समय र घडीको सम्बन्ध अजिब लाग्छ, मलाई। अचम्म लाग्दा सम्बन्ध छन्, यिनका। समय बेलुका हुँदा पनि घडीमा सात बजिसकेको हुन्छ। बिहान हुँदा पनि घडीले सात बजाएको हुन्छ। समय भनेको छ, यो समय नै हो। मान्छेले समय हेर्न सजिलाका लागि बनाएको चिज चाहिँ घडी हो। घडी नभए पनि मान्छेले आफ्ना सजिलाका लागि बनाएको अङ्कभन्दा अलि फरक तरिकाले समय चलिरहेको हुन्छ। घडी बन्नुभन्दा अगाडिदेखि समय चलेको हो। समयलाई कुनै बाधा वा पर्खालले रोक्न सक्दैन तर घडीलाई भने सकिएको ब्याट्रीले रोकिदिन सक्छ। समयसँगै चल्ने भए पनि घडीलाई रोक्न सकिन्छ अनि बिगार्न पनि । समयलाई रोक्न भने कसैसँग तागत छैन।
घडीको कुरा गर्दा मलाई मेरै घडीको बढी याद आउँछ। त्यो घडी जुन आजसम्म मसँग छैन। पारिजातले लेखेको मैले नजन्माएको छोरो जस्तै मैले नलगाएको घडी छ, एउटा। धेरै लामो समय बिते जीवनको। तर यो नाडीमा बाँध्ने घडी भएन। मसँग नभएको घडीको मलाई धेरै याद आउँछ। याद आएर पनि के गर्नु र घडी त छैन मसँग।
धेरै रहरमध्येको घडी बाँध्ने रहर सानैदेखिको हो। तर पूरा गर्ने सामर्थ्य मसँग अझै पनि भएको छैन। बुबाको नाडीमा टल्कने बाइन्ड भएको घडी मैले देख्न सुरु गर्दाको पहिलो घडी हो। प्रायः गाउँ नै भरिका बुबाहरू पर्नेको हातको नाडीमा यी घडी देखिन्थे। तीचाहिँ अन्य देखेका घडीबिचमा विशेष थियो। मैले बुबाको त्यो घडी जति नियालेको अरू घडी थिएन। तीनओटा सुईको बिचमा हरियो रङ देखिन्थ्यो। कानमा लगेर सुन्दा आवाज आउँथ्यो। त्यो घडी नबिग्रिन्जेल हाम्रो परिवारलाई भनेको समयमा भनेकै ठाउँमा त्यसले पुऱ्याउने गर्थ्यो। अझ भनौं, सबै परिवार नै बुबाको नाडीमा बाँधिएको त्यस घडीले नै चलाएको थियो। भैंसीको दुध दुहुनेदेखि हामी स्कुल जाने समय त्यही घडीले बताउँथ्यो। बुबाको अफिसदेखि बेलुकाको भातसम्म यही घडीको इसारामा चल्थ्यो।
पहिले बुबालाई जसले पनि कति बज्यो भनेर सोध्थे र बुबा यति बज्यो भनेर भन्नुहुन्थ्यो। त्यसपछि त्यसको हत्तारो देखिन्थ्यो। मलाई लाग्थ्यो, बुबाको हातमा घडी होइन, हत्तार गराउने मेसिन छ। बुबालाई सोध्दा साढे नौ भन्ने आवाज आयो भने दाइदिदीलाई स्कुलका लागि हत्तार बनाइदिन्थ्यो। सवा दश भन्ने आवाज आउँदा आमालाई मेलाका लागि हत्तार बनाइदिन्थ्यो। मलाई साहै मन पर्ने त्यो हत्तार लगाउने मेसिन नै थियो।
मलाई बिस्तारै घडीको रहरले बाँध्यो। रहरसँगै घडी प्राप्तिका लागि मेरो प्रयत्न बढ्न थाल्यो। मेरो पनि घडीको विषयमा जान्ने प्रयत्न बढ्न थालेको थियो। दुई कक्षामा पढ्दा घडीको चित्र बनाएको हामीले त्यसपछि घडी हेर्न पनि सिक्यौं। तर कक्षामा सबैभन्दा पहिला जानेको चाहिँ मैले नै हो। सबै साथीले मसँग पो सिके घडी हेर्न। पढाइमा त्यति अब्बल नभए पनि घडी हेर्ने मात्र परीक्षा भएको भए