१) मान्छेको जात
"केही सहभागीको जात खुट्ट्याउन सकिएन महाशय?" मनश्रीको अप्रत्याशित कुरा सुनेर म झसङ्ग भएँ।
"के भन्नुभएको? गोष्ठीचाहिँ 'समाजमा विभेद र यसका कारक तत्त्व' भन्ने अनि कुराचाहिँ गोष्ठीको आशय विपरीत गर्ने?"
"मेरो आशय गोष्ठीको उद्देश्य विरोधी होइन महाशय!" उनले अलि अफ्ठ्यारो मान्दै भनिन्।
मैले सकेसम्म संयमित स्वरमा सोधेँ, "आशय होइन भने पनि अर्थ उस्तैउस्तै लाग्छ। अनि तपाईंलाई अरूको जातसँग के सरोकार भयो?"
"कोठा व्यवस्थापन गर्न सजिलो होस् भनेर हो हजुर!"
उनको बोलीमा कताकता व्यङ्ग्य मिसिएको जस्तो भान भयो।
"के भन्न खोज्नुभएको हो प्रष्ट पार्नुस् त मनश्री जी...!" मैले पनि लेघ्रो तान्दै भनेँ।
"कति सहभागीको नाम र थर मात्रै छ। जात जनाउने शब्द छैन, जस्तै लक्ष्मी शर्मा, तुलसी पौडेल, विष्णु थापा।"
"अनि के भयो त? जनसङ्ख्या गणना गर्दा जस्तै बाहुन, छेत्री भनेर जात छुट्ट्याउनुपर्ने?" मैले अलि झोक्किदै भनेँ।
"छिमेकी मुलुकमा पनि एउटा गोष्ठीमा एकजना सहभागीको नाम सुरेन्दरकुमार भनेर लेखिएको थियो। भरे व्यवस्थापन गर्न निकै गाह्रो भएको थियो रे।" उनी आफ्नै सुरमा भन्दै थिइन्।
"अनि?"
"अनि के हुन्थ्यो! एउटा जात अर्को जातसँग राख्नु भएन। होटेलका सबै कोठा भरिभराउ थिए। पछि उनलाई व्यवस्थापकले आफ्नै श्रीमतीको कोठामा सँगै राखी आफूचाहिँ अरूसँग बस्नु परेको थियो रे।"
उनको कुराले मथिङ्गल रिङाए पनि संयमित स्वरमा भनेँ, "अलि प्रष्ट पार्नुस् न।"
उनले सहज र सरल स्वरमा उल्टै प्रश्न गरिन्, "मान्छेको जात भनेको स्वास्नीमान्छे र लोग्नेमान्छे मात्र होइन महाशय?"
२) गुरुआमा
"बुवालाई के भयो आमा?" फुरफुर गर्दै आएकी सानीले आँगनमा बसेर सज्जनको पिठ्यूँमा मलम लाउँदै गरेकी दुर्गालाई सोधी।
"केही भा'छैन, थोरै पछारिएका हुन्।" दुर्गाले हाँसो रोक्न मुख छोप्दै भनिन् र सोधिन्, "के भन्नुभो तिम्रो छ्यामाले?"
