१७ माघ २०८१ बिहीबार
image/svg+xml
कला

अँध्यारो चिर्ने बत्ती

लघुकथा

गोरेटामा अभ्यस्त नभई राजमार्ग पछ्याउनु बुद्धिमानी नहुन सक्छ। राजमार्गीय विचरणपछि गोरेटाको यात्रा सहज हुँदैन। बुद्धिजीवीले गन्तव्य चिनेर बाटो रोज्छन् छोरा।

मान्छे साथसहयोगको पछि लागे गन्तव्य भेट्दैन भन्छन् नि बाबा! तपाईं सामूहिक सुखका कुरा गरेर उज्यालो गन्तव्य भेट्ने कुरा गर्दै हुनुहुन्छ। आज यस्तो सम्भव होला र खै!

मेरो भनाइ सानामसिना कुरासित सहकार्य गर्दै हिँडे ठुला कामकुरासम्म पुगिन्छ भन्ने हो। मसिना झिँजादाउरा मुढो सल्काउन सक्छन् नि!

बाबाले भनेको कुरा आदर्श हो। सङ्घे शक्ति कलौ युगे भनेझैं हो तर आजको स्वार्थलिप्त मान्छेको भिडमा सामूहिक सुखका कुरा गरे तपाईं आफै अलमलमा खुम्चिनुहुन्छ।

तिम्रो कुराले अहिलेको वैयक्तिक प्रवृत्ति बुझाउँछ तर मान्छे त मानव मूल्यअनुसार विकसित सामाजिक प्राणी हो नि बिर्स्यौ र! अनि यो समूहमा रमाउन चाहने सभ्य प्राणी पनि। यस नाताले सामूहिक हित सोच्नु, मान्नु र व्यवहार गर्नु मान्छेको कर्तव्य होइन र!

यो के भन्दै हुनुहुन्छ बाबा तपाईं! आजको मान्छे कहाँ कर्तव्य सम्झन्छ!

दम्भले मातेर भोगविलासमा डुबेको छ, हेर्नू त ढाँट, छल, कपट, धूर्त्याइँ, छुल्याइँ, फुट्याइँ कति छ आजको मान्छेसँग! कर्तव्यपालन गर्ने नैतिक धरातल चटक्कै छाडेर विवेकहीन चरित्र निर्माणको होडबाजी चलेको चल्यै छ नि। पाइलापाइलामा बेथिति छ, घरघरमा स्वार्थका पन्तरा थुप्रिएका छन्, देख्नुभा छैन कि! नदेखेझैं गर्नुभा त, अचेल निमुखा नहेपी रमाउने र नखोसी, नठगी पेट भर्ने कहाँ पाउनुहुन्छ!

तिम्रो भनाइमा मेरो विमति होइन बाबू तर यी सबै विकृतिका जिम्मेवार हामी आफै हौँ। सचेततापूर्वक इमानदार हुने हो भने व्याप्त अँध्यारो चिरिने गरी बत्ती बाल्न सकिन्छ। यो दायित्व मान्छे स्वयंको हैन र!

ठिकै छ बाबा अँध्यारो हटाउने जिम्मा हाम्रै हो। पहलै नगरी परिणाम खोज्ने पनि होइन, बत्ती नै नबाली अँध्यारो हराउने पनि हैन! हामीले नबाले कसले बाल्ने! अहिले नबाले कहिले बाल्ने!

प्रकाशित: ८ माघ २०८१ १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App