सायद म पनि प्रथम हुन्थें। घरमा भएको एउटा घडी पनि बिग्रिसकेको थियो, घरमा प्रयोग गरेर हेरौं भने पनि। स्कुलमै पढेको भरले अरूभन्दा बढी जान्ने कसरी भएँ हुँला? आज पो बल्ल थाहा भो इच्छाशक्तिले रहेछ, त्यस्तो भएको। इच्छाले सिकियो घडी हेर्न। घडीले सिकायो जीवन बुझ्न। के बुझेको थिएँ र, घडी हेर्न सिक्दा? आज घडी हेर्दा हेर्दै समय यसरी बित्दो रहेछ। बगिरहेको खोला जस्तै र परिसकेको पानी जस्तै कहिल्यै नफकर्ने गरी भन्ने कुरा बुझियो।
एक दिन दाइले भित्तामा झुन्ड्याउने घडी किनेर ल्याउनुभयो। बुबाले भाले बास्ने घडी बाँध्नुभएको थियो। बिहानै भाले बास्थ्यो घडीमा। अनि मलाई साँच्चैको भाले बसे जस्तो लाग्थ्यो। दिनको सुरुवात त्यही घडीको आवाजबाट हुन्थ्यो। घरमा जब भित्तेघडी आयो तब समय सोध्न हामीले बुबालाई कुरिरहन नपर्ने भयो। हामी अलि ठुलो हुँदै जाँदा हजुरआमा र आमालाई समय बताउन दाइ, दिदी र म सबै काफी हुन थाल्यौं। पछि बुबाको घडीको महत्त्व घट्दै जान थाल्यो। भित्तामा झुन्ड्याएको घडीको तीनओटा सुईले मार्गनिर्देशन गर्दागर्दै समयले नेटो काटेको पत्तै भएन।
सानैदेखि घडी लगाउने इच्छा पाल्दै आउँदा एकपल्ट साथीको घडी मागेर बाँधे, तीन दिनका लागि। शुक्रबार एक दिनका लागि मागेको दिहाल्यो तर त्यसले यादै गरेन कि भोलि शनिबार भेट हुँदैन भनेर। त्यस बेला मैले थोरै दिमाग खर्च गरेर नै बार पारेर मागेको थिएँ। तीन दिन घडी लगाउँदा सबैभन्दा बढीपल्ट गरेको काम भनेकै घडी हेर्ने भयो। कहिलेकाहीँ बुबा खेतमा जाँदा घडी फुकालेर किलामा झुन्ड्याएर जानुहुन्थ्यो। मैले नभेटेर लठ्ठीले उधिनेर निकाल्थे र बाँध्थे। किलाबाट फिक्स खोज्दा सिसा नै फुटेको थियो। त्यो घडी असाध्य मन पर्थ्यो। झुक्याएर बाँधे पनि आफ्नो भने कहिल्यै भएन। त्यसपछि ठुलो भएपछि आफै किनेर लगाउँछु भन्थे।
समय बित्यो, घडी लगाउन पाइनँ। जब म आफैं घडी किनेर लगाउन सक्ने भएँ, त्यसपछि मलाई घडीभन्दा महत्त्वपूर्ण मोबाइल लाग्न थाल्यो। घडीको सट्टा मोबाइल किनें। मोबाइल भए घडी पनि हुने फोन पनि। अब नाडीमा किन बाँध्नुपर्याे र? पछि त झन् मोटरसाइकलमा भएको डिजिटल डिस्प्लेमै घडी हुने भयो। किलोमिटर, स्पिड, समय सबै हेर्न मोटरसाइकल भए पुग्यो। बगलीभरि दुईतीनओटा मोबाइल मोटरसाइकलको साँचो अन गयो कि घडी आइहाल्यो। नाडीमा बाँध्ने झन्झट गर्नुपरेन।
जताततै घडी भएपछि समयको खुबै ख्याल गरिन्छ होला भन्ने लाग्यो, मलाई। पहिला घडी नपाउन्जेल हाम्रा हजुरबुबाहरूले आकाशतिर हेरेर समय पत्ता लगाएर काम गर्नुहुन्थ्यो रे। दिउँसो घाम हेरेर अनि राती तारा हेरेर समयमै सबै काम गरेरै जीवन बिताए। आज वरिपरि घडी राखेर पनि काम गर्ने तरिका भने उही छ। कहिल्यै कुनै काम समयमा भएको देखिँदैन। अरूको के कुरा गर्नु? जाँच दिन जाँदा त पाँच मिनेट ढिला पुग्छु म। घडीको कुरा गर्ने हो भने मोटरसाइकलसमेतको गरी तीन तीनओटा मैसँग छ।
