काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शिक्षकहरूले फोहोर नगरी र कुनै संरचना नभत्काई शान्तिपूर्ण आन्दोलन गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन्।
उनले जरिवाना नभई चेतना फैलाउने उद्देश्य आफूहरूको रहेको स्पष्ट पार्दै शिक्षकहरूलाई यही सन्देश विद्यार्थीहरूमाझ पनि पुर्याउन आग्रह गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत मेयर शाहले लेखे, “प्रिय शिक्षकहरू, तपाईंहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केही नभत्काई गर्नुभयो, यसका लागि धन्यवाद। हामीले जरिवाना खोजेको होइन, चेतना खोजेको हो। सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पत्ति हो भन्ने चेतनशील समाजको निर्माण गर्न खोजेका हौँ। यो शिक्षा तपाईंहरूले आफ्ना विद्यार्थीहरूलाई पनि दिनुहोला।”
उनले चेतनशील समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै शिक्षकहरूको भूमिका झनै महत्त्वपूर्ण भएको बताए।
“तपाईंहरू शिक्षक हुनुहुन्छ, यसमा तपाईंहरूको ठूलो जिम्मेवारी र भूमिका छ,” उनले भने। साथै, उनले आफ्ना कुरा राख्न विद्यार्थीको पढाइमा असर नपर्ने गरी चेतनशील ढंगले कार्यक्रम गर्न पनि अनुरोध गरे।
मेयर शाहले ‘गाउँगाउँमा सिंहदरबार’ नारा मात्रै सीमित भएको टिप्पणी गर्दै एक दिन आफ्नो अधिकारका लागि काठमाडौं धाउनु नपर्ने अवस्था आउने आशा व्यक्त गरे।
प्रकाशित: २० चैत्र २०८१ १९:०१ बुधबार