स्कन्दपुराण, केदारखण्ड जस्ता शास्त्रहरूमा उल्लेख भएकी श्रीस्वस्थानीदेवीको माघ महिनाभरि हरेक हिन्दु धर्मावलम्बीहरूका घरघरमा कथा भन्ने, सुन्ने, सुनाउने, व्रतउपासना गर्ने परम्परा प्राचीन समयदेखि नै नेपाली समाजमा रही आएको छ। माघभरि हरेकका घरमा वाचन गरिएकी स्वस्थानीदेवी आखिर को हुन्? स्वस्थानीदेवी को हुन् भन्ने कुरा खोज्नुपर्ने भएको छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गर्नुभएको कथाका रूपमा नेपाली समाजमा प्रचलित छ। यस अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो माघ महिनाभरि लाग्ने गर्छ।
स्वस्थानीको महिमागान र स्तुति गरिएको स्वस्थानीको किताब एकतिस अध्यायमा विभाजन गरिएको छ। यस स्वस्थानी व्रतकथा पुस्तकको बाह्रौं अध्यायमा स्वस्थानीदेवीको महिमाबारे वर्णन गरिएको छ। श्रद्धापूर्वक स्वस्थानीको व्रत बसेर कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने, दुःखकष्ट हराउने, दरिद्री नाश हुनेजस्तो विश्वास गरिन्छ। त्यस्तै स्वस्थानी कथामा रहेका गोमा बाह्मणी, नवराजजस्ता पात्रका माध्यमबाट स्वस्थानीको महिमा देखाउन खोजिएको छ।
परम्परादेखि नै स्वस्थानी व्रत र उपासनाको महिना गान गरिएको शालीनदीमा स्नानपश्चात् माधवनारायणको विशेष पूजा गरिँदै आएको छ। तर स्वस्थानी माताको मूर्तिको पूजाभन्दा पनि त्यहाँ रहेको शालीनदीमा स्नान गर्ने अनि माधवनारायणको पूजा गर्ने प्रचलन भने प्राचीन समयदेखिकै थियो। त्यसपछि नदीबाट दक्षिणपूर्वमा रहेको गोमा ब्राह्मणीको कुटीमा गोमा ब्राह्मणीको मूर्तिको पूजा गरिन्छ। त्यसै गरेर गोमा ब्राह्मणीकी बुहारीको सिलामूर्तिमा पूजा गर्ने प्रचलन रहेको छ। हाल भने स्वस्थानी माताको मूर्ति तथा मन्दिर शालीनदीबाट पश्चिमतर्फको बाटोको छेउमा बनाइएको छ।

यी स्वस्थानीदेवीको स्वरूपबारे थाहा पाउने साधनका रूपमा स्वस्थानी महात्म्य ग्रन्थमा वर्णित यी देवीको प्रतिमालक्षणबाहेक अन्य प्रतिमाहरूका उदाहरण ज्यादै नै न्यून छन्। श्रीस्वस्थानी व्रतकथामा श्रीस्वस्थानी परमेश्वरी मातालाई निरञ्जन निराकार, सम्पूर्ण तीर्थ, सृष्टिस्थिति संहारकर्ता, पञ्चमहाभूत, सत्त्व, रज, तम, त्रिगुण, ब्रह्माण्ड संसारमा आत्मास्वरूप आदिशक्ति, कालस्वरूप आदि अन्त्यविहीन, अव्यक्त भनी वर्णन गरिएको पाइन्छ।
अष्टदलका वरिपरि रहने अष्टमातृका (चामुण्डा, महाकाली, वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, वाराही, इन्द्रायणी) का बीच त्रिशूल, तरबार, कमल र चक्र लिएकी देवीको स्वरूप बताइएको छ। अष्टदल पद्ममा अष्टमातृका, त्यसमाथि खड्ग, त्रिशूल, वर, नीलोत्पल हातमा लिएकी, चार हात, तीन आँखा भएकी, विभिन्न गहनाले शोभायमान, सुनौलो वर्ण भएकी देवीको स्वरूप छ।
