१) मुक्तक
छातीभित्र पीडाहरू लुकाइरहेछ कर्णाली
र, वर्षौंदेखि उसैगरी सुसाइरहेछ कर्णाली
आफैँ प्यासी छ आफै भोको छ तर पनि
बगरहरूलाई अमृत चुसाइरहेछ कर्णाली।
२) मुक्तक
म गर्छु झुपडीको कुरा रोटीको कुरा
तिमी गर्छौ चालका कुरा गोटीको कुरा
एक छाक खान नपाएर मरेका छन् मान्छे
कसले सुन्छ हुम्ला, जम्ला र डोटीको कुरा।
३) मुक्तक
तिमी मान्छे बन्ने भए कर्म ख्याल गर
मानवता हो ठूलो भन्नु धर्म ख्याल गर
तिम्रो मनमा हुनुपर्छ करुणाको खानी
गरीब र निमुखाको मर्म ख्याल गर।
४) मुक्तक
संघीयतामा छ मुलुक सबैलाई मिलाएर अघि बढौं
उध्रिएको र च्यातिएको मनहरू सिलाएर अघि बढौं
नेपाली हौं हामी जहाँ रहे पनि माया गरौं देशलाई
सबैलाई आफ्नोपनको आभाष दिलाएर अघि बढौं।
५) मुक्तक
समानता र सम्पन्नताको बीउ छर्छु साथी
यही माटोलाई फुलाउनु छ कर्म गर्छु साथी
यो देशका लागि रम्न सके रम्छ हाम्रो मन
झुपडीको रूप फेर्न मर्न परे मत मर्छु साथी।
६) मुक्तक
जान त कर्नालीमा मोटर बाटो गयो के गर्नु
त्यहीं बाटोमा परेर बारीको पाटो गयो के गर्नु
विकासको मूल फुटाएँ भनेर थाक्दैन सरकार
गरीबको अलिकति भएको माटो गयो के गर्नु।
- देवकी तिमल्सिना समीक्षा
प्रकाशित: १४ फाल्गुन २०८१ १२:३३ बुधबार