स्कूलबाट आएपछि दादालाई नआएको कुरा सिकाइदिनु, खाजा पनि यतै खानु भन्नुभा'को छ।"
"ए! गाली गर्लिन् भनेको त उल्टो गुरुआमा बनाएर पो पठाइछिन् त! लल स्कुल जान ढिलो होला भात खान आऊ। स्कूल जाँदा कमल अङ्कललाई बुवालाई सन्चो भएन विदाको निवेदन पठाउनुभएको छ भनेर यो कागत दिनू अनि स्कूल जानू।" भनेर अह्राइन्।
सानी गइसकेपछि दुर्गा सज्जनतिर फर्किन् र उनलाई सुनाउन लागिन्, "हिजो रमलाको छोरो र सानी स्कूलमा हेरेका पारिवारिक नाटक 'हिंसा' को नकल गर्दै थिए। एकैछिनमा कुटाकुट गरेछन्। किन कुटेको दादालाई भनि सोद्धा गुरुआमाले भन्नुभएको कसैले पनि कुटे, जथाभावी शरीरमा छोए सके आफैले विरोध गर्नू नसके आफू भन्दा ठुलालाई भन्नू, नभनी सहेर बसे हिंसालाई प्रोत्साहन दिए जस्तो हुन्छ पो भनी।"
सज्जनले कुनै प्रतिक्रिया जनाएन। मनमा आँधीबेहरी चलेपनि प्रत्यक्षत: ऊ केही बोलेन।
दुर्गा पुन: एकहोरो बोल्न थालिन्, "अनि दादाले के गर्यो र कुटेको भनी सोद्धा मलाई कस्तरी दुख्ने गरी लुछ्यो अनि कुटेको भन्दै रुन लागी। रमलाले नरोउ नानी तिमीले जे गर्यौ ठिक गर्यौ भन्दै मतिर फर्केर अरूले पनि सिकून् भन्दा मलाई के भनेकी होली रमलाले भने जस्तै लागेको थियो।"
रक्सीको बोतल बारीतिर हुर्याउँदै सज्जन बोल्यो, "तिमीले पनि सानीलाई गुरुआमा थापिछौ अनि पो त....!"
३) विकल्प
ऊ मेरो काँधमा बसेकी थिई।
म गुनगुनाउँदै हिँडिरहेको थिएँ।
"धेरै गुनगुन नगर है मुखमा बुझो लगाउँदै छन् अरे अब जिब्रो पनि थुत्लान्।"
" मनपरी बोल्न पो हुँदैन। सत्य तथ्य बोल्न लेख्न किन नपाइनु?"
"बोल्ने लेख्ने रे .... !" उसले उपहास गर्दै भनी, "सङ्केत गर्न त नपाइने अरे, सुन्या छैन रेडियोले फलाकिरहेको?"
उत्निखेरै रेडियोले संविधानले दिएको मौलिक हक प्रयोग र नियमनको पक्षविपक्षमा भएको बहस समाप्त भएको जनाउ दियो।
हावामा कावा खानुअघि उसले चिर्र गरी।
"उड्नुको विकल्प छैन।"
चर्को सोरले मेरो आत्मालाप भङ्ग भयो। मैले आकाशतिर हेरेँ। ऊ र हवाईजहाज उडिरहेका थिए।
सडकभरि छरपस्टिएको फोहरतिर हेर्दै म दृढ स्वरमा कराएँ, "मसँग हिँड्नुको ....।"
४) आत्मवञ्चना
मुहार पुस्तिका पल्टाएँ। निजी पानातिर लागेँ। सम्प्रेषित फोटामा हराएँ, पाना जन्मदिनको शुभकामनाले रङिएका थिए। सोचेँ धेरै साथी कमाएको रहेछु।
अलिकति उँधो लागेँ। देखेँ, पुरस्कृत हुँदा शुभकामनाको ओइरो लागेको थियो। लाग्यो शुभेच्छु धेरै बनाएको रहेछु।
थोरै तलतिर ओर्लें। बाढीले संसार बगाउँदाको तस्वीरहरू देखेर मनोवेदनाको तलाउमा डुबुल्किएँ। सहानुभूतिका शब्दले पाना भरिएको पाएँ। धेरैको सान्त्वना पाएर मनलाई सम्हालेँ तर दरो गरी उभिने साधन, स्रोत र सेतु कतै भेटिन, लाग्यो हात लागी शून्य पो कमाएको रहेछु। झोक्किएर मुहार पुस्तिकामा सन्चो नभएर अस्पतालमा भर्ना भएको दुब्लो, सासै फुस्किन लागेको जस्तो अनुहार प्रेषित गरेँ, एकैछिनमा सुनै सुनको ओइरो लाग्यो ; 'गेटवेल सुन, गेटवेल सुन!'
- नवराज शर्मा
प्रकाशित: २८ माघ २०८१ १३:४४ सोमबार