२८ वैशाख २०८३ सोमबार
image/svg+xml
समाज

आँखाको ज्योति फर्किँदा छाएको खुसी

शुभकालिका गाउँपालिका-६ हाउडीकी १२ वर्षीया किशोरी पिरिङ्का विक आँखाको दृष्टि फर्किँदा खुसी छिन्। तीन वर्षदेखि गुमेको आँखाको दृष्टि बिहीबारदेखि फर्किएर देख्न थालेपछि पिरिङ्काको अनुहारमा खुसी प्रष्टै देखिन्थ्यो।

उनले भनिन्, ‘सानै उमेरमा आँखामा चोट लागेर बालापनमै आँखाको दृष्टि गुम्यो, फेरि संसार देख्ने भएकी छु।’

आँखाको दृष्टि फर्काउन सुर्खेतसम्म पुग्नुपर्थ्यो। उनी एक्लै अस्पताल पुग्न सक्ने अवस्था थिएन। उनलाई मामाघरकी काकीले सदरमुकाम मान्म ल्याएपछि उनको तीन वर्षपहिले गुमेको दृष्टिले संसार देखेको छ।

‘आर्थिक समस्या पनि थियो, धेरै पैसा लाग्ने हो कि भन्ने डरले घरकाले पनि अस्पताल लगेनन्,’ उनले बताइन्, ‘जिल्लामा भएको शिविरमा चेक गराएँ, निःशुल्क अप्रेसन भयो, खुसी लागेको छ।’

‘आँखामा दृष्टि नहुँदा हिँडडुल गर्न समस्या हुन्थ्यो, आफन्त ठम्याउन सकिँदैनथ्यो,’ दैलेखको आठबीस नगरपालिका-५ सुगुरखालका ७८ वर्षीय उदे तिरुवाले बताए, ‘अब आँखा देख्ने भएको छु, हिँडडुल गर्न र आफन्त ठम्याउन समस्या नहुने भयो।’

छोराको साथमा गाउँदेखि ३ घण्टा हिँडेर खड्किज्यूला हुँदै अप्रेसन गर्न कालीकोट पुगेका उनको मोतियाविन्दुको जालोले बन्द भएका आँखा डाक्टरले खोलिदिएपछि सहज भएको हो।

आँखा उपचार शिविरमा १७३ जनाको मोतियाविन्दु अप्रेसन भयो। शिविरमा आएकाहरू बुढ्यौलीका कारण आँखामा लागेको जालो फालेपछि दृष्टि फर्किएको खुसी एकअर्कामा साटिरहेका थिए।

पलाँता गाउँपालिका-८ बेर्सैनकोटका ७५ वर्षीय धनबिरे रोकायाले बन्द आँखा उपचारले सुविस्ता भएको सुनाए। ‘आँखामा दृष्टि नहुँदा घरभित्र बाहिर गर्नै समस्या थियो,’ उनले भने, ‘ज्योति फर्कियो, आफ्नो काम आफैँ गर्न सक्छु।’

निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया शिविरले कालीकोटका धेरै नागरिकलाई राहत भएको नेपाल नेत्रज्योति संगठन कालीकोटका अध्यक्ष खडानन्द पाण्डेले बताए। धेरैजसो यसबाट ज्येष्ठ नागरिकहरूलाई ठूलो राहतको महसुस भएको उनको भनाइ छ।

आई केयर फाउन्डेसनको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखराको आयोजनामा कालीकोटको सदरमुकाम मान्ममा तीनदिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो।

प्रकाशित: १८ वैशाख २०८३ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App