१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

जाल

लघुकथा

मन्दिरको सिंढी उक्लिदै गर्दा उनी चिप्लेर सिंढीमै थेचारिन्। एकातिर शरीरमा परेको चोट, अर्कोतिर लज्जाबोध! अचानक कुनै छाया सलबलायो। एकजना गेरुवस्त्रधारीले हात दिंदै  भने, ‘उठ बालिके !’

उनी झन लजाइन् तर उनलाई तुरुन्तै उठ्नुपर्ने पनि थियो। उनले सहर्ष स्विकारिन् र हात दिइन्।

उनले  सोधे, ‘बालिके, तिम्रो गन्तव्य के हो!’

‘अहिले म एउटा कामना लिएर मन्दिर जाँदै छु।’ उनले अगाडि बढ्दै नम्र भावमा जवाफ दिइन्।

‘ओहो गजब भयो। मेरो पनि गन्तव्य त्यही हो। म तिमीलाई डोर्‍याउन सक्छु।’ भन्दै बिस्तारै सँगसँगै अगाडि हिंडें।

मन्दिरछेउको गुफा जाने बाटो समात्दै उनले भने, ‘मैले सहज बाटो देखेको छु। त्यतैबाट जानुपर्छ।’

‘म कसरी भरोसा गरूँ!’ अनकनाउँदै पनि उनी पछि लागिन्।

‘तिमी लड्दा कस्ले उठायो!’ उसले प्रसन्न मुद्रामा सोध्यो।

‘त्यो त सानो घटना थियो।’ उनले लजालु पाराले भनिन्।

उनलाई गुफाभित्र धकेल्दै ऊ चर्को स्वरमा बोल्यो, ‘अब ठुलो दुर्घटना हुन्छ!’

इन्सपेक्टर सन्ध्याले आफूलाई सम्हाल्दै जुरुक्क उठेर उसलाई हत्कडी लगाइन्।

- महेन्द्र नेउपाने  

प्रकाशित: २४ पुस २०८१ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App