मलाई अत्यन्तै धावा थियो त्यो दिन। मैले वचन दिइएको थिए साँझसम्म म जसरी ताप्लेजुङ आइपुग्छु भनेर, हाङ्गपाङका साथी चैत्यन्य आङ्ग्बुहाङ्जीलाई।
झापाबाट तुफानी रकेटजस्तै गरेर बाइकमा पाउने सात बजे हुइके, म कतै अलमल नगर्ने अठोट थियो, तराईका बाग्लो गाडीका चापहरू छिचोल्दै पहाडी सडक झापा र इलामका सिमा जोरकलासका दमदमे उकालो सुरु भयो। लाटो चिसोले समात्दै गरेका हातले मेरो बाइकका एक्सुलेटर जति खिचेर बटारे पनि कम हुन्थ्यो सायद मलाई हतारोको चटारोले पनि त्यस्तो हुन सक्छ।
जब म कन्यामको स्टेट तेर्साे सडक पाएँ म धेरै छिटो गतिमा बाइक हाँकिरहेको थिएँ।हुन त चार दशकअघि लसुनेदेखि गोदकसम्मको सडक निर्माणका कार्य विदेशी कोरिया कम्पनीले जिम्मा लिएर निर्माण कार्य गरेका थिए।
उक्त योजना सम्पन्न कोरियाली कम्पनीले गर्न नसकेको अपुष्ट इतिहास छ तैपनि यस क्षेत्रमा पर्ने सडकमा इन्जिनियरिङ डिजाइनमा पूर्ण रूपले बनेका भन्न मिल्छ। किनभने सडक निर्माणमा एस्टा वाइडिनिङ र सुपरिलिभेसन अनिवार्य सडकमा लागु हुन्छ। यस नियमलाई उल्लंघन नगरी निर्माण गरेका सडकमा अत्यन्तै सजिलो र भरपर्दो हुन्छ गाडी हाँक्न।
फलस्वरूप त्यो सडकमा म थकाइ नमानी कैलाशका हिमपर्वत र मानसराेवरलाई छिचोल्दै साइबेरियादेखि मंगोलियासम्म उड्न सक्ने गगनचर कुर्याङकुरुङको रफ्तारमा राजदुवाली पुल नाघेर गोलाखर्कका घमाइलो पाखाका पारिलो घामका सिरसिरे न्यानो बतासको स्पर्शले मलाई अकरिला घुम्तीहरूमा बाइकको हेण्डल र गियर मुसार्दै उकालो छिचोल्नु मुस्किल लागेकै थिएन। सायद एकदमै हतारोले पनि हुन सक्छ।
एकतमास अनेक मनलाई खेलाउँदा होस् चाहे मनभित्रका अन्तरकुन्तरमा गीत, कविता, कथा रच्दा रच्दै र व्यवहार, साथीभाइ सम्झदा सम्झिंदै म बिप्ल्याँटे, पुवाखोला, नेपालटार, बाखोर यी ठाउँहरू छाडेर आइसकेकाे रहेछु।

आखिर म देउमाई खोपका औंलाहरू चिमोठ्ने र गालालाई कोपार्ने जस्ता सिरेटो र चिसो ठिहीकाे वेगले सपनाहरूबाट बिउँझेझैं झस्केर बिउँझिंदा देउरालीको मोडमा बाइक हाँकिरहेका थिएँ म। बाइक बिस्तारै हाँकिरहें, जब पासाङटारलाई छोडिसक्दा चुपचाप निदाएका अल्सी कुइरोमण्डलभित्रभित्रै अन्धाधुन्ध बलैले राँके भञ्ज्याङ टेकियो।
मलाई मन नहुँदा नहुँदै पनि बाइकको गियर डावन गरी स्लो गरे। अकबरे स्तम्भ छेवैमा बाइकबाट नझरी चारै दिसा आँखा चिप्लाएँ। सबै विगत अटेसमटेस गरेर मेरोसामु ठिङ्ग उभिए। यो बजार स्थापित गर्ने अमर नेम्बाङ र राजभक्त नेम्बाङलाई पनि सम्झिरहे।
४५ साल वरिपरि जहाँ सन्त लामाको घर र मंगली तामाङको टहरो थियो। उहाँहरूको सात सिमाना मसिना ढुङ्गाहरू थुपारेका देउराली देउताले छुटिन्थ्यो। जसकाे ठिक्क अपरेटिङपारि अत्यन्तै केटाकेटीहरूलाई प्रेम गर्नु हुने ख्याम ढकाल हुनुहुन्थ्यो। भित्तोका साइटमा (इलाम रोड) बजारकै त्यो बेलाका जल्दाबल्दा सुकबहादुर चेम्जोङ र राजेन्द्र गौतम जस्ता व्यक्तिकाे छुट्टै इतिहास थियाे। जुन क्षणले मलाई गम्भीरतापूर्वक एकतमास चुर्लुम्म डुबाएर छाड्यो।
