२० पुस २०८२ आइतबार
image/svg+xml
कला

‘ब्याक टु नाइन्टिज’ मा झुमे ३० हजार दर्शक

सांगीतिक विरासत फर्काउन पोखरामा आयोजित ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न भएको छ। पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा शनिबार आयोजना गरेको ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम ऐतिहासिक रूपमा दर्शक भित्र्याउँदै सम्पन्न भएको हो।

नब्बेको दशकमा ब्यान्डहरूको राजधानी रहेको पोखराको सांगीतिक विरासत फर्काउने उद्देश्यले आयोजित कार्यक्रमका लागि गाउँ, टोलबाट दर्शक ओइरिएका थिए। कुमुदिनी होम्स र नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) को प्रस्तुति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गण्डकी प्रदेश सरकारको सहकार्य तथा पोखरा महानगरपालिका प्रवद्र्धकका रूपमा रहेर गरिएको कार्यक्रममा ३० हजार बढी दर्शक सहभागी भएको अनुमान छ। कार्यक्रम हेर्न युवकयुवती, ज्येष्ठ नागरिक अनि महिलादेखि केटाकेटीसम्म ठेलमठेल गर्दै पुगेका थिए।

साँझ ५ः३० बजे सुरु हुने भनिएको कार्यक्रम सञ्चालन गर्न केही ढिलाइ भएको थियो। तोकिएको समयभन्दा झन्डै डेढ घन्टा ढिलो सुरु हुँदासमेत दर्शक धैर्यपूर्वक बसेका थिए। भव्य स्टेज, एसके साउन्डको गज्जबको साउन्ड, परिचय एडभर्टाइजिङको डिजाइन देखेर मख्ख परेका दर्शक यतिसम्म शान्त र सौम्य देखिए कि सांगीतिक विरासत फर्काउन उनीहरू जस्तोसुकै त्याग गर्न पनि तयार छन्। करीब चार घन्टामा सातवटा ब्यान्ड गुन्जिँदा राती ११ बज्दासमेत उनीहरू वान्स मोर, वान्स मोर भन्दै कलाकारलाई थप गीत गाउन प्रेरित गरिरहेका थिए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले क्यासेट प्लेयर अन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए। त्यसलगत्तै भेगाबोन्ड ब्यान्डका पोखरेली लिजेन्ड सिंगर श्यामसुङ तामाङले ‘यो जिन्दगानी’ गाउँदा दर्शक पहिलो गीतमै वान्समोर भन्न थाले। दर्शकको अगाडि उनको पनि के लाग्थ्यो र? उनले पनि दर्शकको मागअनुसार सोही गीत दोहोर्‍याए र ‘उकाली चढी’ गीत गाएर स्टेजबाट ओर्लिए।

त्यसपछि स्टेजमा उक्लिएका देउराली ब्यान्ड (शान्त बज्राचार्य) ले सुरुमै लुकीचोरी गीत गाउँदा उनीसँगै दर्शक झुमे भने ढुंगे साँघुको मेलामा, सररर हावा गीत गुञ्जाउँदा दर्शक थप रोमाञ्चक बने।

तेस्रो नम्बरमा स्टेज चढेका ब्रोसिस ब्यान्ड (प्रकाश राना) ले चाइना कम्पनी र जादु तिम्रो नजरले गीत गाउँदा दर्शक छमछमी नाच्न थालिसकेका थिए। त्यसपछि मध्याह्न ब्यान्डका कर्णदासले जिन्दगीको के भरोसा र मनमनै मन पराइसकेछु गीत गाउँदा दर्शक ९० को दशकको आफ्नो विगत सम्झिएर गुनगुनाउन थाले।

पाँचौं नम्बरमा स्टेज चढेका लेकाली ब्यान्ड (हर्कराज गुरुङ र नवीन गुरुङ) ले पालैपालो यो मुटुमा, सपनीमा, कहाँबाट र पहिलो नजर अनि पहिलो भेटमा गीत गुञ्जाउँदा दर्शक आफू हुर्किएको समयमा फर्कंदै नाच्न थाले।

लोकलयलाई टिपेर र्‍याप र फङ्की शैलीमा ढालेर दर्शकको मन जितेको डि–मर्चा (भाष्करध्वज श्रेष्ठ) लाई स्टेज चढ्नुअघि नै दर्शकको हुटिङ आउन थालिसकेको थियो।

कैलाशैमा शिवजीको बस्ती छ बोलको गीत गाउँदा उनलाई दर्शकले शंख ध्वनि बजाएर साथ र सम्मान दिएका थिए। त्यसपछि तारा खस्यौली गीत गाउँदा मोबाइलको लाइट आकाशतिर बालेर दर्शकको साथ पाएको डिमर्चाले झ्याम्मै चौतारी र झ्याम्म, झ्याम्म गाउँदा वान्स मोरको माग बारम्बार गुन्जिरह्यो। त्यसमा उनैले ल्याएको लाखे धुन गुन्जिँदा दर्शकको अपार माया प्राप्त भएको थियो।

सबैभन्दा अन्तिममा स्टेज चढेका कन्दरा (विवेक श्रेष्ठ) ले तगारोमा रुमाल राखी, तिमी पारि र लेककी हे माया गीतहरू गुन्जाउँदा रातको ११ बजिसकेको थियो, तर दर्शक कार्यक्रमस्थल छाड्न मानिरहेका थिएनन्, बरु वान्स मोर, वान्स मोर भन्दै हुटिङ गरिरहे। त्यसपछि कन्दराले प्रहरीको आग्रह देखाएर स्टेजबाट झरेर दर्शकसँगै संगीतविना नै गीत गाउँदै उनीहरूसँगै केहीबेर झुमेपछि कार्यक्रम औपचारिक रूपमा समापन भएको थियो।

नब्बेको दशकमा ब्यान्डहरूको राजधानी बनेको पोखराको विरासत फर्काउन गरिएको कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य–सचिव मनकुमार श्रेष्ठले बताए। उनले कलाकार, दर्शक र सहयोगी सबैलाई धन्यवादसमेत दिएका छन्।

ब्यान्डहरूको राजधानी पोखराको विरासत फर्काउन कार्यक्रम कोसेढुंगा सावित भएको आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाइ) ले बताए। उनले भने, ‘यो न हिजो भयो, न भोलि नै सजिलै सम्भव छ। यो इतिहास रच्न हामी सफल भएका छौं।’

सुषुप्त अवस्थामा रहेका पुराना सांगीतिक ब्यान्डहरूको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै यसतर्फ आकर्षित गर्न कार्यक्रम गरिएको प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले बताए।

‘पोखरा पर्यटनको राजधानी हो भन्ने सन्देश दिन आयोजक सफल भएको छ’, उनले भने, ‘कार्यक्रममार्फत पोखरालाई रिब्रान्डिङ गर्न, गीतसंगीतका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नुका साथै अहिले देखिएको निराशाको निवारण र आशाको धुन सञ्चार गर्न सफल भएका छौं।’

कार्यक्रमको इभेन्ट म्यानेजमेन्ट जेनेसिस प्रोडक्सनले गरेको हो भने मिडिया पार्टनरमा एभरेस्ट एफएम रहेको थियो।

प्रकाशित: २८ माघ २०८१ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App