आफूलाई मात्र हैन जताततै हेर्छ, कसैले केही काम समयमा गरेको पाइँदैन। मेरी श्रीमती साढे छ बजे घडी हेरेर उड्छिन्। मेरी आमा भाले बासेपछि साढे चार बजे उठ्नुहुन्छ। म मोबाइलमा अलआर्म राखेर छ नै बजे उठेर निस्कन्छु। तर बुबा पाँच बजे उठेर आगो ताप्न थालिसक्नुहुन्छ। घडी धेरै भएको फाइदा भनेकै धेरै सुत्न पाउनु रहेछ क्यारे।
जति धेरै घडीको विकास हुन थाल्यो, त्यति मान्छेले समयको महत्त्व बुझ्न कम गर्न थाले। मोटरसाइकलको मिटरमा घडी भएर के गर्नु? कहिलेकाहीँ के हुन्छ कुन्नि दिनको एक बजेको बेलामा दश बजेको देखाइरहेको हुन्छ। मोबाइलको सेटिङ नमिल्दा बाह्र बजेको देखाएको हुन्छ। यस्तो भर नहुने घडीको भरमा चलेका मान्छेको भर कसरी होस्। सुविधाले मान्छेलाई अल्छी र काम नलाग्ने बनाउँदै लगेको छ। समयलाई महत्त्वहीन सोच्दै जाने बनाउन थालेको छ।
कुनै बेला बुबाको नाडीको घडीको इसारामा चल्ने हाम्रो परिवार आज सबैसँग घडी हुँदा न कसैलाई समय सोध्नुपर्छ न हत्तार नै हुन्छ। सबै आआफ्नै तालमा हिँडेका छन्। मेरो घडी किन्ने इच्छा मैले त्यसै बेला किन पूरा गरिनँ होला? सायद नाडीमा बाँध्न घडीको महत्त्वको बारेमा बुझिनछु, मैले। धेरै जना विदेश गएर आफन्तलाई घडी उपहार लिएर आउनुको अर्थ विदेशमा समयको महत्त्व छ र आफन्तले पनि समयको महत्त्व बुझून् भनेर होला। मेरा आफन्त पनि धेरै विदेश गएका छन्। तर मलाई कसैले घडी ल्याइदिएनन्। कारण म समय बुझ्ने मान्छे भन्ठानेर होला तर त्यो नभएर मेरा आफन्तले पनि समयको महत्त्व बुझ्न नसकेको पनि हुन सक्छ।
बिहेमा पनि घडी दिने चलन छ, सायद ज्वाइँले समय अनुसार चलेर छोरीलाई सुख दिऊन् भनेर होला। तर मेरा ससुरालीलाई छोरीले सुखदुःख पाउने कुराको चासै नभएर होला कि मलाई घडी दिएनन्। एउटा नाडीमा घडी बाधैंको भए म घडीतिर हेरेर जीवन चलाउँथे होला। बगलीभित्र भएको मोबाइल झिकेर लक खोलेर घडी हेर्ने मसँग समय नै हुँदैन। अन्दाजको भरमा कुदिरहन्छु। अन्दाज पनि मेरा हजुरबुबाको जस्तो भए त राम्रै हुन्थ्यो होला नि। जे मनमा आयो, त्यही अन्दाजले चल्दा जीवन पनि सेटिङ बिग्रिएको मोबाइल जस्तो भयो।
आजसम्म मलाई कसैले किन घडी नलगाएको भनी सोधेनन् पनि र दिएनन् पनि। म आफैले किनेर लाउने प्रयत्न पनि गरिनँ। म मात्र हैन मेरा सबै साथीले घडी लगाएको देखिँदैन। नाडीको घडीसँग नचल्ने भएर होला। धेरै विदेश पुगे। म नेपालमा छु। तर कसैमा तालमेल मिलेको भने देख्दिनँ। घडी र समय मिले जस्तै नाडीको घडीसँग मिलेर अघि बढे दुःख कम पाइन्थ्यो होला तर बुद्धि आउने बेलासम्म जाने बेला भइसक्छ अनि लगाएन त घडी?
प्रकाशित: ४ फाल्गुन २०८१ १२:४९ आइतबार