मेरो बाल्यकालका यतैतिरका ढुलमुल मायालाग्दा मिठो सम्झनाहरू छातीभरि गह्राैं ढुङ्गाझैं झुन्डिन्छन्। आँखाका नानीहरूमा खेल्छन्। यिनै ठाउँको सेरोफेरोमा मेरो बाल्यकाल बितेका हो। जाडोको स्कुल बिदामा राडी, बुर्गासन र बर्खे बिदामा घुम, प्लास्टिक बोकेर यिनै गैरीटार, राँके, फिस्टेखर्क, रिजालखर्क, सम्पुरे एप्मा, भगिमाटार, लामिझोर, चापगैरी, बर्खेसि, हिटीधारा जस्ता स्थानीय ठाँउका नाम रहेका स्थानहरूमा गाइभैसी डबली, सिङली, तारीफुर्कि आदि नाम गरेका वस्तु गोठालो गरेकाे थिएँ। यहाँका सबै बनबुट्यान, गाइवस्तुका खर्क, स्थान र माटोले चिने पनि मलाई सहरी यो चेपिलो वातावरणमा म एक्लो कोही आप्रवासी हुङ्ग जस्तो नमीठो भान हुन्थ्यो।
म धेरै भावुक भैसकेको रहेछु। बाइक रोकेर चिया पिउन मन लाग्यो र बाइक रोक्न खोजे बाइकको स्टेन केही लाउन मात्र खोजेको थिएँ। कुनै एउटा पसले आएर के लानु हुने भनेर सोध्नुभयाे।
मैले तुरुन्तै चिया पिउने भने। उहाँले यहाँ चिया पाइन्न यहाँ नरोक्नुस् भन्नुभयो। यो कुरा सुन्नेबित्तिकै अलि पर सरे त्यहाँ पनि रोक्ने अनुमति मैले नपाएपछि बाइकमा नै रुकसाइट झोलामा आङ सोझ्याउँदै सम्झे। वातावरण निकै चिसो छ। वरिपरि साहुजी, दोकानेहरूको ख्याठट्टा चलिरहेछन् पाङ्गदुरे अलंकार झुन्डाएका छन्।
मैले मेरो बच्चा मानसपटलमा जे रहेको र देखेका थिए राँके बजारलाइ त्योभन्दा एकै इन्च अगाडि नबडेको देखे। केही सडक अतिक्रमण गरेर भौतिक संरचनाहरू त बनेको देखिन्छ। तर, विचार राम्रो नभइसकेपछि अथवा टुरिजम पोलिसी शून्य देखिन्छ। त्यो अवस्थालाई प्राज्ञ अक्षुले देख्ने भनेकै यो विचार सोचलाई हुतिहारा बरवतापन देखिन्ने होइन र ?
त्यसैले यो राँके बजारको उच्च छवि भएका इमान्दारी व्यक्तित्वहरू बसाइँ उठेका रहेछन् भन्ने स्पष्ट देखिन्छ। भनिन्छ नि भूतका नजिक देउताको बास कदापि हुन सक्दैन। मलाई पनि महसुस भैरहेको छ। यिनै कुराहरूको गहिरो रस्साकस्सीमा म पौंठेजोरी खेल्दा खेल्दै कसिलो चारखोले सिरेटले झसङ्ग बिउँझायो।
म बाइकमा झोलाको अडेसो लाएर बिसाइरहेको थिएँ। चुपचाप बसेका बाक्लो हुस्सु र चिसो हावाका लावालस्कर तानातान चलिरहेको थियो । म बिस्तारै बाइक स्टार्ट गरेर अघि बढें।
बाटाहरूमा विगतका लिङ्गेपिङ्ग मच्चिरह्याे। तितो यथार्थका रोटेपिङ्ग घुमी नै बस्यो म गुम्बाडाँडाका इन्द्रेनी घुम्तीमा हतारमा एक्सुलेटर चाप्दै थिए। बादलुको घुम्टो च्यातिन्दै थियो धेरै परसम्म देख्न सकिन्ने रहरलाग्दो मौसम खुल्दै थियो।
मैले प्रधान गोलाइ नजिकै बाइक रोकेर दृश्य अवलोकनका लागि भुइँमा मात्र झरेको थिए। जो प्रधान गोलाइलाई तत्कालीन अमर नेम्बाङ प्रधान पञ्च कार्यकालमा निर्माण भएको हुनाले प्रधान गोलाई भन्ने नामकरण भएको थियो। जहाँ परबाट अल्गो दुई व्यक्ति मेरो नजिकनजिक आउँदै हुनुहुन्थ्यो।
मैले झट्ट चिनें, उहाँहरूले बिस्तारै नजिकबाट मात्र मलाई चिन्नुभयो। नमस्कार गरे। नमस्ते उत्तर आयो। उहाँहरू हुनुहुन्थ्यो कवि अमर नेम्बाङ र उहाँकै भाइ मुन्धुम गाथा तथा कवि विरही काइँला।
अमर नेम्वाङ बाजेले भन्नुभयो- नाति म अमेरिका रहँदा हाम्रो भेट इन्टरनेटमा भैरहन्थ्यो। नेपाल आएपछि भेट हुन किन नसकेको। इन्टरनेट गाउँमा छैन। तिम्रो नम्बर खोजे कतै पाइन?
