नियन्त्रणका लागि प्रहरीले ७४६ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।  

प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ अघि बढ्न खोजेपछि दिउँसो १२ः५० बजे पहिलो अश्रुग्यास प्रहार गरेको जानकारी दिँदै आचार्यले विमानस्थलतर्फ अघि बढेपछि दिउँसो २ः५४ बजे पहिलो गोली प्रहार गरेको बताए ।  

रेविका, उनका दाजुसहित केही व्यक्तिलाई भने झुक्किएर गोली लागेको बताउँदै आचार्यले घाइते सबैको अवस्थाबारे जानकारी लिइरहेको बताए । 

आन्दोलनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईँकै कारण भीड उत्तेजित भएको निष्कर्षमा प्रहरी छ । प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट प्रसाईँसहित रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न माइकिङ गरेपछि प्रदर्शनकारी तोडफोडमा उत्रिएको प्रवक्ता आचार्यले बताए । 

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्शेर राणासहितका व्यक्ति अहिले प्रहरी नियन्त्रणमा रहेको जानकारी दिँदै फरार रहेका प्रसाईंलाई खोज्न प्रहरीको विशेष टोली सक्रिय रहेको बताए ।  

प्रकाशित: २० चैत्र २०८१ १८:३६ बुधबार

खुशी 20 %
दुखी 40 %
अचम्मित 0 %
हास्यास्पद 40 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App