१४ पुस २०८१ आइतबार
image/svg+xml
कला

मनास्लुमुन्तिरको पिरती

नियात्रा

प्रकृति खुलेर मुस्कुराउने शारदीय यामको मादक मौसम छ। उमंग, उल्लास र उत्साह मौलाउँदै फिरन्तेहरूको लामो लस्कर डोरिएको छ, मनास्लु संरक्षण क्षेत्रको पदमार्गमा।

विश्वको आठौं अग्लोमा दरिएको मनास्लु हिमाल (८१६३ मिटर) को चुचुरो चुमे मे ९, १९५६ मा जापानी नागरिक तोसिओ इमानिसी र ग्याल्जेन नोर्बु शेर्पाले। त्यसपछि एकाएक मनास्लु संरक्षण क्षेत्रको प्रतिष्ठा चुलियो, राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा। अनि पर्यटक ओइरिने क्रमसँगै यस क्षेत्रले विकासको छलाङ मारेको हो।

प्रायः पर्यटक गोर्खाको चुमनुम्ब्री गाउँपालिका–१ स्थित सामागाउँ (३५२० मिटर) पुगेपछि दुई दिन बिताउँछन्। शरीरको तापक्रमलाई उचाइअनुसार घट्दै गएको तापक्रमसँग सन्तुलित पार्न र यहाँका पर्यटकीय स्थल घुम्ने हिसाबले यहाँ दुई दिन आवश्यक हुन्छ। यही क्रममा आज हामी मनास्लु मुन्तिरको पदयात्रामा जाने जोस निकाल्दैछौं।

बिहान सवा ७ बजे उक्लिन सुरु गर्‍यौं। सामागाउँबाट साम्दो जाने बाटो पछ्याउँदै छौं। बाटो तर्पया उकालो र तेर्सो छ। खोला तरेपछि साम्दो जाने सिधा बाटो छोडेर बायाँ धकलिएको बाटो पछ्याउँदै उक्लिन्छौं। जुन बाटोले मनास्लु आधारशिविर पुर्‍याउँछ। ढुंगाको छपनी ओच्छ्याइएको फराकिलो (झन्डै ४/५ फुटको) छ बाटो, ढुंगाकै सिढी छ। तर बाटो अलि बढी उकालो (४०–५० डिग्रीको) छ।

ढुंगाको सिँढीयुक्त उकालो बाटो र वरपरको सल्लाका रुखले एक घण्टासम्म साथ दिएको छ। यसपछि भने बाटोमा उकालोको मात्राले अझ बढी उचाइ (७०–८० डिग्रीसम्मको) नापेको छ। दायाँबायाँ १०/१५ मिटरका नाङ्गा (पात झरेका) रुख छन्। देखिएका झाडीसमेत सुकेका छन्। अगाडि एक आकर्षक हिमाल उभिएको छ।

माछापुच्छ्रे जस्तै दुई पुच्छर फैलाएर। नेपालको सातौं अग्लो मनास्लु हिमाल हो यो। यसको दायाँतिर मनास्लु नर्थ (७१५७ मिटर) छ। बायाँतिर भने ङाभी चुली/पिक २९ (७८७१ मिटर) छ। यसलाई ससम्मान डा. हर्क गुरुङ चुली भनेर पनि नामकरण गरिएको छ। हिउँले सेताम्य हिमालचुली (७८९३ मिटर) देखिएको छ। अगाडिका यिनै हिमशृङ्खलाको उज्यालोमा हामी उमंगिँदै उकालो उक्लेका छौं।

ठ्याक्कै दुई घण्टामा अर्को आकर्षण थपिएको छ, घरपालुवा बाख्राको बथानजस्तै दृश्यको। नारिँदै चौधपन्ध्र वटा नाउर बाटोमुनिको भिरालो चौरमा चरिरहेका छन्, ठ्याक्कै चौंरीमुन्तिर। निर्दोष नाउर नजरमा के परेको थियो, मन फुरुङ्गिँदै नाउरको पाठा भएर उफ्रियो। आखा एकोहोरिए। रोकिए चलायमान पाइला। हात सल्बलाए, क्यामारामा कैद गर्न। एक निमेष जस्तो लाग्छ, तर बुर्कुसी मारिसकेछ २० मिनेटको समयले।

