२० चैत्र २०८१ बुधबार
image/svg+xml १५:४३ अपराह्न
कला/संस्कृति

भुँडे बापूजी!

कथा

भुँडेको परिवारलाई मनहरा खोलाको किनारमा अचानक देख्दा म छक्कै परेँ। बसबाट ओहोरदोहोर गर्दा घण्टौँसम्म हुने कोटेश्वरको जामकै कारण मैले उसको परिवारलाई देख्ने अवसर पाएँ। उसका परिवारका लागि सडकको तल्लोपट्टि आठ÷दस वटा सानासाना प्लाष्टिक र कपडाका छाप्रोहरु बनाइएका रहेछन्। तर ती सबै देख्नुभन्दा पहिले मैले उसको भुँडे शरीरलाई नै देखेको थिएँ।

ऊ पारिलो घाममा गुन्द्री ओछ्याएर उत्तानो परेर पल्टिएको थियो। उसको नाङ्गो भुँडीमा झण्डैझण्डै एक दर्जन जति केटाकेटीहरु खेलिरहेका थिए। केटाकेटीहरू कुनै परबाट कुदेर आउँथे र उसलाई बुरुक्क नाघ्थे। कोही गुन्टी खेलिरहेका हुन्थे। कोही मस्तीले सुतेका जस्ता पनि देखिन्थे। उसलाई देख्दा लाग्छ ऊ रामायणमा वर्णित साक्षात् कुम्भकर्ण नै हो। ऊ मस्त निद्रामा छ र केटाकेटीहरू उसका लागि शरीरमा बसेका झिँगा–भुसुनाजस्तै हुन्।

त्यो भुँडेलाई पहिलोचोटि देख्नेहरु अचम्म मान्दै प्रतिक्रिया दिन्थे-आम्मै नि, कत्रो भुँडी भएको मान्छे! राक्षसै जस्तो पो छ त। मानौँ-उनीहरूले राक्षसलाई चाहिँ योभन्दा पहिले नै देखेका थिए र तुलना गर्दै छन्।

देख्नेहरूलाई त्यो मान्छे दन्त्यकथाको राक्षसजस्तै थियो र आँखाको रमिता थियो। ती झुप्रामा बस्नेहरूसँग उसको के सरोकार छ? कहाँबाट आएर त्यहाँ बसेका हुन्? यस्ता कुरामा कुनै चासो थिएन उनीहरूलाई।

कसैकसैका मुखबाट बसभित्रै ठाडो प्रतिक्रिया निस्किएको सुनिन्थ्यो– ल यहाँ पनि सुकुम्बासीका नाममा झुप्रा थपिएछन्। काठमाडौँ खाल्डो त पूरै सुकुम्बासीमय नै हुने भयो अब।

मैले त्यो भुँडेसहितको परिवारलाई पहिलोचोटि वीरगञ्जमा देखेको हुँ। सात–आठ वर्षअघि कुनै साहित्यिक कार्यक्रममा वीरगञ्ज जाँदा घण्टाघरको उत्तरपट्टि यसैगरी झुप्रा बनाएर बसेको थियो यो परिवार। अरूको त कुनै मतलब होइन र उसको छेउमा अरू मान्छे झट्ट देखिदैनथे पनि। एक मात्र आकर्षणको केन्द्र उही भुँडे थियो। उसलाई देख्नासाथै आफूसँग क्यामेरा हुनेहरू उसको फोटो खिच्नपट्टि लागिहाल्थे।

रिक्सामा जाँदै गर्दा उसलाई अचानक देखेर मेरा साथीहरू रिक्सा रोक्न लगाएर उसको नजिकतिर दौडिएका थिए। केही साथी पत्रकार पनि भएकाले उसको अन्तर्वार्ता लिने विचारले अघि सरे। क्यामेरा हुनेहरुले झोलाबाट क्यामेरा झिकेर उसको भुँडे शरीरतिर फोकस गरे!

आफ्नै सुरतालमा बसेको त्यो भुँडेले क्यामेरा देख्नासाथ एक्कासि झम्टियो र हकार्न थाल्यो– “खबर्दार फोटो नखिच, खिच्यौ भने तिमीहरूको क्यामेरा फुटाइदिन्छु!”

