पारिवारिक अवस्था उज्यालो बनाउन कुवेत हिँडेकी सिन्धुलीकी २३ वर्षीया लासाल माया थिङ सधैंका लागि अस्ताएकी छन्। दुई बहिनी र एक भाइकी दिदी उनी भाइबहिनीलाई पढाउँछु भन्दै बिदेसिएकी थिइन्। विदेश पुगेको वर्षदिन मात्रै भएको थियो। कलिलै उमेरमा परिवारको खुसीका निम्ति बिदेसिएकी उनको बाटो मृत्युले छेक्यो।
उनको मृत्युको कारण धेरै ठुलो थिएन। कुवेत पुगेको केही समयमै उनलाई कहिले ज्वरो आउने त कहिले पेट दुख्ने गरेको परिवारलाई बताएकी थिइन्। कहिलेकाहीं ज्वरो आउनु सामान्य हो भन्दै कुवेतस्थित मेडिकलमा चेकजाँच गरेर उनी औषधी खाँदै सरसफाइको काममा लाग्ने गरेकी थिइन्।
सामान्य ज्वरो आउनु र पेट दुख्नुले मृत्युको मुखमा पुर्याउँछ भन्ने कल्पना पनि नगरेको उनको मृत्युको केही घण्टाअघि मात्रै परिवारलाई सुनाएकी थिइन्। कुवेतस्थित एक अस्पतालमा केही दिन भर्ना भएर उपचार गर्न नसकेर स्वदेश फर्किएकी उनको मृत्यु कात्तिक ९ गते भएको हो। लासालको मृत्युको कारण भनेकै मुखभित्रको घाउ थियो।
‘मुखमा ससाना खटिरा आएका छन्। उपचार गराएर औषधी खाँदैछु। बिस्तारै ठिक भइहाल्छ। अनि त म कामका लाग्नुपर्छ,’ कुवेतमा उपचार गराउँदै गर्दा उनले परिवारसँग सामाजिक सञ्जालमार्फत भनेकी थिइन्। उनको सजिलो पाराको कुरालाई परिवारले पनि पत्याएको थियो। उनका पिता पनि कमाइका लागि साउदी अरेबिया पुगेका थिए।
आफूलाई केही नभएको कुरा परिवारलाई बताएको लासालका काका बुम्साङले बताए। ‘घरकी जेठी छोरी थिइन् मेरी भदैनी। छोरी जानुभन्दा पहिल्यै दाइ साउदी गएका थिए। दाइको कमाइले घर खर्च धान्न नसकेपछि भदैनी पनि बिदेसिएकी हुन्,’ उनले भने, ‘काठमाडौंमा कम्प्युटर सिक्दै गरेकी लासाललाई युएईमा रहेकी उसकै माइजूले विदेशको रहर जगाएकी थिइन्। हट्टाकट्टा भदैनीले अकालमा ज्यान गुमाउनु पर्दाको पीडा परिवारलाई परेको छ।’
लासालका काका बुम्साङका अनुसार छोरीलाई गाह्रो भएपछि नेपाल आउन लागेको खबर हामीले थाहा पायौं। नेपालमा उपचार गराएर छोरीले पुनः कुवेत फर्किन्छु भनेकी थिइन्। तर, नेपाल आएपछि काठमाडौंस्थित केएमसी अस्पतालमा दुई साता उपचार गराउँदा गराउँदै यो बिरामी घर लैजानुस्, मुख पूरै पाकेको छ। अब तपाईंहरूको पैसा मात्रै खर्च हुन्छ भनेको उनले बताए। अस्पतालले पनि राख्न नमानेको र छोरीले पनि आफूलाई घरमै लैजानु भनेको लासालको भनाइ उद्धृत गर्दै बुम्साङले भने, ‘म अब बाच्दिनँ होला। यत्रो उपचार भयो, केही राम्रो लक्षण छैन। मेरा लागि बेकारमा किन पैसा खर्च गर्नुहुन्छ। मलाई घरमै मर्न मन छ। घर लैजानुस्।’
नेपाल फर्किएदेखि छोरीको साथमा आफू र उनकी आमा रहेको बुम्साङले बताए। उनका अनुसार दाइ केही समयअघि मात्रै छुट्टीमा घर आएर पुनः बिदेसिनुभएको थियो। अस्पतालले पनि हार खाएसँगै छोरीको रहर पूरा गर्न घरतर्फ लागेको उनी सम्झन्छन्।