सहमतिनुसार हामी फर्कने समयसमेत गुज्रिसकेछ। त्यहींबाट फर्कने सहमति भएको थियो, जहाँ दुई घण्टाको समयावधि समाप्त हुनेछ। अर्थात् सवा नौ बजेको उचाइसँग घुलमिल भएर फर्कनु हाम्रो उद्देश्य हो। मनास्लु आधारशिविर पुग्ने तयारी नगरी निस्केकाले यसरी बीचबाटोबाट फर्कने सहमति भएको थियो, जर्मनी पाहुनासँग। तर फर्कने छनकको लेससम्म देखाएको छैन मेरो पाहुनाले। ‘के तिमी यिनीसँगै अझै उक्लन्छौ ?’

बिहानैदेखि नै एक तरुनी साथी (बेलायतकी फ्लोरा)सँग लहसिनमा मस्त छ ऊ। पक्कै सँगसँगै अझ माथि पुग्न चाहन्छु। मानौं यो बाहेक जवाफ नै छैन जस्तोगरि बात मार्दामार्दै तन्नेरी पाहुनाले निर्धक्कको जवाफ फर्कायो। तर हाम्रो प्रमुख समस्या भनेको भोक र तिर्खाको थियो।

बिनातयारी अर्थात् दिउँसोका लागि खाना र पानी नबोकी निस्केका थियौं हामी। यो परिस्थिति पक्कै अप्ठेरो थियो। तर उनमा यसको रत्तिभर चिन्ता देखिँदैन। अझ यस्तो लाग्थ्यो कि जस्तोसुकै असहज सामना गर्नुपरे संयमता कायम राख्न सक्षम छ। के मान्छेको मस्तीमा जागेको भूत सवारले भोक तिर्खा भगाउँछ ?

लाग्छ, जानी नजानी ऊ वर्तमानको खुसीलाई सकेसम्म लम्ब्याउन त चाहन्छ नै। साथै असीमित रहर छ, अज्ञात ऊर्जाबाट उत्प्रेरित भएर यसलाई अवचेतन मनभित्र पुर्‍याएर अनन्तसम्म टिकाइराख्न। चाहे त्यो साथीसंगतको खुसी होस्, चाहे माया पिरतीको आशक्ति।

सामुन्ने जे जस्तो असहज अवस्था आइपरे पनि त्यसलाई बिनाविरोध शान्तिसाथ स्वीकार गर्नु नै पर्याप्त लाग्यो। उसको मनोविज्ञान बुझेर हुलमा मिसिएको छु। तन्कँदै छु तिनीहरूसँगै, दोहोरिँदै गएको तेर्सो–ठाडो बाटो। तर बाटो बढी मात्रामा ठाडो छ।

आम मान्छेको जिन्दगी पनि त यस्तै हुँदो हो। तेर्सो अर्थात् सुख कम तर उकाली अर्थात् दुःख बढी। मास्तिरबाट छङछङ झरना झरेको छ। त्यही झरनाको पानी तल खोली भएर बगेको छ। खोली तर्न जम्बो कोकका बोत्तलजत्रा ४/५ वटा फेदैबाट काटिएको सिंगो रुख तेस्र्याइएको छ।

दुई दिनको जीवनजस्तै यो अस्थायी पुलको लम्बाइ जम्मा ३/४ पाइलाको छ। झन्डै ६०–६५ डिग्रीको उकालो बाटो आयो। ढुंगाको सिँढी बिछ्याइएको यो बाटो १५ मिनेट हिँडेपछि सिमेन्टको पुल भेटियो। झन्डै १५ मिटरकै रहेछ लम्बाइ पनि। खोलाको सतहबाटै ठड्याइएको ढुंगाको पिलरले टेको दिइएको छ यसलाई।

भूकम्पले चर्काएको घरलाई घोचोले टेको दिएजस्तो। खोलाको पानीमा केही अंश हिउँ भएको छ जमेर। यसबाट पनि प्रमाणित हुन्छ कि यहाँको मौसम चिसो छ भन्ने। तर अहिले खासै चिसो छैन। मध्याह्न हुनै लाग्दा माइनस २/३ डिग्री हुँदो हो तापक्रम। जतिबेला तापक्रम न्यून (बिहान–बेलुकी–राति) हुन्छ, खोलाको पानी जमेर हिउँ बनेको हुनुपर्छ।

