२२ पुस २०८१ सोमबार
image/svg+xml
कला

बुबा र बिरुवा

बालकथा

जाडो याम भर्खरै सकिएर वसन्तको आगमन हुँदै थियो। प्रभा आफ्नो कोठामा सजावटका लागि गमलामा लगाइएका बिरुवा देखेर दिक्क थिई। ती बिरुवा कुनै फूल फुल्ने खालका थिए भने कुनै फूल नफुल्ने खालका थिए। कुनै पनि गमलाका बोटबिरुवामा पालुवा पलाएका थिएनन्। भएका पात पनि पहेँला अनि काला हुँदै गइरहेका थिए। उसले ती गमलाका बिरुवालाई बचाउन हर प्रयास गरिरहेकी थिई। रासायनिक मलले पो काम गर्छ कि भनेर त्यो पनि किनेर ल्याएर हाली। ती बिरुवा त झन् झन् ओइलाउँदै गए। उसको केही सिप लागेन।

उसलाई ती गमलामा रहेका बिरुवाप्रति वितृष्णा हुन थाल्यो। एकदिन ऊ आफ्नो स्मार्ट फोन चलाउँदै थिई। त्यही बखत उसका बुबाले राखेको फेसबुकमा ढकमक्क गमलामा फुलेका फूलहरूका तस्बिर आए। बुबाले ती फूल मेहनत गरेर फुलाउनुभएको थियो। उसलाई ती गमलामा फुलेका फूलले हर्षित र आनन्दित तुल्यायो। ती फूलका तस्बिर हेरेपछि उनको मनमा अनेक थरी विचार आउन थाले। उनले ती बोटबिरुवाका गमलालाई एकत्रित गरेर उनका बुबाको घरमा लिएर गइन्।

बुबाआमा आफ्नै सुरमा बसिरहनुभएको थियो। अचानक छोरीले गमलामा लगाएका थरीथरीका बिरुवा ल्याएको देख्दा उसका बुबा आश्चर्य चकित भएर प्रश्न गर्न थाल्नुभयो, ‘के भयो छोरी ? यी गमलाका बिरुवा किन ल्याएको?’

छोरीले आफूले जति स्याहारसुसार गर्दा पनि यी बिरुवा नफस्टाएको कुराको वेलिविस्तार लगाइन्। त्यसैकारणले हजुरले केही उपाय गर्नुहुन्छ कि भनेर यहाँ ल्याइदिएको भनेर प्रस्ट्याइन्। बुबा बोटबिरुवाका सोखिन हुनुहुन्थ्यो। यो देखेर बुबा पनि खुसी भएको उनले अनुभव गरिन्।

बुबाले ती सबै बिरुवालाई गौण गरेर हेर्नुभयो। त्यसमा भएका रोगी पात र डाँठहरू एकएक गरी भाँच्नुभयो। तिनीहरूको जरालाई माटोबाट छुट्याई खुम्रे किरा छन् कि भनी हेर्नुभयो। घरमा बनाएको कम्पोस्ट मल हालेर ती बोटबिरुवालाई ठुला गमलामा सारी पानी सिञ्चन गर्नुभयो। कुन बिरुवालाई कति पानी, कति उज्यालो, कति घामको किरण चाहिन्छ भन्ने कुरा पनि थाहा पाउनुपर्छ भन्नुभयो।

प्रभा भने उसका बुबाका सबै कुरा र क्रियाकलाप रमाइलो मानेर सुन्दै र हेर्दै थिई। त्यही बखत ऊ नोस्टाल्जियामा पुगी। ऊ आफूलाई सन्चो नहुँदा वा कहिलेकाहीं नकारात्मक कुराले मनमा प्रवेश गर्दा पनि ऊ यसरी नै हतारिँदै आफ्ना बुबाकहाँ पुग्थी। यो उसको सानैदेखिको बानी थियो।

ती बोटबिरुवाका रोग लागेका पात चुँडेर फालेजस्तै उसका बुबाले उसका नकारात्मक सोचहरू हटाउँदै जानुहुन्थ्यो। सन्चो नभएका बखत औषधी खाए नखाएको हेक्का उसलाई भन्दा उसका बुबालाई हुन्थ्यो। खानपानदेखि आरामसम्मको विषयमा बुबालाई धेरै चिन्ता हुन्थ्यो। एकपटक प्रभालाई पढाइको चिन्ताले निकै सतायो।

यो चिन्तालाई हटाउन उसका बुबाले पढ्नका लागि विदेशमा निसङ्कोच पठाउनुभयो। जसका कारण खुला वातावरणमा उसले धेरै कुराको ज्ञान हासिल गर्ने मौका पाई। बुबाको माया, स्याहार र वाणीले उसमा जादु गर्थ्याे। उनी छिटै तन्दुरुस्त र फुर्तिली हुन्थी।

यी सबै कुराको संस्मरण गर्दा गर्दै ऊ फेरि यथार्थमा फर्किई। बुबाले बिरुवामा दखल नपुर्‍याई ध्यानपूर्वक पानी हालेको हेरी र सघाउन पुगी।

केही हप्तापछि ऊ फेरि आफ्नो बुबाको घर गई। उसले ती बिरुवा खै भनेर प्रश्न गरी। बुबाले फस्टाएर झाङ्गिएका बोटहरूलाई तिमीले ल्याएका बिरुवा यिनै हुन् भनेर देखाउनुभयो। उनले ल्याएका ती विरुवा यसरी बढेकाले प्रभा आश्चर्य चकित भई। जसरी शारीरिक र मानसिक रूपमा अस्वस्थ र विचलित हुँदा बुबाको नजिक पुग्दा समस्या समाधान र निर्मुल हुन्थ्यो, त्यसरी नै यी बिरुवाले पनि बुबाको माया, लगनशीलता र मेहनतले नयाँ जीवन पाएछन्।

साँच्चै नै बुबामा भएको कडा मेहनत, सकारात्मक सोच र ऊर्जाको फलले नै यो सबै सम्भव भएको हो। उसमा र यी बिरुवामा सायद त्यही ऊर्जाको प्रभाव भएको हुनुपर्छ भन्ने प्रभाको ठम्याइ भयो। कहिले फूलका चिल्ला हरिया पात र कहिले बुबाका शालीन अनुभवी अनुहारलाई प्रभाले हेरिरही।

प्रकाशित: २० पुस २०८१ ०७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App