नेपालमा हालसम्म पाइएको पहिलो स्वस्थानीको शिलामूर्ति काठमाडौं हनुमानढोकास्थित तलेजु मन्दिरपछाडि रहेको छ। जुन राजा प्रताप मल्लले बनाउन लगाएका थिए। उक्त स्वस्थानी मूर्तिको अध्ययन गर्दा यी स्वस्थानीदेवी अरू कोही नभई पार्वती नै हुन् भन्ने देखिन आउँछ। स्वस्थानी देवी भगवान् शिवसँगै आसीन छिन्। शिव वृषमाथि आसीन छन्। देवी सिंहमाथि आसीन छिन्।

शिवको एक हातमा रुद्राक्ष माला तथा अर्काे हातमा त्रिशूल छ। बाँकी दुई हात वरद र अभय मुद्रामा छन्। स्वस्थानी महादेवको वामाङ्गीका रूपमा बायाँतिर रहेकी छिन्। देवीका चार हातमध्ये एउटामा खड्ग र अर्कोमा चर्म छ। देवीका बाँकी दुई हात पनि वरद तथा अभय मुद्रामा नै छन्।
स्वस्थानी परमेश्वरीको उपर्युक्त प्रतिमालक्षणले नेपाल संवत् ६९३ मा लिखित ‘स्वस्थानी परमेश्वर्या व्रतकथा’ नामको हस्तलिखित ग्रन्थमा वर्णित स्वस्थानी परमेश्वरीको प्रतिमालक्षणसित अत्यधिक तादात्म्य राखेको छ। उक्त ग्रन्थमा गरिएको वर्णनअनुसार त्रिनेत्रधारी, सुवर्ण, सबै अलङ्कारद्वारा भूषित, प्रसन्न मुख भएकी, कमलासना, चतुर्भुजी यी देवी सबै प्रकारका गहनाद्वारा भूषित रही सिंहासनमा आसीन छिन्।
वृषभध्वज भएकी यी देवीका चार भुजा छन्। यी देवीका भुजामा नीलोत्पल, खड्ग, चर्म ढाल रहनुका साथै वरद र अभयमुद्रामा छन्। फेरि, उपर्युक्त प्रतिमालक्षण जगदीश्वरी पार्वतीका विविध स्वरूपका प्रतिमाहरूका लक्षणसित मेल खाएको हुँदा यी देवी पनि शिवकै शक्तिस्वरूपा पार्वतीकै एक रूप हुन् भन्ने देखिन्छ।
अर्काेतर्फ अहिलेसम्म प्राप्त जति पनि स्वस्थानी ग्रन्थहरू छन्, तिनीहरूमध्ये सर्वप्राचीन मानिएको नेपाल संवत् ६९३ फागुन शुल्क ५ वृहस्पतिबारको दिन श्री जयन्तदेवले अष्टादशपुराणमध्येको लिंगपुराणअन्तर्गतको स्वस्थानी परमेश्वरीको व्रतकथा लेखेको पाइन्छ।
उक्त मिति उल्लेख भएको हस्तलिखित स्वस्थानी ग्रन्थ राष्ट्रिय अभिलेखालयमा सङ्गृहीत छ। यस हस्तलिखित ग्रन्थमा स्वस्थान परमेश्वरीको व्रत बस्दा महादेव पार्वती दुवैको प्रतिमालाई सँगै राखी पूजा गर्नुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ। यसले के देखाउँछ भने पार्वती दुई भिन्न देवी नभई एउटै रूप हुन् भन्ने देखाउँछ।
उक्त हस्तलिखित ग्रन्थमा स्वयं महादेवले ‘धर्म नै स्वस्थान परमेश्वरी हुन्, मनसा, वाचा, कर्मणा जान’ भनी आज्ञा गरेको उल्लेख छ। स्वस्थानी शब्द ‘स्व’ र ‘स्थान’ शब्द मिली अन्त्यमा ‘ई’ प्रत्यय लागी बनेको शब्द हो। जसको अर्थ स्वस्थानमा रहने देवी वा आफ्नै स्थानमा रहने शक्ति स्वरूपा भगवती भन्ने बुझिन्छ। यसले टाढाको स्थानका देवदेवीको पूजाउपासनातिर लाग्नुभन्दा आफू जुन स्थानमा रहेको छ, त्यस स्थानकी देवी नै सबैभन्दा ठुली हुन् भन्ने बुझाउँछ। हनुमानढोकाको तलेजु मन्दिरपछाडि प्रतिस्थापित स्वस्थान परमेश्वरीको माथि वर्णित शिलामूर्तिमा महादेवको मूर्ति पनि सँगै निर्मित भएको पाइएबाट उक्त कुराको पुष्टि हुन्छ।
प्रकाशित: ३ फाल्गुन २०८१ ०८:०८ शनिबार





