१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/संस्कृति

कहीं तुइन चुँडिएर नदीमाथि खस्छन् जनता, कतै व्यापार गर्न सरकार केवलकार बनाउँछ!

मुक्तक

१) मुक्तक

मायाभरि मिठो धुन लगाइदिनुभो,

टहटह रातमा जून लगाइदिनुभो।

धन्यवाद छ मनबाटै मेरो हजुरलाई,

नबिर्सने प्रेमिल गुन लगाइदिनु भो।

२) मुक्तक

हातमा चुरा सिउँदोमा सिन्दुर भर्नु है,

साडीचोलो लाउनु चट्ट अत्तर छर्नु है।

केही चाहिंदैन मलाई पुग्छ तिमी भए,

यौवन मिसाई ममा मनोमानी गर्नु है।

३) मुक्तक

नबिर्सने एउटा संयोग जुटाउन मन छ,

उध्रिएको बैंस मेरो खुटाउन मन छ।

मतलब छैन दुनियाँको जे नै भने पनि,

तिमीसँगै यो जवानी लुटाउन मन छ।

४) मुक्तक

सियौ मायाप्रेमको सियो धागो बनेर,

नौनी थिए खारेउ मलाई आगो बनेर।

यदि तिमीले नबेलाई नस्वीकार्य भए,

अहिले पनि हिंड्थ्यो होला नागो बनेर।

) मुक्तक

फेब्रुवरी चौधलाई नै मिति बनाए,

विदेशीको नक्कल गरी नीति बनाए।

आज त भ्यालेन्टाइनको श्राद्ध गर्नुपर्ने,

प्रेम दिवसको ढोंग गरेर रीति बनाए।

) मुक्तक

तिम्रो साथमा प्रेमको एउटा गीत गाउँछु म,

आँखा छली बाआमाको भेट्न आँउछु म।

म बन्नेछु दुलही तिम्रो, तिमी दुलाहा बन्नु है,

यो सिउँदोमा रातो सिन्दुर तिम्रै लाउँछु म।

) मुक्तक

आफ्नै धर्मसंस्कृतिमा धावा बोल्छ सरकार,

भ्रम छरेर जहिल्यै पनि दावा बोल्छ सरकार।

मिसाई उखानटुक्का सधैं उटपट्याङमा रम्दै,

ढाँटिरहन्छ जनतालाई हावा बोल्छ सरकार।

) मुक्तक

यो बगानमा साहित्य नै फूलपात भएको छ,

वाचकहरूको हरेक शब्द सौगात भएको छ।

झुम्मिएका छौं तपाईहामी मन्त्रमुग्ध भाछौं,

वाह, भएको छ माहोल क्याबात भएको छ।

) मुक्तक

आफ्नै बिच लडाइँ झगडा मारामार बनाउँछ,

गर्दै राजनीतिको दाउपेच फरक धार बनाउँछ।

कहीं तुइन चुँडिएर नदीमाथि खस्छन् जनता,

कतै व्यापार गर्न सरकार केवलकार बनाउँछ।

१०) मुक्तक

हिलोमाथि फुल्ने फूल नै कमल हुँदो रहेछ,

हाम्रा लागि गुन्द्रीसुकुल मखमल हुँदो रहेछ।

स्नेहप्यार बाँड्दै हरदम सबलाई माया गर्ने,

सन्तानहरू हुँदा घर नै झलमल हुँदो रहेछ।

- नवराज पोखरेल नवशिला             

प्रकाशित: २१ फाल्गुन २०८१ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App