साथीहरू जसरी उत्साहित भएर दगुरेका थिए, ठीक त्यसैगरी पछि हिटे। बोल्ने साहस कसैले पनि गर्न सकेनन्। मुखामुख भए सबै।

मैले नै ऊसँग मुख खोल्ने पहिलो साहस गरेँ, “किन र? फोटो खिच्दा के हुन्छ त? तपाईंको यस्तो राम्रो पहलमान जस्तो शरीर देखेर पो फोटो खिच्न लागेका त।”

“तिमीहरू सब पत्रकार हौ, मलाई थाहा छ फोटोको खेती गर्छौ तिमीहरू। मेरो पेटको फोटो खिचेर विदेशीलाई बेच्ने तिमीहरू हौ। धेरैले खिचिसके मेरो फोटो। अब खिच्न दिन्न। खिच्ने नै हो भने एकपटक खिचेको सौ रुपियाँ ल्याऊ।” त्यो भुँडेले त हातमा लठ्ठी नै लिएर सबैलाई हावाकावा बनायो।

कि त त्यहाँबाट लुसुक्क भाग्नुपर्छ, होइन भने उसलाई खुशी बनाउन केही न केही गर्नैपर्छ भन्ने लाग्यो।

उसको रिसको पारो हाम्रो कारणले बढेको होइन, हामीभन्दा अगाडिका उसको भुँडीको र उसको अनौठो परिवारको फोटो खिच्नेहरूसँग रहेछ भन्ने कुरा मैले मन मिचेर, दाँत कटकटाउँदै उसलाई सय रुपियाँ दिएपछि मात्र थाहा पाएँ। साथीहरू डरले सातो गएजस्तै भएर एकै ठाउँमा डल्लो परेका थिए। उनीहरू मेरो हिम्मतदेखि छक्क परेकाजस्ता देखिन्थे। सयको नोट पाएपछि अलिक चिसिएको थियो भुँडे। त्यही मौकामा साथीहरू मेरो छेउसम्म आए तर बोल्ने साहस उनीहरूमा अझै थिएन।

“हो, यस्तो हुनुपर्छ पत्रकार! तिमी कहाँबाट आएको?” उसैले मेरो अन्तर्वार्ता पो लिन थाल्यो।

“म मात्र होइन, हामी सबै काठमाडौंबाट आएका हौं। यहाँ कार्यक्रममा बोलाएको थियो। हामी वीरगंजका पाहुना भएर आएका, तपाईंका पनि पाहुना नै हौं।”

“हँ बहुत चलाख छ, मनकारी पनि छ।” सायद सयको नोट पाएको प्रतिक्रिया होला।

अब भने ऊ सेलाएको अनुभव भयो। मैले उसलाई अझै पगाल्ने विचार गरेँ। उसका वरिपरि एक दर्जनभन्दा बढी केटाकेटी थिए। तिनीहरू कराएर बोलेको सुन्न पनि दिइरहेका थिएनन्। लाग्छ तिनीहरू बाँसघारीमा बास बस्न लागेका रुप्पीका बथान हुन्। त्यसैले उनीहरूका मुखमा बुझो लगाउनलाई अर्को बीसको नोट खर्चिएँ। उनीहरूलाई बाँडेर चकलेट खानु भनेर पठाइदिएँ।

वातावरण अलिक शान्त भयो। यही मौकामा ऊसँग कुरा गर्न थालेँ। म सोध्दै गएँ, ऊ भन्दै गयो।

- तपाईको घर कहाँ हो?

- जहाँ बसो त्यहीँ घर। आज यहाँ छ, यहाँ नपाए भोलि फेरि अर्को ठाउँमा हुन्छ।

- यतिका केटाकेटी छन्, अरु मान्छे पनि धेरै देखिन्छन्। कति परिवार छन् त यहाँ?

