११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

हजुरबाको गाउँमा पुग्दा

नियात्रा

प्रिय स्वर्गीय हजुरबा!

मर्त्यमण्डलबाट साष्टाङ्ग दण्डवत। आगे म यो पृथ्वीमा सकुशल छु। स्वर्गमा हजुर पनि सकुशल हुनुहुन्छ होला भन्ने आस गरेको छु। त्यसो त धर्मका ...हरूले बयान गरेबाहेक स्वर्गका बारेमा मलाई केही थाहा छैन। थाहा हुने कुरा पनि होइन। मानिसहरूका विश्वास/अन्धविश्वासले निर्माण गरेको काल्पनिक ठाउँ हो स्वर्ग।

म यतिबेला हजुरलाई मत्र्यमण्डलको नेपाल खण्डबाट अग्घोरै सम्झिरहेको छु। हजुर हिँडेका बाटा, गाएका श्लोक, बोलेका बोलीले ल्याएका आलोक तथा अन्तरदृष्टिले मलाई झझल्को लगाइरहेका छन्। भावपरक बनाइरहेका छन्।

जीवनका अन्तिममा झन्डै १५ वर्षको समयावधिसम्म हजुरको जन्मस्थान सिम्पानीको नाम मेरैसामुन्नेमा धेरैपल्ट जप्नुभएको थियो। तथापि भौतिक देहका असमर्थताले सिम्पानी जान पाउनु भएन। अलौकिक आत्मा सायद सिम्पानीमा पुगिरहन्थ्यो। हजुरको सान्निध्यमा म यही बोध गर्थेँ। जन्मभूमिप्रतिको माया पनि कस्तो अचम्मको गाढा हुँदो रहेछ भन्ने कुरा मैले हजुरको सिम्पानी जपाइबाट नै थाहा पाएको हुँ।

मैले जानेको/सुनेको नै कुरा हो हजुर्बा, हजुर विसं १९५४ सालमा खोटाङ जिल्लाको सिम्पानीमा जन्मिनुभएको थियो। २ दाजु र दुई भाइका साथमा १४ वर्षको उमेरदेखि सप्तरीको ढकबहादुर सिजापतिको मौजा दौलतपुर हाल कञ्चनरूप नगरपालिका वार्ड नं. १२ मा हालावादी वन फँडानी गरी खोरिया जोरेर बस्नुभयो। अठार वर्षको उमेरमा पूर्ण रूपमा बसाइँसराइ गर्नुभयो। औलोका प्रकोपसँग जुद्धै कालाज्वरसँग लाप्पा खेल्दै शरीरका गोरो छालालाई डढाउँदै जीवनयापन गर्नुभयो। चितुवासँग भिड्नुभयो। गीता चिन्तन गर्नुभयो। गृहस्थभित्र सन्यास जीवन बिताउनुभयो। ९४ वर्षको उमेरमा महाप्रस्थान शुरू गर्नुभयो। सिम्पानीमा पोखरेल वंश स्थापना गर्ने सदानन्दबाट गञ्जकेशर, मोतिलाल, श्यामलाल वा नन्दलाल, दैवदत्त, उद्धव हुँदै म खेमराज जन्मिएको कुरा हजुरले बताएकै हो। वंशावली पनि त्यसै भन्छ।

प्रिय हजुरबा!

हजुरको महाप्रस्थानपछि मेरा मनमा ‘कस्तो छ त्यो सिम्पानी’ भन्ने कुराको सधैँ उलार आइरहन्थ्यो। त्यसैले मैले सिम्पानीको यात्रा शुरू गरेको छु। अर्थात् हजुरको महाप्रस्थानको ३३ वर्षपछि मेरा लागि यो साइत जुरेको छ। हजुर सिम्पानीबाट सप्तरीमा बसाइँ सरेको झन्डै ११० वर्षपछि म सिम्पानी जान पाइतो सार्दैछु। जाँदैछु र आँखाले देखेको सिम्पानीको अवस्था यही पत्रमार्फत् प्रस्तुत गर्दैछु।

२०८१ सालको तिहारको याम हो यो। मैले कुम्लोकुटुरो तयार पारेको देखेर मेरा ९१ वर्षीय पिता उद्धवप्रसाद पोखरेलले भन्नुभएको छ, “कृष्ण! तिहार आएका बेला सेल रोटी खाएर घर बस्नुको सट्टा अर्काको घरतिर जान्छस्? गाउँ डुलुवा हुन्छस्?”