वनस्पतिविहीन नांगो भिरपाखा उक्लँदा उक्लँदै सवा १० बज्यो। पुरानो मनास्लु आधारशिविर आइपुगियो। उचाइ रहेछ, ४५५० मिटर। जब देव्रेतिर धकेलिएको बाटो आउँछ तब ठाडै उकालो नाप्नुपर्छ। ढुंगे डाँडाको यो बाटो यतिसम्म खतरापूर्ण छ कि खुट्टा फिस्लियो कि एकैचोटि हजार÷बाह्र सय मिटर तल रहेकोे वीरेन्द्र तालमा पौडिन पुगिन्छ। डाँडाको अन्तिमतिर पुग्दा नपुग्दै नायक पिक (६२११ मिटर) हाम्रो हाराहारीमा आएको छ।

मनास्लुको एकातिरको धार मात्र देखिएको छ। त्यो धारभन्दा कम छैन। हामी हिँडेको यो डाँडाको धार। तल्तिर हेर्न भएभरको साहस जुटाउनुपर्छ। हेर्‍यो कि रिँगटा छुट्छ, खुट्टा कमाउँछ।

यस्तो कहालीलाग्दो र जोखिमपूर्ण बाटो दुई घण्टा हिँडेपछि बल्ल मनास्लु आधारशिविर पुगिनेछ। भोकले भाउन्न गराइसक्यो। उकालो उक्लँदै गर्दा दुई पुरी डेरी मिल्क चककेट, एक मुठी मकै–भटमास र एक पुरी बिस्कुट पलभरमा हसुरेँ। हुन त बिहान उक्लँदा एक डबका पोरिज पड्काएकै हो। उकाली ओरालीले होला, अलि छिटो भोक लाग्न थालेको छ आजकल।

खतरापूर्ण डाँडो सतर्कतापूर्वक काट्नासाथ अपत्यारिलो समथर भूमि आयो। खुला आकाश, खुला बाटो। खुला नै देखिएका छन् वरपरका फराकिला हिमशिखरहरू। स्वतन्त्र किसिमले कुदूँ कुदूँ लाग्ने वातावरण। तर थकाइले तिघ्रामा तागत नभएर हिँड्न नै हम्मेहम्मे भइरहेको छ।

ठिक साढे ११ बजे मनास्लु आधारशिविरको भूमिमा पाइला पुगे हाम्रा। उचाइ ४८८० मिटर देखाएको छ। सानो ब्याडमिन्टन कोर्टजत्रो उठेको वर्गाकार ठाउँ छ चाक्लो थुम्कोमाथि। एक छेउमा ढुंगाको माने छ। मानेमाथि पञ्चरंगी बुद्धिस्ट ध्वजापटका तोरनजस्तो टाँगिएका छन्।

 मनास्लु सबैभन्दा नजिक र ठुलो आकारमा निसङ्कोच अगाडि उभिएको छ। हावाहुरीसँग साउती मार्दै, पहाडपर्वतसँग पिरती गाँस्दै अटल भएर उभिँदैको मनास्लु साँच्चै निडर देखिएको छ। सर्वाङ्ग मनास्लुको आकृतिमा पूर्ण यौवन उदाङ्गिएको हो ? उसको अजम्बरी पिरतीबाट प्रभावित भएर यिनीहरू (मेरा तन्नेरी पाहुना र अर्का साथीका तरुनी पाहुना) पिरती गाँस्न आतुर भएका हुन् ? मनास्लुको वायाँ क्रमशः ङागी चुली र हिमालचुली छ।

यिनको तल्तिर सेतो पिठो पोखेजस्तो सेताम्मे हिउँ टल्किएको छ। दायाँतिर क्रमशः मनास्लु नर्थ अनि स्याउला चुली र चमेरी हिमाल हामीलाई हेरेर हाँसिरहेका छन्। जब हिमाल हाँस्न थाल्छन्, तब एउटा अव्यक्त रहस्य बोल्छ। आनन्दको सरोबर देखिन थाल्छ। यिनीहरू हाँस्छन् र पो मान्छे हाँस्छन्।