-  केको कति परिवार? यो सबै मेरो परिवार हो, म एक्लैको।

खै, पत्याउने कि नपत्याउने? अनुहार हेर्दा भुँडे गहुँगोरो छ, उसका परिवारका सदस्यहरू भने थरीथरीका लाग्छन्। कोही काला छन् तराई मूलकाजस्ता, कोही गोरा छन् पहाडियाजस्ता, कोही राईलिम्बू जस्ता पनि छन्, कोही सेर्पा पो हुन् कि जस्ता पनि देखिन्छन्। कस्तो अचम्म! पचास–साठी जनाको मिश्रित अनुहारको एउटै परिवार! छक्क नपर्ने कुरै थिएन।

‘तपाईं महान् मान्छे। कस्तो राम्रो परिवार! कसरी पाल्नुभएको छ त? तपाईंलाई कति दुःख होला यो परिवारको ल्वाईख्वाई धान्न? तर पनि तपाईं यति बलियो, मोटोघाटो?’

मैले उसलाई आफ्नो कब्जामा पारिसकेको अनुभव गरिसकेपछि सोध्न थालेँ। उसले पनि के सोच्यो हो कुन्नि, अरू केही नभए पनि सय रुपियाँको धर्म निर्वाह गर्ने त पक्कै सोच्यो र नरम हुँदै गयो।

उसले मलाई सोध्यो– चुरोट छ? मैले छ नि, किन नहुनु भन्दै खल्तीबाट हत्तपत्त चुरोट झिकेर उसलाई दिएँ। लाइटर उसैसँग रहेछ, सल्कायो र घण्टाघरतिर हेर्दै स्वाइँस्वाइँ तान्यो। उसले दुईपल्ट तानेर छोडेको चुरोटको धूवाँ र उकालो चढ्दा थोत्रे बसले छोडेको धूवाँ उस्तैउस्तै लाग्यो।

‘जो पनि आउँछन्, सोधीखोजी गर्छन्, फोटो खिच्छन् र अर्कोपल्ट आउँदा सहयोग गर्ने भन्छन्। तर गएपछि फर्किएर आएको एकजनाको पनि रेकर्ड छैन। मेरो शरीर र मेरो परिवारलाई उनीहरूले मजाकमा उडाए। फोटो खिचे र बेचेर खाए। यत्रो परिवार पाल्न कति गाह्रो छ, त्यो बुझेको छ कसैले?’ उसको आक्रोस र गुनासो एकैसाथ थियो।

म जस्तो छु, मेरो परिवार पनि त्यस्तै छ। अर्थात् मेरो घर कहाँ थियो? बाबुआमा कहाँ थिए? मलाई केही पनि थाहा छैन। यिनीहरू पनि यस्तै हुन्। भन्नेहरूले जे पनि भन्लान् - खातेहरूको जमघट, अनाथहरूको समूह! तर त्यस्तो होइन। मेरो शरणमा जोजो आइपुग्छन् र मलाई उनीहरूको माया लाग्छ, तिनीहरू मेरो परिवारका सदस्य हुन्छन्। यहाँ केटा पनि छन्, केटी पनि छन्। उमेर मिल्दाहरूको म आफैँले विहे गरिदिन्छु। यी केटाकेटीहरू उनीहरूकै हुन्। तर मैले चाहिँ विहे गरेको छैन। यिनीहरूको जिम्मेवारीले नै मलाई आफ्नो लागि सोच्ने फुर्सद भएन।

उसको कुराले मलाई अचम्म लाग्यो। न घर छ, न थर छ। केही नभएर पनि ऊसँग फेरि सबैथोक छ! ऊ अनाथहरूको नाथ हो, परिवारको मूली हो। उसमा ठूलो जिम्मेवारी छ।

उसको भनाइ अनुसार- उसको परिवारमा कडा अनुशासन छ। कमाएर ल्याएको सबैले उसैलाई बुझाउँछन्। भान्सा एउटै छ। लोग्नेस्वास्नीहरूका लागि बेग्लै छाप्रो छ। विहे नगरेकाहरू केटाकेटा एक ठाउँमा र केटीकेटी एक ठाउँमा सुत्छन्। उमेर पुगेपछि उसैले मिल्दो जोडीसँग विहे गराइदिन्छ। ऊ सबैको अभिभावक र बाबु हो। उसलाई सानादेखि ठूलासम्म सबैले ‘बापूजी’ भन्छन्।

