१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानसहित ११ देशले किन गरे इजरायलको कडा निन्दा ?

गाजाका लागि सहायता सामग्री बोकेको 'ग्लोबल सुमुद फ्लोटिला'का २२ वटा डुंगाहरूलाई इजरायली सेनाले रोकेको घटनालाई लिएर पाकिस्तानसहित ११ देशका विदेशमन्त्रीले कडा निन्दा गरेका छन्।

पाकिस्तान, बंगलादेश, ब्राजिल, कोलम्बिया, जोर्डन, लिबिया, मलेसिया, माल्दिभ्स, दक्षिण अफ्रिका, स्पेन र टर्कीका विदेशमन्त्रीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलको यस कार्यलाई 'आक्रमण' को संज्ञा दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘यो गाजामा भइरहेको मानवीय संकटप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्ने उद्देश्यले गरिएको शान्तिपूर्ण मानवीय पहल थियो। इजरायलले डुंगामाथि गरेको आक्रमण र अन्तर्राष्ट्रिय जल क्षेत्रमा कार्यकर्ताहरूको गैरकानूनी थुनामा राख्नु अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन हो।’

यी देशका विदेशमन्त्रीहरूले हिरासतमा लिइएका कार्यकर्ताहरूको सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गर्दै इजरायली अधिकारीहरूलाई उनीहरूको तत्काल रिहाइका लागि आवश्यक कदम चाल्न अपिल समेत गरेका छन्।

प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूका अनुसार सहायता बोकेका डुंगाहरूलाई ग्रीक टापु क्रेट नजिकै अन्तर्राष्ट्रिय जल क्षेत्रमा इजरायली सेनाले रोकेको थियो। इजरायलको विदेश मन्त्रालयले भने करिब १७५ जना कार्यकर्तालाई हिरासतमा लिइएको बताएको छ।

'ग्लोबल सुमुद फ्लोटिला'का आयोजकहरूले इजरायली सेनाको यस कदमलाई ‘डकैती’ भन्दै गाजाबाट ९६५ किलोमिटरभन्दा टाढा रहेका मानिसहरूलाई गैरकानूनी रूपमा हिरासतमा राखिएको दाबी गरेका छन्।

इजरायलले गाजामा नौसेना नाकाबन्दी लगाएको भनेको छ। इजरायली विदेश मन्त्रालयले यो अभियानलाई ‘जनसम्पर्क स्टन्ट’ भन्दै टिप्पणी गरेको छ। विदेशमन्त्री गिडियन सारले पक्राउ परेकाहरूलाई बिहीबार पछि ‘ग्रीसको समुद्र तटमा अवतरण’ गराइने बताए।

प्राप्त जानकारी अनुसार फ्लोटिलाका बाँकी ३६ वटा डुंगाहरूमध्ये धेरैजसो हाल क्रेटको दक्षिणी तट नजिकै रहेका छन्। स्पेन, फ्रान्स र इटालीका ५८ वटा जहाजहरू मिलेर बनेको यो टोली दुई हप्ताअघि इजरायलले गाजामा लगाएको नाकाबन्दी तोड्ने लक्ष्यका साथ यात्रामा निस्किएको थियो। एजेन्सी 

प्रकाशित: १८ वैशाख २०८३ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App