हिमालकै हाँसो टिपेर मायालुसँग मधुर मुस्कान साट्छन्। हिमाल हाँस्दा गीत बन्छ, मानिस हाँस्दा प्रीत। कवि बन्छ हिमालको हाँसोमा लट्ठिएको मान्छे। उसबाट गीता जन्मन्छ। क्या गाथारूपी महाकाव्यले भरिएका छन् हिमालहरू ! कति करोड वर्षदेखि यसरी मित्रताको प्रतीक भएर बसेका होलान् यी दुःख भुलाउने हिमालहरू ? यिनीहरूको देखासिखी गरेका त होइनन् हाम्रा नवजोडी पाहुनाहरूले ?

हावा हुर्हुर हुर्हुर गर्दै जोडजोडले चलेको छ। अलि तल, हावा कम लागेको पाखोमा बस्न गयौं र ल्याएको लन्च खाने तरखरमा छौं। सहयात्री गाइड साथी अर्जुन पाण्डेले ल्याएको छ– प्याकिङ फ्राइ राइस नामको लन्च। ‘खानू दाइ खानू, मलाई धेरै हुन्छ।’ अर्जुनले न्यानो आग्रह गरिरहेछ।

पोको पारेको र्‍यापरको एक छेउ च्यातेँ र खोचे पारेर चम्चा बनाएँ अनि भकाभक भकुरेँ। उनका दुई महिला पाहुनाले समेत फ्राई राइसको पोको फुकाए र कपाकप खाए। तर मेरो पाहुनाले लन्च बोकेको छैन। हिमालतिर फर्केर टोलाइरहेको छ। अप्ठ्यारो र दयाले असजिलो बनाइरह्यो। अनि मसँग भएको एक मुठी मकै फैलाएँ ऊतिर। खान्न, पर्दैन भन्दै थियो। १०/१२ गेडा हातमा राखिदिएँ। आधाभन्दा बढी खाइसकेपछि सँगै बसेकी तरुनी नवसाथीले आफ्नो फ्राई राइस मेरो पाहुनातिर तेस्र्याई। बल्ल असजिलो पारो ह्वात्तै पिँधमा झर्‍यो।

भोक मिठो रहेछ भोजनभन्दा भन्ने कुराको भुक्तभोगी बनियो। चिसो र चिल्लो नगन्य भए भोकका अगाडि। भोक त मेटियो तर तिर्खा मेट्ने कसरी ? बोत्तलमा मनतातो पानी ल्याएको थिएँ बिहान उक्लँदा। मनतातो छँदै तीन भाग खाइसकेछु। अब चिसो न चिसो भइसकेको पानी मात्र बाँकी छ। कसरी निल्नु ? घाँटी समाउला कि भनेर डर लागिरहेछ। थोरै मुखमा केहीबेर राख्दै निलेँ तीन घुड्को। अरूबेला भए मनतातो पानी पिउँथे होला, सके एक ग्लास स्ट्रोङ कफी घुट्क्याउँथेँ।

ठीक एक घण्टापछि ओरालो झर्‍यौं हामी। ४८८० मिटरको उचाइसँग शरीरलाई अभ्यस्त पारेर अर्थात् हाई पचाएर। जसका लागि यो एक उत्कृष्ट स्थल हो। यो उचाइ भनेको थोराङ फेदीभन्दा तीन सय ५५ मिटर बढी हो। तिलिचो तालभन्दा ३९ मिटर र थोराङ पासभन्दा पाँच सय ३६ मिटर मात्र कमी हो। १२/१५ मिनेट हिँड्दा नहिँड्दै टी हाउसमा चिया खाने भन्दै बस्न थालिन् तरुनी साथी।

मैले मेरो तन्नेरी पाहुनालाई अलग्याएँ उनीबाट र ओरालो झर्ने कर्मलाई निरन्तरता दिएँ। तर मेरो पाहुनाको हिँडाइको गतिमा अचानक ब्रेक लाग्यो। आश्चर्य ! पत्याउन गाह्रो छ। उही पाहुना हो, जसको हिजो पुङ्गेन गुम्बाबाट झर्दाको गतिभन्दा कम्तीमा ७५ प्रतिशत कमी आएको छ।