ऊ आफूलाई इमान्दार भन्छ। दुनियाँमा इमान्दार कम छन्। तस्करी गर्छन्, डकैती गर्छन्, बेइमानको कमाइ उडाउँछन्। मेरो परिवारमा त्यस्तो हुँदैन। परिश्रम गर्ने, व्यापार गर्ने, त्यसैले खाने।

तर उसले आफ्नो व्यापार के हो भन्ने चाहिँ खुलाएन। ‘मलाई कसले दिने र जग्गाजमिन! सरकार आफ्नै दुनियाँमा छ। सुकुम्बासीमा जान पनि नागरिकता खोज्छ। मेरो त नागरिकता नै छैन भने मेरो परिवारलाई कसले दिन्छ नागरिकता? कतै जमिन पाए राम्रोसँग राख्ने थिएँ तर कसले दिने जमिन? जहाँ गयो, त्यहीँबाट लखेट्छन्।’ उसले आफ्नो दुःखको कुरा सबै पोख्यो।

उसको दुःख सुनेर पनि म केही गर्न सक्नेवाला थिइनँ। एकजना भुँडेको भुँडीको रमाइलोले तान्दा यतिका दुःखका पोकाहरू फुके। बाहिरबाट झट्ट हेर्दा र भित्रपस्दा कति फरक हुन्छ? त्यो भुँडीभित्रको मानवता, त्यो भुँडीभित्रको सहनशीलता, त्यो भुँडीभित्रको दुःखपीडा बुझेर ‘एउटा अचम्मको परिवार’ शीर्षकमा उसको परिवारसहितको कुम्भकर्णे भुँडीको फोटोसहितको समाचार छाप्नुभन्दा मैले उसको लागि थप केही गर्न सकिनँ।

उसले विदावारी हुने बेलामा भनेको पनि थियो– तिमीले पनि केही गर्दैनौ। अरूभन्दा अलिक भिन्नचाहिँ रहेछौ तिमी। किनकिन तिमी मनपर्‍यो मलाई। मेरो मोबाइल नम्बर दिन्छु। तिम्रो पत्रिकामा मेरोबारे केही लेख्यौ भने मलाई फोन गर्नु। म पत्रिका किनेर हेर्छु। मेरो परिवार पनि खुशी हुनेछ तर गलत कुराचाहिँ नलेख नि!

काठमाडौँ फर्किएर आफ्नो पत्रिकामा उसको बारेमा गरेको त्यो रिपोर्टिङ छापिएपछि उसलाई फोन गरिदिएँ। उसले पनि खुशी हुँदै भन्यो-हुन्छ, हेर्छु र तिमीलाई फेरि फोन गर्छु।

नभन्दै उसले अर्को दिन फोन गर्‍यो र भन्यो– राम्रो लेखेछौ? साँच्चैको पत्रकार रहेछौ। मेरो परिवार पनि खुशी भए। धन्यवाद! वीरगंज आयौ भने भेट। म भरसक यतै हुन्छु, नभए पनि फोन गर्नु, भेटौँला। तिमीलाई मेरो सबै कुरा दिल खोलेर भन्न सक्छु र अब सय रुपियाँ पनि तिमीले दिनु पर्दैन।

मैले फोनमा स्वीकारोक्ति जनाएँ र उसको चित्त बुझाउन सकेकोमा भित्रैदेखि खुशी पनि लाग्यो।

अचानक त्यही परिवारलाई काठमाडौँ र भक्तपुर बीचको मनहराको किनारमा देख्दा मलाई विश्वास गर्नै गाह्रो भइरहेको थियो। गाडीको जाममा घ्याच्याकघ्याच्याक गर्दै पार गर्नुपर्ने कमीले यात्रामा पुलको मुखबाट छिर्न दश/पन्ध्र मिनेट त जहिले नै लागिहाल्थ्यो। भुँडेबापू कहिले गुन्द्रीमा डङ्रङ्ग लडेको हुन्थ्यो र केटाकेटीहरू उसको भुँडीमा खेलिरहेका हुन्थे। कहिले केके बनाएर केटाकेटीहरूलाई खेलाइरहेको हुन्थ्यो। कहिले खैनी माडिरहेको हुन्थ्यो। चार दिनका उसका गतिविधिहरू गाडीबाट हेरेपछि पाँचौं दिन उसलाई भेट्न गएँ। उसले मलाई बिर्सिएको रहेनछ। देख्नेबित्तिकै भनिहाल्यो-के छ पत्रकारबाबु हालचाल? हामी पनि पत्रकारको गाउँ आएको छु।

