२४ चैत्र २०८१ आइतबार
image/svg+xml ७:९ पूर्वाह्न
कला/संस्कृति

स्रष्टा राजु क्षेत्री अपुरोकाे ‘लघुवार्ता’को परिचर्चा

स्रष्टा साँझ अमेरिकाले स्रष्टा राजु क्षेत्री अपुरोकाे ‘लघुवार्ता’ लघुकथा अन्तर्वार्ताहरूकाे परिचर्चा  गरेको छ। स्रष्टा साँझ अमेरिकाको आयोजनामा जुम प्रविधि मार्फत मुक्तकमणि तीर्थराज अधिकारीको अध्यक्षतामा सो कार्यक्रम भएको थियो।

लघुकथा गान बजाएर सुरु गरिएको सो कार्यक्रममा परिचर्चाकारहरू: वन्दना घिमिरे, शेखर अर्याल, असफल गौतम, खेमराज पोखरेल, डा. अमरबहादुर कार्की रहेका थिए।

परिचर्चाकारहरूले पुस्तकमा पाइने नयाँ कुराहरू, अन्तर्वार्ता, लघुवार्ताको अवधारणा र कृतिकाे सबल र दुर्बल पक्षबारे आआफ्ना विचार प्रस्तुत गरेका थिए। लघुवार्ता पुस्तक एउटा ऐतिहासिक कृतिका रूपमा आत्मसात् गर्दै परिचर्चाकारहरूले पुस्तकका २४ स्रष्टाको विचारले लघुकथाको अन्तर्य बुझाएको, लघुकथा लेखनमा प्रोत्साहन बढेको, लघुकथाको अनुसन्धानको पाटो खोलेको, लघुकथा विधाको विकासका लागि वार्ता उपयोगी रहेको, लघुकथाको विगत, वर्तमान र आगतको आङ्कलन गरेकाले कृति निकै उपयोगी रहेकाे बताए।

पुस्तकका केही विचारले भने विधामा भ्रम छर्ने अवस्था देखिएको, लघुकथाको वर्तमान परिस्थितिमा उठेका विवाद र चुनौतीलाई प्रश्न नउठाएको, हाम्रो लघुकथा केन्द्र नेपाललाई केन्द्रित गरिएको र विचारकहरूको व्यक्तिगत विषय उल्लेख भएको, समावेशीभन्दा पनि विज्ञतालाई छान्न सक्नुपर्थ्यो भनेर कमजोरी औंल्याएका थिए।

कृतिका सम्पादक प्राडा कपिल लामिछानेले लघुकथाको क्षेत्रमा नयाँनयाँ कुराको खोजी गरिरहन रुचाउने अन्तर्वार्ताकार अपुरोलाई कोलम्बसको संज्ञा दिँदै पुस्तकप्रति आफ्नो धारणा राखे। उनले कृति सम्पादन गर्दाकाे अनुभव पनि बाँडेका थिए।

प्रा. विश्वराज अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा डा. कुसुमाकारले अन्तरवार्ताकारलाई बधाई दिएका थिए। कार्यक्रममा अतिथिहरूः  नवराज शर्मा, लता केसी, सिद्धान्त चौधरीको उपस्थिति रहेको थियो।

अन्तरवार्ताकार अपुरोले आफूले धेरै समयदेखि विभिन्न व्यक्तित्वको अन्तर्वार्ता लिंदै आएको बताउदै परिचर्चाकार, आयोजक र उपस्थित सबैलाई धन्यवाद दिएका थिए।

कार्यक्रमका अध्यक्ष अधिकारीले विद्वानहरूले परिचर्चामा सहभागिता जनाएकाेमा खुसी व्यक्त गर्दै अन्तरवार्ताकारलाई शुभकामना र बधाई दिएका थिए।

प्रकाशित: २६ फाल्गुन २०८१ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App