‘सिन्धुली हामी रोसी खोला हुँदै जानुपथ्र्यो,’ उनले भने, ‘यो वर्षको बाढीले बाटो सबै बिगारेकाले अर्कै बाटो हुँदै घरतिर लाग्यौं। छोरीलाई धेरै गाह्रो हुँदै आएको थियो। भाउजूको काखमा छोरी मुर्छा पर्दै थिइन्। भाउजू आफू पनि सम्हालिन सक्नुभएको थिएन। आमाछोरीको रुवाबासी एम्बुलेन्समै चलिरहेको थियो। घरको दैलोमा पुग्नु र छोरीले पनि संसार छोड्नु सँगसँगैजस्तो भयो।’
आमाको हात समातेकी छोरीले सर्लक्क हात भुइँमा फालिन्। त्यसबखत रातको आठ पनि बजेको थिएन। साँझसँगै भदैनी सधैंका लागि अस्ताएकी काका बुम्साङले बताए। ‘घर पुगेर केही दिन बाच्छिन् भन्ने हामीलाई परेको थियो। मैले भाउजूलाई बाटोमा सम्झाउँदै ल्याएको पनि थिएँ, आत्तिनुपर्दैन। छोरीलाई अझै दुई चार दिन केही हुँदैन। आफ्नै हातले केही पकाएर खान दिनुहोला,’ लासालका काकाले नागरिकसँग भने।
घरको दैलोमा पाइला पर्नलाई उनको प्राण रोकिएको रहेछ। छोरीको अन्तिम इच्छा पनि घरमै जानु थियो। छोरीको मृत्यु हुनु अघिल्लो दिन मात्रै नजिकका आफन्तलाई अस्पतालकै बिस्तारामा बसेर फोन गरेको पनि उनले सुनाए। स्वदेशमा रहेका परिवारलाई मात्रै उनले फोन गरेकी थिइनन्। विदेशमा भएका पितालगायत अरूलाई पनि फोन गर्दै उनले भनेकी थिइन्, ‘अब मेरो अन्तिम कल यही हो। म धेरै बाच्दिनँ। तपाईंहरू आफ्नो ख्याल राख्नुस्।’
भदैनीको मृत्युपछि भाउजू पनि अचेत अवस्थामा रहेको बुम्साङ बताउँछन्। ‘अचानक छोरीको मृत्यु भएपछि भर्खर विदेश गएका दाइ पनि नेपाल फर्कन पाउनुभएन। मृत्यु भएकी छोरीको काजकिरिया सकेको पनि अहिले महिना दिन भइसकेको छ। तर, भाउजू अझै होसमा आउनुभएको छैन। मेरै पत्नीले खाना बनाएर खुवाइरहेकी छिन्,’ मृतक लासालका काकाले भने।
वैदेशिक रोजगार बोर्डले श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा हकवालालाई सात लाख रूपैयाँ दिने गरेकोमा गत कात्तिक ९ गतेबाट १० लाख रूपैयाँ दिन थालेको छ। बुम्साङले आफ्नी भदैनीको मृत्यु भएको सबै कागजातसहित बोर्डमा निवेदन दिएको हुँदा लासालका हकवालाले पनि १० लाख रूपैयाँ पाउने जानकारी बोर्डले गराएको छ।
वैदेशिक रोजगारीमा कमाउन मलेसिया गएका २६ वर्षीय संखुवासभाका निमा ग्याल्जे शेपा पनि मृतक अवस्थामा नेपाल फकिएको दुई साता भएको छ। उनको मृत्यु हुनुमा कुनै ठुलो रोग कारण थिएन। न कुनै दुर्घटनामा उनको मृत्यु भएको हो। उनको मृत्यु हुनुमा आफ्नै रोजाइ थियो।
मलेसिया पुगेको १८ महिना नपुग्दै उनले आत्महत्या गरेका हुन्। दिनभरि काम गरेर कम्पनीले बस्न दिएको कोठाको बाथरुममै उनले आत्महत्या गरेको खबर सँगै काम गर्ने साथीमार्फत परिवारसम्म आएको थियो।
निमाका दाइ लाक्पाका अनुसार अघिल्लो दिन मात्रै आमा र हामीसँग राम्रै बोलेको मान्छेले किन आत्महत्या गरेको हो भन्नेमा अन्योल छौं। सबैसँग हाँसीखुसी बस्ने भाइलाई अचानक के भयो थाहा भएन। कुनै केटीको चक्करमा परेको पनि थाहा नभएको लाक्पाले बताए।