मेरो गाउँ त के हुनु बरु पहिले चाहिँ राजाको गाउँ भन्थे। अब त जनताको गाउँ भइहाल्यो, भने मैले।

त्यो त हो, भनेर फिस्स हाँस्यो भुँडेबापू।

उसको अनुहारमा पहिलेको जस्तो पटक्कै चमक थिएन। ऊ चिन्तित र त्रसित जस्तो देखिन्थ्यो।

मैले कुरोको प्रसङ्ग कोट्याएँ– वीरगंज छोडेर किन काठमाडौँ आउनुभयो त?

‘तपाईं त मेरो मान्छे। पहिले पनि त्यति राम्रो लेख्नुभएको थियो। मैले अझै साथैमा राखेको छु त्यो अखबार’ भन्दै झोलाबाट पुरानो पत्रिका निकालेर खुशी हुँदै मलाई देखायो।

आफूले लेखेको कुरालाई त्यसरी जतन गरेर राखेकोमा म झन् खुशी भएँ।

अब तपाईंले फेरि लेखिदिनुस् -‘द्वन्द्वका कारण विस्थापित परिवार भनेर। हामी वीरगंज बस्न सकेन। धेरैले धेरैतिरबाट दुःख दिए। कसैले जुलुसमा हिँड भन्छन्, कसैले इधरका माल उधर गराइदे भन्छन्। पुलिसले पनि उसै गर्ने। गल्ती अरु गर्छन्, मलाई समातेर थुन्ने, कुट्ने? तँ पारिपट्टिको होस्, तेरा मान्छे पारिपट्टिका हुन् भनेर थुन्यो। कुनै पार्टीको मान्छे आउँछ, मेरो पार्टीलाई सहयोग गर, म तेरो परिवारको सबैको नागरिकता बनाइदिन्छु भन्छ, कुनै पार्टीको मान्छे आउँछ जुलुसमा हिँड, पैसा दिन्छु भन्छ।

थाहा छ– मेरो परिवारको दुई जना मान्छे मर्‍यो राजा फाल्ने आन्दोलनमा। दुई जना अरू मर्‍यो मधेश आन्दोलनमा गोली लागेर। चार जना परिवार गुमायो तर केही पाएन। न शहीद घोषणा गर्‍यो, न रकम पैसा दियो?

भन्छ- तिमी नागरिक होइन, तिम्रो परिवार नागरिक होइन। म कसरी नागरिक होइन? मेरो परिवार कसरी नागरिक होइन? हामी एक जना पनि पारिपट्टिको होइन। हामी यो देशलाई माया गर्छौं। हामी राष्ट्रिय झण्डाको माया गर्छौं, हेर ऊ राष्ट्रिय झण्डा हामीले राखेको छु। यहाँ सुकुम्बासीको नाममा यतिका झुप्रा छन् तर मलाई यहाँ पनि ठाउँ दिएनन्। उल्टै मलाई कुटपीट गरे। अब तिमी भन पत्रकार, म के गर्ने?’

मैले उसलाई केही भन्न सकिनँ। उसको अगाडि नतमस्तक भएँ म। ऊ मानवतावादी हो। उसको परिवार उसैबाट चलाएको अनुशासित परिवार हो। ऊ आफैं भन्छ- मेरो परिवार ईश्वरले जुटाइदिएको परिवार हो। उसले आफ्नो परिवारमा हुर्किएका, उमेर पुगेका, एउटै पनि लिएको होइन अरे। सबै अनाथ, असहायको अभिभावक भएको हो रे ऊ। उसले उल्टै मलाई सोधेथ्यो, ‘मान्छेले बच्चा जन्माएर किन फाल्छन् सडकमा यसरी हँ?’

