‘सपना देख्न छोड्नुहुन्न’ भन्ने दर्शनबाट प्रभावित भएर होला, नेपालका जुनसुकै दलका नेताले पनि ‘जनतालाई रंगीन सपना देखाउन’ छोड्दैनन्। जबकि नेतालाई आफैंले बोलेको कुरामा पनि विश्वास हुँदैन। अनि हामी जनता पनि उनीहरूको उटपट्याङ कुरामा विश्वास गर्नुहुँदैन भन्ने कुरा बुझेर पनि विश्वास गरिहाल्छौं, अर्थात् ठगिइरहन्छौं। यस्तै कुरा लिएर आफ्नो कामको अनुभव सँगालेर ‘नेपालको रैथाने ज्ञान र सिपलाई संवर्धन गर्नुपर्छ’ भन्ने विचार पस्केका छन्।
सोमत घिमिरेले ‘सामुदायिक समाजवाद’मा सिंहदरबारले गणतन्त्रपछि पनि जनता र समुदायका लागि काम गर्न नसकेको, काठमाडौंले जिल्ला, गाउँ, प्रदेशका जनताका समस्या बुझ्न नसकेको कुरा छर्लङ्ङ पारेका छन्।
हुन त यस्ता कुरा सबैलाई थाहा नभएको होइन, तर प्रायःलाई आफ्नो विचार यसरी सलल पस्किन चाहिँ गाह्रो पर्छ। त्यो अर्थमा यो किताब मलाई रोचक लागेको हो किनभने यसमा उनले सरकार, दल, प्रतिपक्ष सेना सबैले गरेको नकामलाई खुलस्त लेखिदिएका छन्। उनको किताब पढेपछि प्रश्न उठ्छ– त्यसो भए गणतन्त्र आएर के भो त ?
उनले सुरुमै भनेका छन्– ‘समाजवाद सिहंदरबारको मात्रै पौरख होइन। समाजवाद आजैदेखि नै समुदाय र स्थानीय सरकारको विश्वासमा गरिने कुरा हो। पुँजीवादको चरम विकास पर्खिबस्ने कुरा होइन’। विकासलाई उनले स्थानीय विशेषतासँग जोडेका छन्। ‘स्थानीय विशेषता भन्नु मूलतः उपलब्ध प्राकृतिक स्रोत र संस्कृतिसँग जोडिएको चिन्तन प्रणाली हो।’ (पृष्ठ ४)
उनले विकास भन्ने कुरा सामुदायिक सक्रियतामा आधारित हुन्छ भन्ने विश्लेषण गरेर ‘नेपालमा विकास बिस्तारै वस्तुमा रूपान्तरित भयो। राज्यले जे दिन्छ थाप्ने। समुदायको ज्ञान, सिप र प्रविधि अब मन लाग्ने भयो। गाँउमा हुर्केका, संघर्ष गरेका, कठिन समयमा जीवन चलाएकाहरू नजान्ने भए। बाहिरियाहरू जान्ने भए।’ (पृष्ठ १०) भनेर आधुनिक विकासका कार्यकर्तालाई व्यङ्ग्य पनि गरेका छन्। उनले धेरै ठाँउमा ‘समुदायले आफ्नै सिप, लगनशीलता, कर्मठता र हातेमालो गरेर व्यवस्थापनका आधारमा काम गरेका थिए तर पञ्चायतकालमा पनि यो भत्काइयो, लोकतन्त्र र गणतन्त्रपछि त झनै विनाश भयो भन्ने दर्साएका छन्।’
उनको यो भनाइले कतिपय स्थानीय सरकारमा बस्नेहरूको विवाद, बदमासी, छट्टुपन आदिले विकास हुन नदिएको कुरा पनि ठाँउ ठाँउमा देखिएको छ। उदाहरणका लागि नेपालको परम्परादेखि चलिआएको आयुवेर्दिक प्रणालीलाई राज्यले एलोपेथिक अर्थात् आधुनिक चिकित्सा पद्धति भित्राएपछि ‘स्थानीय चिकित्साको प्रणालीको प्रभावकारिता देख्नै छोड्यो’ भन्ने औंल्याएका छन्।
उनको कुरासँग अहिले आधुनिक चिकित्साशास्त्र पढेका कतिपय डाक्टरहरू पनि सहमत हुन्छन् किनभने आधुनिक चिकित्साशास्त्रले मात्र जनस्वास्थ्यको समस्या समाधान गर्न सक्दैन भन्ने कुरा सबैले मनन गरिसकेका छन्। तर स्वास्थ्य मन्त्रालय र नेपाल सरकार यो कुरालाई अझ आत्मसात गर्न तयार छैन। त्यसैले स्वास्थ्यको कुरा गर्नेबित्तिकै अस्पताल, आधुनिक डाक्टर, अनेक उपकरण, आधुनिक औषधीको कुरा गर्छ स्वास्थ्य मन्त्रालय। हजाराैं वर्षदेखि जनताले प्रयोग गरिआएका वनस्पति, भोजन, संस्कारहरू जसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन्, तिनबारे बोल्न नै चाहँदैन। सायद यसैले होला, सिंहदरबारको वैद्यखाना नै बिमारी भएर बसेको छ।
आधुनिक जमानामा ‘पहिले सबै ठिक’ भन्ने कुरा मान्न सकिन्न तर सबै बेठिक पनि होइन भनेर किताबमा अनेक तर्क दिइएको छ। त्यसैले अहिलेको सन्दर्भमा पुरानोलाई जस्ताको तस्तै नक्कल गरेर होइन, अहिलेको समयलाई विश्लेषण गरी सामुदायिक आत्मनिर्भरताको बाटोमा हिँड्नुपर्छ भन्ने मान्यता लेखकले राख्छन्। अर्थात् लेखक नेपालका कतिपय कम्युनिस्टधारका साम्यवादमा विश्वास राख्ने र माक्सवादलाई काखी च्यापेर, छोड्नै नसक्ने गरी समातेर राखेका समाजवादी, साम्यवादी भन्दा पृथक् विचार राखेका छन्।