‘एकै आमाका हामी सात दाजुभाइ र तीन दिदीबहिनी छौं। निमा भाइहरूमध्येको छैटौं हो,’ लाम्पाले भने, ‘उसको विवाह पनि भएको थिएन। आमाबुबालाई धेरै माया गर्ने उही भाइ थियो। सबै दाजुभाइ नेपालमै छौं। तर, निमा मात्रै विदेश गएको थियो। कसरी यस्तो भयो केही थाहा छैन।’
लाक्पा भन्छन्, ‘कात्तिक २६ गते भाइ झुन्डिएको अवस्थाको फोटो मोबाइलमा आयो। हामी हेर्न नसक्ने अवस्थामा थियौं। घरमा रुवाबासी चल्यो। गाउँकै भाइहरू पनि त्यही कम्पनीमा निमासँगै काम गर्थे। उनीहरूले नै निमाले आत्महत्या गर्यो भनेर खबर गरे।’
आफू त छोरा मान्छे मन कठोर बनाएर बसेको छु, तर आमा र बाबालाई सम्हाल्न नसकेको पीडा उनले सुनाए। मातापितालाई छोराछोरी घरभरि भए पनि एक सन्तान मात्रै कम हुँदा ठुलो पीडा हुने गरेको लाक्पा बताउँछन्। ‘आमाबुबाका दश छोराछोरीमध्ये निमाको मृत्युपछि नौ सन्तान घरमै थियौं। हामी छौं पिर गर्नुपर्दैन भनेर बाउआमालाई कति सम्झायौं। तर आमा निमाको शोकमा अझै उठ्नुभएको छैन,’ उनले भने।
उनका अनुसार अर्काको ठाउँमा भाइले किन त्यस्तो गर्यो केही थाहा छैन। घरपरिवार सबैसँग मात्रै होइन, अरूसँग पनि हाँस्नेबोल्ने मिजासिलो थियो। निमाले हरेक महिना बाउआमालाई १५/२० हजार रूपैयाँ पठाउने गरेको लाक्पाले बताए।
‘निमालाई विदेशमा दुःख थियो कि सुख त्यो त थाहा भएन। तर, हामीलाई त राम्रै छ भन्थ्यो। मर्ने त मरेर गए तर बाच्नेलाई जिन्दगीभर रुवाएर गयो,’ उनले भने। मृतक निमाको परिवारले बोर्डमा निवेदन दिएसँगै कल्याणकारी कोषबाट दश लाख पाउने भएका छन्।
त्यसैगरी बाराका ३९ वर्षीय विजय पासवान पनि साउदी अरेबिया गएको दुई साता नहुँदै स्वदेश फर्कनुपरेको थियो। स्वदेश फर्कनुमा उनको रहर थिएन, बाध्यता थियो। साउदीमै करिब चार वर्ष बसेर घर फर्किएका पासवान पुनः वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका थिए।
पत्नीलाई घरबार र सन्तान जिम्मा लगाएर परदेसिएका उनी काम गर्ने ठाउँमै बिरामी पर्न थाले। पासवानका दाजु रामका अनुसार विजय साउदी गएको १५ दिन जति भएको थियो होला, अचानक कम्पनीले नेपाल फर्काइदियो। ब्रेन ट्युमर भएर साउदीमा अपरेसन गरे पनि भाइ बाँच्ने नभएपछि घर फर्काइदिएको हो। तर, नेपाल ल्याएर पनि बचाउन नसकेको राम बताउँछन्।
‘बिदाइ गरेर पठाएको भाइलाई दुई सातापछि बेहोस अवस्थामा देख्नुपर्यो,’ विजयका दाइ राम भन्छन्, ‘हामीले सिधै वीर अस्पताल पुर्याएका पनि हौं। त्यहाँबाट पनि बाँच्नेवाला छैन, तपार्इंको बिरामीलाई घरमै लैजानुस् भने। त्यति भन्दाभन्दै भाइको प्राण कात्तिक २६ गते वीर अस्पतालमै गयो।’
विजय तीन छोराका पिता थिए। ती छोराहरू आफ्नी पत्नीलाई सुम्पिएर सधैंका लागि बिदा भएका छन्। ‘भाइले न चुरोटरक्सी खान्थ्यो, न त झैझगडा नै कोहीसँग गथ्र्यो। एकदम सिधा मान्छे हो। तर, भगवान्ले पनि उसैलाई छानेर लैजानुभयो। मेरी आमा त केही वर्ष पहिले बित्नुभएको हो। तर, छोरा बितेको वियोग बुबालाई छ,’ मृतक विजयका दाइ रामले भने।
