३ चैत्र २०८१ आइतबार
image/svg+xml २०:८ अपराह्न
कला

हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलनसम्बन्धी परामर्श सभाः प्रधानमन्त्रीद्वारा विशेष सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको सभ्यता विश्वमै विशिष्ट रहेको उल्लेख गर्दै कला, साहित्य र संस्कृतिलाई समेटेर हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन आयोजना हुन लागेकामा खुसी प्रकट गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजना हुने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ को आयोजक समिति र सल्लाहकारसहितको परामर्श सभालाई सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपाली जग भएको बताए।

प्रधानमन्त्री ओलीले यसै हिमवत्खण्ड भूखण्डबाट ज्ञान, योग र दर्शनको प्रादुर्भाव भएको विचार व्यक्त गर्दै धर्तीको यस भूभागमा त्रेतायुगदेखि नै औषधि विज्ञानसमेतको आविष्कार भएकाले यसको गौरवलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिए।

वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलाले सम्मिलन आयोजना गर्नु गौरवको कुरा भएको उल्लेख गर्दै सम्मिलन भव्यतापूर्वक सफलताको कामना गरेका थिए।

सभाका सभापति प्रा. केशव सुवेदीले सम्मिलनले हिमवत्खण्डको गौरवमय परम्परा उजिल्याउने विचार व्यक्त गरे।

प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले सभाको औचित्यमाथि प्रकाश पारेका थिए। यसै गरी कोषध्यक्ष तथा अर्थ समितिका संयोजक फूलमान वलले यसअघि २०७५ मा काठमाडौँमा यस प्रकारको पहिलो सम्मिलन भएको स्मरण गर्दै सम्मिलन आयोजनको उद्देश्यमाथि प्रकाश पारेका थिए।

उनले मौलिक संस्कृतिको खोज–अन्वेषण, संरक्षण एवम् संवद्र्धन गर्नु, हिमवत्खण्ड क्षेत्रका नेपाली भाषी स्रष्टाहरूको पुनर्मिलन गर्नु र हिमवत्खण्डको गौरवलाई उच्च बनाउनु सम्मिलनको उद्देश्य रहेको बताए।

अन्तर्राष्ट्रिय सम्पर्क समितिका संयोजक शशी लुमुम्बूले आगामी चैत १ देखि ३ गते २०२५ मार्च १४ देखि १६० सम्म काठमाडौँमा हुने सम्मिलनमा नेपाल, भारत, चीन, बंगलादेश, म्यान्मार, भुटान, थाइल्यान्ड लगायतका देशबाट सयभन्दा बढी साहित्यकार तथा कलाकारहरूको सहभागिता रहने बताए।

उनले देशका सातओटै प्रदेशबाट लोकसंस्कृतिविद् र कलाकारहरूको सहभागिता रहने र विभिन्न सम्मिलनमा देश–विदशेका विद्वान्हरूबाट नेपाली लोकसंस्कृति, हिमवत्खण्डका भाषा, साहित्य विषयमा बहस गर्नुका साथै सांस्कृतिक प्रस्तुति गरिने जानकारी गराए।

सांस्कृतिक समितिका संयोजक अशोककुमार राईले बृहत् सांस्कृतिक उत्सव र उक्त उत्सवमा आयोजना प्रस्तुत गरिने सांस्कृतिक विषयवस्तुबारे जानकारी गराएका थिए।

सम्मिलनमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एवम् मन्त्रीहरूका साथै सिक्किमका पूर्व मुख्यमन्त्री एवं साहित्यकार पवन चाम्लिङको समुपस्थिति रहने जानकारी गराइएको थियो। सभाको सञ्चालन कलाकरा दिनेश डिसीले गरेका थिए।

परामर्श सभामा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती, ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल, डा तुलसी भट्टराईलायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १२ फाल्गुन २०८१ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App