७ माघ २०८१ सोमबार
image/svg+xml
कला

सम्बन्धहरू पनि अनौठो गरेर टाँसिने रहेछ जोसँग धन छ!

मुक्तक

१) मुक्तक

मायाको उद्यानमा सुन्दर घर बनाउन मन छ,

यो दिलमा तिम्रो नामको टाटु हनाउन मन छ।

ए प्यारी, मट्टीको कसम लौ जाने छुइनँ भागेर,

बरु तिम्रै प्यारा दुनियाँलाई भनाउन मन छ।

२) मुक्तक

सम्बन्धहरू पनि अनौठो गरेर टाँसिने रहेछ जोसँग धन छ,

यहाँ अभावमा त साँच्चै मुटु जोड्ने नै पनि टाढा झन् बन्छ।

यी दुनियाँ स्वार्थी छ, बजारु सामना झैं तराजुमा जोख्छन्,

यसैले यो कोलाहलपूर्ण बस्तीभन्दा पर डेरा सार्नु मन छ।

३) मुक्तक

मलाई अर्को कुनै ताजमहल बनाउनु छैन,

वरिष्ठताको ट्याकले खास भनाउनु छैन।

म त भुइँ मान्छे, कर्ममा सधैं विश्वास गर्दछु,

बस, माननमान बाँकी फरक जनाउनु छैन।

४) मुक्तकु

तिम्रै मुहार हेरेर एक्लै हाँसेको छु,

डाँफेझैं प्रफुल्ल भैई नाचेको छु।

साँच्चै सुन्दर छेउ मकालु तिमी,

यसैले अटुट नाता गाँसेको छु।

५) मुक्तक

सरर यसैगरी मोटर चढेर फर्की जानु मन छ,

सभा र अरुणको असला माछा खानु मन छ।

कहाँ रमाउनु मन जहाँ छहरा, पहरा नै छैन,

मनभित्रका खुसीहरू समेटेर लानु मन छ।

६) मुक्तक

जति जोडले चिच्याए र कराए पनि पहरा जहिले चर्किंदैन,

निर्जीव पुत्लामा आत्मा छ भन्दैमा कोही अहिले तर्सिंदैन।

गणतन्त्र सहिदको बलिदानी र त्याग हो कसैको पेवा हैन,

यसैले चितामा जलाएको त्यो राजतन्त्र कहिले फर्किंदैन।

७) मुक्तक

जूनताराहरू सधैंलाई अस्ताई खसेका छन् कि,

हाँसो र खुसी पनि उस्तै मुग्लान पसेका छन् कि।

बोल्दैन केही आफन्तहरू नबोल्नमा के स्वार्थ छ,

सायद मेरो मृत्युको खबर कुरेर बसेका छन् कि।

८) मुक्तक

म जुन धरातलमा उभिएको छु त्यहाँभन्दा तल झर्नु छैन,

बाघको डम्बरु भई डराएर धाकधम्कीमा अन्तै सर्नु छैन।

बरु गुमनाम स्वीकार छ तर कुनै पनि अपमान सहदिनँ,

जे छु ठिक छु, गुलामीको फेरो समाएर चै नदी तर्नु छैन।

९) मुक्तक

म त जिन्दगीको अर्थ खोज्दै डुलेको मान्छे,

घामपानीमा पहराको फूलझैं फुलेको मान्छे।

बेग्लै छु स्वार्थी दुनियाँमा फरक गुणैले होला,

आखिर मतलबी आफन्तहरूले भुलेको मान्छे।

१०) मुक्तक

यत्रो मान्छेको भिडमा खै, किन एक्लै छु,

आफ्नैहरूले नचिनेपछि पक्कै नै बेग्लै छु।

कल्ले खोज्ने पैसा र पावर बिनाको जाबो,

यसैले आफ्नो कहानी आफैं पो लेख्दै छु।

-विवि याक्खा

प्रकाशित: ७ माघ २०८१ १०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App