म सकेसम्म पितृभक्त हुन मन पराउँछु। तर सिम्पानीको सवालमा मैले मेरा वृद्ध पिताको कुरा मानिनँ। हजुरबाको सम्वेदनाले मलाई डोर्‍याएको छ। म हिँडेको छु सिम्पानीतिर। कात्तिक महिना भएकाले चिसोचिसो हुन थालेको छ। १४ गते कुकुर तिहारको दिन मैले पाइतो सारेको छु उदयपुर जिल्लाको बसाहातिर। हेडसर कुमार खड्काको घरमा बास बसेको छु। चोकैमा रहेको नारदमुनि थुलुङको सालिकको अगाडि उभिएर तस्बिर खिचेको छु।

नारदमुनि थुलुङलाई त चिन्नुभयो नि हजुरबा! भोजपुर घर भएका २००७ सालको आन्दोलनका अगुवा र योद्धा हुन्। बसाहा बस्तीको स्थापना उनै नारदमुनि थुलुङले गरेका हुन्। त्यतिबेला उनी मन्त्री पनि भएका थिए। नारदमुनिका कथा सुनाउनुहुन्थ्यो नि। हो, तिनै नारदमुनि थुलुङ हुन्।

१५ गते म बिहानै उठेर गाईघाटतिर लागेको छु। गाईघाटबाट कोशीको रसुवाघाटसम्म बसमा पुगेको छु। झोलुङ्गे पुल तरी खोटाङ जिल्लातिर प्रवेश गरेको छु। फेरि पारिपट्टिको बसबाट सिम्पानीतिर लागेको छु। भर्खरै आएको बाढीले फोक्सिङटारमा निर्मित कोशीको पुल बगाएकाले कोशी किनारै किनार रसुवाघाटतिर जानुपरेको हो।

बाढीले पुल मात्र बगाएन; खण्डास्मित सडकलाई पनि ध्वस्त पारिदिएकाले सडकको अवस्था जीर्ण छ। दयनीय छ। यद्यपि स्थानीय मानिस त्यही सडकलाई विकासको मूल फुटेको देख्दै छन्। सायद विकास पनि समयसापेक्ष वा परिवेशीय हुन्छ होला।

रसुवा घाटको झोलुङ्गे पुलको मुखैमा भरियाहरू डोको बोकेर उभिएका छन्। किनारमा ‘बालश्रम उन्मुक्त पालिका’ लेखिएको साइनबोर्ड छ र डोको बोकेर उभिएको एउटा बालक भरियालाई मैले सोधेको छु, “बालखैमा भारी बोकिरहेका छौ। ए भाइ! स्कुलचाहिँ जान्छौ कि जान्नौ?”

उसले पनि भारी मनले उत्तर दिएको छ, “भारी बोकेर पैसा कमाउँछु, अनि स्कुल गएर कक्षा ५ मा पढ्छु।”

उसको त्यो उत्तरमा म बालश्रमबारे सोच्छु। त्यो बालक भरियाले भारी नबोके के खाँदो हो? कसरी खाँदो हो? कसले खुवाउँदो हो? बालश्रम निषेधकर्ताले यसबारे सायद सोचेका छैनन्। त्यसै पनि नेपाली सभ्यता र परम्परामा बालश्रमका बारेमा चिन्ता गरिएको पाइन्न।

हुन त हजुरबा! त्योबेला सिम्पानीबाट मधेस धाउँदा केही दिन हिँड्नुपथ्र्यो। अहिले धुले तथा खण्डास्मित नै भए पनि हजुरको सिम्पानीमा बाटो पुगेको छ। सार्वजनिक यातायात चलेको छ। सिम्पानेहरूले निजी मोटरसाइकल चढेका छन्। अर्थात् विकास पुगेको छ।

अनि नि हजुर्बा!