मैले उत्तर केही फर्काउन सकिनँ। किनभने मेरो साहित्य गुरु दसौं वर्षको अन्तरालपछि अमेरिकाबाट जन्मभूमि फर्केपछिको पहिलो भेट थियो। म आफैंभित्र हर्षले अबोधगम्य बच्चाले आमा बाबालाई पाएकाे भन्दा धेरै भावुक भइसकेको थिएँ।
बाजेले अँगालो हाल्दै भन्नुभयो-सिरेन, तिम्रो कविता र गीतले मलाई असाध्य छुन्छ। म सुन्ने र पढ्ने गर्छु। चाँडो गर्नु भेट हुन्छ, भेट्नुपर्छ। यति संवादमा हामी छुटियौ।
म आफ्नो गन्तव्यतर्फ हानिएँ। अनेकौं अमर नेम्बाङप्रतिको वर्षौं भेट्ने इच्छाशक्ति र तिर्सना मेरो यो अचानकको भेटको एकै घुड्कीले मेटिनु कहिले सक्दैन थियो। मैले उहाँलाई सुनाउने अनेकौं चाहना थाती राखेको थिएँ। कति कुरा साँचिराखेको थिएँ। म भेट्न् जानेछु भन्दा भन्दै महिना, वर्ष हुँदै धेरै दिनले फड्को मारिसकेको थियो।
म एकदिन तराईका घरको छतमाथि बसेर घाम ताप्दै फेसबुक चलाइरहेका थिएँ। मेरो छोराले सुष्मा इन्जिनियरिङ कलेजबाट अचानक मलाई फोन गर्यो। बुवा अमर नेम्बाङ बाजे (पालिका अध्यक्ष) कार्यक्रम सम्बोधन स्थलमा बोल्दाबोल्दै ढल्नुभएछ रे। यतिकै सम्बादमा मात्र छोराको फोन राखे।
तुरुन्तै गाउँमा भान्जालाई कल गरें। आखिर अत्यन्तै दु:खद् कुरा सुनायो। उहाँले हामीलाई हिजो राति नै छोडेर जानुभएको रहेछ। यो भाञ्जाको चट्याङ जस्तो शब्दले मेरो होस केहीछिन गुम्यो।
आखिर जिन्दगी घाम र पानीमा देखिने इन्द्रधनुषजस्तै रहेछ क्षणिक बिलाउनुपर्ने। कवि अमर नेम्वाङ उहाँले नै भन्नुभएको छ सम्झनाको पनि आयु हुन्छ।
उहाँले सम्झनाको आयु ३ कृति लेखेर छाड्नुभएको छ। उहाँको यो ३ कृति १) सम्झनाका तरेलीहरूमा, २) एउटा साँझको अवसान र ३) अमेरिकाका भ्रमण।
यी गहन कृति नै हुन उहाँका जिन्दगीका सम्झनाका घामपानी यसैमा उहाँ इन्द्रधनुष भएर सधै देखिरहनुहुने लामो सम्झनाकाे आयु भयो। म यसै ३ कृति समातेर प्रधान गोलाईको त्यो भेटलाई अन्तिम भेट सम्झिरहनेछु।
- सिरेन वान्तावा
प्रकाशित: २१ माघ २०८१ ११:०५ सोमबार