१) मुक्तक
माघ महिना यो चौतर्फी ठण्डीको नाप छ,
बच्चा बुढालाई जाडो मौसम नै अफाप छ।
बाँच्ने तापको उपाय अनेकौं अनेकमध्ये,
बालौं आगो सेकिने गरी त्यसैमा त राप छ।
२) मुक्तक
के नै फरक पर्ला र! टन्न बाक्लो रुई हुनुपर्छ,
जलाएर अँगेनोले तताउला त्यहाँ फुई हुनुपर्छ।
छरछिमेक बोलाएर आगोछेउ तापेर रमाउँदै,
उखान नै छ जो त्यहाँ छैनन् उन्का दुई हुनुपर्छ।
३) मुक्तक
टाढा थिए नजिक आए मिलाप दिने आगो भए,
संसारमा आफन्त बढ्दै गए ताप दिने आगो भए।
नभए नभई नहुने, भए चाहिंदै नचाहिंने अचम्म छ,
कलहको शृंखला चालु हुन्छ श्राप दिने आगो भए ।
४) मुक्तक
सुख के दुःख के बेफिक्र सबै आकलन थियो,
हरेक चिजमा खुसी लाग्ने अचम्मको मन थियो।
आगो ताप्दै अग्रजको गफमा छर्लङ्ग बिहान हुने,
आनन्दको पराकाष्ठा गज्जबको बालापन थियो।
५) मुक्तक
लामो न छोटो, ठिक्क कदको, सुन्दर हुन्छ मुक्तक,
चारै प्रहर, चारवटै मात्र पदको, सुन्दर हुन्छ मुक्तक।
प्रभात या सूर्यास्त, दिन या रात तल् तलले सताउने,
मन्द नशा बन्छ, मिठास मदको, सुन्दर हुन्छ मुक्तक ।
-मदन नेपाल
प्रकाशित: १४ माघ २०८१ ११:३९ सोमबार