२९ पुस २०८२ मंगलबार
image/svg+xml
कला

साटिएको भाषण

लघुकथा

सतहत्तर वर्षीय तन्नेरी कर्मराजले यसपटकको चुनावमा पनि टिकट पाए। आफ्नो स्मरणशक्ति कमजोर भएकाले उनले यसपटक आफ्नो भाषण लेखेर पढ्ने भएका थिए। यसका लागि उनका सहयोगी शर्मराज सँगै हिड्थे।

एउटा दुर्गम बस्तीमा उनीहरू पुगेका थिए। पहिलेको चुनावपछि पहिलोपटक आफ्नो नेताको मुख देख्‍न पाउने भएकाले जनता निकै उत्साही थिए। उनीहरू गाउँकै चौतारीछेउ भेला भए। कर्मराजले सम्बोधनचाहिँ मुखैले गरे। अनि कोटको दायाँ खल्तीबाट भाषण झिकेर र पढ्न थाले।

‘यस पटक पनि तपाईहरूले चुनाव जिताउनुभयो भने देशभित्रै रोजगारीको सिर्जना गर्नेछौँ। यसरी रोजगारी सिर्जना सरकारले हैन तपाईहरूले गर्नुहुनेछ। तपाईहरूको मुनाफामा हद पनि तोकिने छैन।’ कर्मराजले भाषण पढ्दा पढ्दै शर्मराजले उनको कानमा मुख पुर्‍याए।

’हजुरले बायाँ खल्तीको पढ्नुपर्ने दायाँ खल्तीको पढ्नुभएछ।’

कर्मराजले चस्मा खोलेर पुलुक्क हेरे। उनले हतपत पढिरहेको कागजलाई दायाँ खल्तीमा हाले र बायाँ खल्तीबाट अर्को भाषण निकाले।

‘माफ गर्नुहोला सम्बोधन ऐजन नै भयो। अँ गाउँका सबै युवालाई वैदेशिक रोजगारीमा जान फ्रि मा पासपोर्ट दिइने छ। फ्रिमा टिकट दिएर हवाईजहाजबाट उड्न सक्ने व्यवस्था मिलाइने छ। महँगी नियन्त्रण गर्न कालाबजारीहरूलाई कार्बाही गरिनेछ।’ कर्मराजले पढे। जनताजनार्दनले ताली बजाए।

एकजना तन्नेरीले सोधे, ‘हजुर अघि पढेको र यो त मिलेन नि।’

कर्मराजले मुस्कुराउँदै भने, ‘हो ठीक भन्नुभयो। त्यो शहरबजारको भाषण यता परेछ।’ 

प्रकाशित: १४ फाल्गुन २०८१ १३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App