यहाँ यतिका सडक बालबालिका छन् वेवारिस अवस्थामा। सडकमा लडेका, गम-डेन्ड्राइट सुँघिरहेका, पकेटमार बनेका, हुर्किएपछि चोर-डाकू बनेका, वेश्यावृत्तिमा लागेका, कति छन् कति। अरू शहरमा पनि उत्तिकै छन्। उसले कम्तिमा पनि तीस/पैँतीस जनालाई त्यो खराब बाटोमा जान त दिएन। नागरिकता प्रमाणपत्रविहीन नागरिकहरूको यो झुण्डले कोबाट सहयोग पाउने? मैले एउटा समाचार त लेख्नैपर्छ। मैले डिजिटल क्यामेराले भुँडेबापू र उसका परिवारको फोटो खिचेँ र पछि फेरि आउँछु भन्दै ऊसँग बिदा भएँ।

ऊ भन्दै थियो, ‘मलाई थाहा छ, यहाँ पनि बस्न दिँदैनन्। भोलि नै पनि यहाँका सुकुम्बासीले खेदाउन सक्छन्। मेरो मोबाइल र पैसा त अस्ति नै लुटिहाले। पुलिस पनि आउँछन्, केके सोध्दै जाँदै गर्छन्। यहाँ बस्ने भनेको आजकै दिन मात्र पनि हुनसक्छ। तिमी अर्को पटक आउँदा म यहाँबाट हिँडिसकेको पनि हुनसक्छु तर जहाँ गए पनि तिम्रो पत्रिका चाहिँ सधैँ पढ्छु।’

उसका कुराले द्रवित भएँ म। कार्यालयमा पुगेर समाचार लेख्न बसेँ, अहँ पटक्कै जाँगर लागेन आज । अनेक कुरा सोचाइमा आए– मैले उसको बारेमा लेखेर के हुन्छ र? के म उसलाई नागरिकता दिलाउन सक्छु? उसलाई सुकुम्बासीको दर्जा दिलाउन सक्छु? अहँ, सक्दिनँ तर लेख्नु मेरो धर्म हो। दिन सक्ने मेरो हैसियत होइन।

मैले राम्रैसँग लेखेँ भुँडेबापू र उसको परिवारको कथाव्यथा। द्वन्द्वको मारमा परेर विस्थापित हुनुपर्दाको पीडा र नागरिकताविहीन हुनुको कारण शहीदमा गणनासमेत् हुन नसकेको दुःखद् स्थिति।

कार्यालयबाट घर फर्किदा राति अबेर भइसकेको थियो। मनहरा पुलको छेउमा गाडीबाटै आँखा तानेर हेरेँ। अँध्यारोको कारण त्यहाँ कुनै पनि दृश्य देखिनँ। सोचेँ– भोलि पत्रिका निस्किएपछि एकप्रति लिएर उसलाई भेट्न आउनुपर्ला।

मर्निङवाकका नाममा बिहानै निस्किएँ। आखिर उसले जुन कुराको शङ्का गरेको थियो, त्यही भयो। भोलिपल्ट बिहान पत्रिका बोकेर भुँडेबापूलाई भेट्न आउँदा त्यहाँ न त भुँडेबापू नै थियो, न त उसको परिवार! यसअघि त्यहाँ मान्छे बसेका थिए भन्ने किसिमको कुनै अवशेषसम्म पनि बाँकी थिएन।

हातको पत्रिका पल्टाएँ। फोटोमा उसको कुम्भकर्णे भुँडी टलक्क टल्किएको थियो। अनुहारमा मुस्कान थियो। मनहराको वरिपरि आँखा डुलाएँ– झुप्राहरू छपक्कै थिए। नेपाल सरकारका शाखा अधिकृत स्वयं मेरै आफन्तको झुप्रो पनि प्रष्टै देखियो। कोटेश्वरको घर भाडामा लगाएर सुकुम्बासी बनेका चिनेका मित्रको झुप्रो पनि छ्याङ्ग देखियो।  

हेर्दाहेर्दै मेरा आँखामा बादल लाग्यो। त्यसपछि मैले केही पनि देखिनँ।

(कथाकार काेइरालाको ‘न्यूरोडका झाँकी’ कथासंग्रहमा संगृहीत।)

प्रकाशित: २६ फाल्गुन २०८१ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App