कक्षा दशमा पढ्दै गरेका विजयका जेठा छोरा पढाइलाई पूर्णविराम दिएर सडकको काममा लाग्न थालेको रामले बताए। ‘हामीले पढेका छैनौं, तेरो बाबाले तिमीहरूलाई पढाउन धेरै दुःख गर्नुभयो। तिमीहरू पढ, म तिमीहरूको बाबाजस्तै भएर खडा छु भन्दा मानेनन्। आमाको बिजोक देखेर होला, जेठोले पढाइ छोडेर काम गर्नतिर लाग्यो,’ रामले भने।
राम भन्छन्, ‘भाइ बितेदेखि नै बुहारीले पनि खाना खाएकी छैनन्। मेरी पत्नीले कति फकाउँछिन्। तर, बुहारीको मन ओभानो भएको छैन। उसको मन ओभानो बनाउन यसो मोबाइलमा गीतहरू बजाइदिने गरेका छौं। कमसेकम त्यो संगीतको धुनले उनलाई भुलाएको त छ।’
विजयको मृत्युको सबै कागजातसहितको निवेदन बोर्डमा बुझाएको राम बताउँछन्। उनीहरूले पनि बोर्डबाट दश लाख रूपैयाँ पाउने भएका छन्।
वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा चालु आर्थिक वर्षको मंसिर ११ गतेसम्म चार सय ७७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०६५/६६ देखि २०८१/८२ को मंसिर ११ गतेसम्म १४ हजार एक सय ४४ जनाको मृत्यु भएको देखिएको छ।
कामका लागि विदेश गएकामध्ये दैनिक सरदर तीन नेपालीको शव आउने गरेको बोर्डको तथ्यांक छ। यो तथ्यांक बोर्डबाट मृतकका आफन्तले आर्थिक सहायता पाएको विवरणका आधारमा निकालिएको हो। वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग हुने र मृत्यु भएका व्यक्तिका हकवालाले आर्थिक सहायता पाउँछन्। यो सहायता पाउन श्रमिकले श्रमस्वीकृति लिएको हुनुपर्ने, श्रम स्वीकृति नवीकरण गरेको हुनुपर्ने र बिरामी वा मृत्यु भएको वर्ष दिनभित्रै बोर्डमा निवेदन दिनुपर्ने कानुनी प्रक्रिया छ।
सिप नसिकीकन बिदेसिने नेपाली कामदारको संख्या बढ्नुले पनि जोखिम बढाएको बोर्डका सूचना अधिकारी टीकाराम ढकाल बताउँछन्। ‘विदेश जाँदा नेपाली नागरिक नै सचेत हुन जरुरी छ,’ ढकालले भने, ‘तालिम र सिप केही नलिईकन विदेश जाने प्रवृत्तिका कारण पनि जोखिम बढेको हो। कानुनी प्रक्रिया पूरा गरेर कामका लागि विदेश जानेको तथ्यांक मात्रै हामीसँग हुन्छ। अवैध रूपमा विदेश गई मृत्यु र बिरामी तथा अंगभंग हुनेको संख्या हामीसँग हुँदैन।’
मानसिक तनावका कारण कतिपयले विदेशमै आत्महत्या गरेका छन्। कतिपय वातावरण नमिल्दा बिरामी हुने र कतिपय सोचेजस्तो नहुँदा ‘डिप्रेसन’मा जाँदा पनि जोखिम निम्तिने गरेको उनको तर्क छ। कामका लागि बिदेसिएका नेपालीमध्ये कडा रोग लागेर बिरामी हुने, कामका क्रममा अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको बोर्डको तथ्यांक छ।
खाडी मुलुक र मलेसियामा कार्यरत नेपालीमा मिर्गौंलाको समस्या पनि बढी देखिएको जानकारी सूचना अधिकारी ढकालले दिए। ‘दुर्घटनालगायत अन्य कारणले भन्दा पनि सुतिरहेको अवस्थामा मृत्यु हुने कामदारको संख्या बढी छ। सम्बन्धित मुलुकको अस्पतालमा पोस्टमार्टम गर्दा पनि मृत्युको खासै कारण खुल्दैन,’ उनले भने।
प्रकाशित: १५ मंसिर २०८१ ०७:४१ शनिबार