अहिलेको जमानामा दुई सय वर्षअघिको माक्सवादी दर्शनलाई समातेर ‘आर्थिक उन्नति’ गर्न सकिन्न भन्ने कुरा लेखकले स्पष्ट पारेका छन्। यो कुरा साम्यवादी नेताहरूले मनमनै ‘सत्य हो’ भने पनि बाहिर चाहिँ स्विर्कार्दैनन्।
नेपाली कांग्रेसलाई मन पर्यो बिपीको गाईवाला समाजवाद अर्थात् नाममा समाजवाद राख्ने कांग्रेस, कम्युनिस्टले काममा चाहिँ झिँगा मारेनन्। तर ‘सुकिलामुकिला’ भएपछि, सत्तामा पुगेपछि आनन्दसँग वर्षौं भन्ने नेता भएकाले नै नेपाल सबै कुरा भएर पनि पछाडि परेको मेरो ठम्याइ छ।
किताबमा उनले कसरी रैथाने ज्ञानको प्रयोग गरेर घाँसलाई पनि ‘पोषणयुक्त’ भोजन बनाएर चेपाङहरूले स्वाद मानेर खाँदा रहेछन् भनेर अनुभव लेखेका छन्। ‘एउटी महिलाले थुम्सेभरि केही घाँसजस्तो ल्याउनुभयो। घरका सबैले केलाउन थाले। म पनि केलाउन मिसिएँ। हेर्दाहेर्दे उनीहरूले त्यो सबै पकाए। मैले पनि खाएँ। त्यो जंगलबाट टिपेर ल्याइएको जिब्रे साग रहेछ। बेजोड मिठो थियो। (पृष्ठ ३०)
प्रकृतिमा भएको भोजन के खान हुन्छ, के खान हुन्न भन्ने ज्ञान चेपाङलाई प्रकृतिप्रदत्त नै थियो होला। चेपाङलाई विषालु च्याउ टिपेर नखाने तर खान हुने च्याउ खान जान्ने ज्ञान थियो। चेपाङसँग भएको रैथाने ज्ञान गुम्दै त छैन भनेर उनी डराउँछन् पनि। उनले चेपाङहरूको प्रकृृतिसँग नजिक भएर बाँचेको जीवनलाई राम्ररी नियालेर हेरेका छन्।
अपशोच, चेपाङहरूलाई श्री ५ महाराजाले ‘प्रजा’ भनिदिए। ‘प्रजा’को विकास गर्न अनेक संस्था खोलिए। तर ती सबै संस्था फुस्सा भए। अब ती चेपाङले न पढ्न जान्दछन् न रैथाने ज्ञान छ, न विकासको मूल धारमा समाहित भएका छन्। अहिले कति चेपाङ त क्रिस्चियन भएर ‘परमेश्वरलाई प्रार्थना’ गर्ने, जाडँरक्सी नखाने ‘ड्यु, कोक’ चाहिँ पानीको सट्टा खाने भएका छन्। सायद लोकतन्त्रपछि ‘प्रजा’ले गरेको विकास यही हो।
गिठ्ठाभ्याकुर खाने चेपाङ पाउन अहिले मुस्किल छ किनभने गिठ्ठाभ्याकुर मूर्खले, गरिबले खाने हो भनेर विकासे संस्कृति निर्माण भएको छ। अपसोच, सोमतले लेखेको कुरा मैले पनि मकवानपुर जाँदा अनुभव गरेकी छु। चेपाङहरू नयाँ विकासको मोडलमा आफ्नो ज्ञान हराएर बाँचेका छन्। समाजवाद, साम्यवाद, लोकतन्त्रको गीत गाएर नथाक्ने कम्युनिस्ट र काग्रेस नेताहरूको आँखामा समाजका यस्ता व्यक्ति झिनामसिना भन्दै कहिल्यै परेनन् भन्ने मेरो अनुभव थियो।
यो किताबमा मैले धेरै ठाँउमा महत्त्वपूर्ण मानेका, रमाइलो लागेका र अरूलाई पनि उदाहरण दिएर भन्न सकिने लाइनमा चिनो लगाएको छु। पछि हेर्दा त यो किताबमा धेरै पानामा धर्को लागेको रहेछ। विकासलाई खाली घर, भोजन र मोबाइल कोसँग कति छन् भनेर हेरिनु हुँदैन भन्ने ज्ञान यो किताब सामाजिक विकास पढ्ने पढाउने सबैलाई रोचक मात्र होइन, काम पनि लाग्छ।
मेरो आफ्नो कामको सिलसिलामा नेपालभरिका धेरै ठाउँ घुम्दा मलाई पनि रैथाने ज्ञान, वनस्पतिको उपयोग गरेर विभिन्न समस्या ठिक पार्ने समुदायको ज्ञानले धेरै कुरा सिकाएको हुनाले लेखकको किताबले मलाई मेरो विचार ठिक रहेछ भन्ने लागेको छ। उनले परम्परागत गुठीजस्ता सामुदायिक प्रचलनहरू अगाडि बढाउनुपर्छ भन्ने वकालत गरेका छन्। लेखकका जति अनुभव भएको भए पश्चिमा मान्छेले पिएचडी नै गरिसक्थे होलान्। लेखकले यो किताब निकालेर नेपालका विभिन्न ठाउँमा नपुगेका तर जान चाहनेका लागि गुन लगाएका छन्।
प्रकाशित: १३ पुस २०८१ ०८:१४ शनिबार