सम्भवतः तरुनी साथीको सम्झनाले पाइला सुस्त भएको हो। पर्खंदै पर्खंदै ओर्लने क्रममा भेटाइछाडिन ती तरुनीले हामीलाई। पुनः मिलनपछिको गफगाफ झन झ्याङ्गिँदैछ। हिँडाइ त कछुवाको गतिमा आयो। मलाई भने तिर्खा लागेको छ, थकाइभन्दा चर्को। यस्तो बेला कसरी हिँडूँ यिनीहरूको सारमा ? अगाडि हुत्तिँदै झरेँ।

सुँगुरको मासुको लाम्टाजस्ता मनास्लु हिमपहिरोले बनाएको अनौठो आकृति। त्यसमाथि खेतबारीका डल्लाजस्ता सेता न सेता ढिके हिउँका रास। तल्तिर निरमसी खन्याएजस्तो गाढा निलो वीरेन्द्र ताल। जसलाई बिहान उक्लँदा छोडेर आए पनि छोडिएको रहेनछ। आँखैमा टाँसिन आएको छ, यसको आकर्षक आकार र रूपरङ्ग। त्यसभन्दा अझ मुन्तिर जतनले मिलाएर राखेका सजावटका समानजस्ता सामागाउँका राता–निला होटल–रेस्टुरेन्टका झुन्ड शोभायमान देखिएका छन्।

यताबाट श्याला गाउँ र नजिकै वनको डाँडामा अवस्थित गुम्बाले पनि आँखा तानेको छ। जमिनमाथि क्षितिजबाट हेरिरहेको स्याउला हिमालले समेत सुन्दरता बढाएकै छ। आधी घन्टा भए पनि तिर्खा र थकाइ भुलाइदिएछ। बीच बाटोबाट देखिएका यी अलग र आकर्षक प्रकृतिप्रदत्त दृश्यले। पछाडि फर्केर हेर्छु। मास्तिर टाढाबाट कमिला जत्रा मानव तलतिर घिस्रिएजस्ता देखिए। यहाँ आउन अझै एक घण्टा लाग्ला। अब भने ममा पर्खने धैर्यको बाँध भत्कियो। अत्याससँगै भोकसमेत लाग्न थाल्यो। तिर्खाको व्यथा त पुरानो कथा भइसक्यो।

झन्डै बहिरहेको बतासको गतिमा ओरालो बाटो फाल हाल्दै झर्दैछु। अब त दायाँबायाँका भूदृश्यसमेत सुकेको फूलजस्तो फिका लाग्दैछ। भोक, तिर्खा र थकाइले जर्जर बनेको मुढो शरीर लिएर साढे तीन बजे सामागाउँस्थित माउन्ट मनास्लु होटल छिरेँ। पहिलो प्राथमिकताको मनतातो पानी आधा लिटर एकै सासमा सिनित्त पारेँ।

बाँकी आधा लिटर ओछ्यानमा सिरक ओढेर बसीबसी आधा घण्टामा सकाएँ। जेनतेन साढे चार बजाएपछि भोकलाई अलमल्याउन चकलेट चपाएँ। दिउँसोको धपेडीको धङधङी मेटाउन कोठाबाट निस्के, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का अधिकृत रतन साउदलाई भेट्न। अघिदेखि नै भलाकुसारीका लागि आग्रह गरेका छन्। सामागाउँ वरपरका पथप्रदर्शक (गाइड) प्रशिक्षण दिने क्रममा प्रशिक्षकहरूको समूह लिएर आएका रहेछन् यहाँ उनी।

वैभवशाली मनास्लु हिमालको नाम जोडेर विधिवत् रूपमा २०५५ सालदेखि ‘मनास्लु संरक्षण क्षेत्र’को घोषणा गरिएको हो। पर्यटकीय आकर्षणले भरिपूर्ण छ यो क्षेत्र। प्राकृतिक साधनस्रोत, जैविक विविधता, सांस्कृतिक सम्पदा यसका सबल पक्ष हुन्। जसमा मनास्लु क्षेत्रको मात्र होइन, मुलुककै सौन्दर्य, पहिचान र प्रतिष्ठा समेटिएको छ।

प्रकाशित: १३ पुस २०८१ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App