लक्ष्मी पूजाको दिन ६ बजे साँझ म रसुवाघाटबाट माथ्लो लिच्कीराम्चे, तल्लो लिच्की, बाघेढुङ्गा हुँदै सिम्पानी पुगेको छु। म पनि अलिकति नपुग सत्तरी वर्षको भएँ। बुढ्यौली लाग्यो कि क्या हो, थाकेर चुर भएको छु। मैले सिम्पानीमा कसैलाई चिनेको छैन। गाईघाटमा दलबहादुर खड्काको घरमा जान साथीहरूले सुझाएका थिए। तर, रात परेको छ। मेरो थकान यति जब्बर छ कि मैले होटलमै बास बस्ने निधो गरेको छु। उषा नाना होटलमा बास बसेपछि त्यसकै अगाडिको घरदोकान भएका थीरप्रसाद पोखरेलसँग परिचय भयो। भाइ रहेछन् धिरप्रसाद। उनकै घरमा खाना खाएको छु।

बास बसेपछि म सोचिरहेको छु। पहाडी बाटोमा एकपछि अर्को साँघुरा सडक डाँडा चिर्दै, कोतर्दै, उक्लिँदै, ओह्रालिंदै, भञ्ज्याङ, चौतारी र देउरालीमा गुड्दै सिम्पानी पुगेको दृश्य झलझली आइरहेको छ।

बसको अवस्था निकै कमजोर थियो। त्यसभित्र बसेका यात्रुको अवस्था झन् नाजुक थियो। बसको करिडोरमै पल्यात्त परेर निस्तेजजस्ती भएर सुस्ताएकी भिडकी सुन्दरीको बाध्य अनुहारमा टोलाएको थिएँ। अबडेखबडे धुलाम्मे घुम्ती बाटोमा बान्ता गरेर थाकेको अनुहार हेर्दै विदीर्ण देखिएको यात्रुदृश्य मेरा मानसपटलमा घुमिरहेको छ। यस्तोमा पनि तिहार मान्न पहाड उक्लेका साहसी चेलीहरू बच्चा बोकेर बसभित्र खँदारिएका थिए। अनुहारमा भने तिहार मान्न हिँडेको रौनक थियो। तर म भने मैले पहिले नै बाटाको अवस्था थाहा पाएको भए यो यात्रा गर्ने थिइनँ सायद। तर स्थानीयका लागि भने दालभात हो यो यात्रा। यो बाटो। यो अवस्था।

हजुरबालाई थाहै छ, पृथ्वीनारायण शाहको एकीकरणभन्दा पहिले माझ किरातको एउटा भाग हो सिम्पानी। वर्तमानमा खोटाङमा राईकिरातको सङ्ख्या लगभग ४१ प्रतिशत छ। अन्य मङ्गोल र आर्य मिलाएर बाँकी प्रतिशत बोकेका छन्। इतिहासको एउटा कालखण्डमा खोटाङ भूमिमा सेन राजाहरूको शासन थियो। चौदण्डीगढी सदरमुकाम थियो। पृथ्वीनारायण शाहको एकीकरणपछि मात्र बृहत् नेपालमा गाभिएको हो सिम्पानी। त्योभन्दा पुरानो इतिहासमा जाने हो भने लोककथाकालसम्म पनि पुग्न सकिन्छ। यो कालमा सिम्पानीसहितको ठूलो भूभागमा किराती राजा खोटेहाङले शासन गर्थे। उनकै नाममा खोटाङ जिल्लाको नामकरण गरिएको सन्दर्भ मैले यहाँ उल्लेख गरेको छु। खोटाङ जिल्लाको सदरमुकाम पनि खोटाङ बजार नै थियो दिक्तेल बजारमा सारिनुभन्दा पहिले।

मेरा प्रिय स्व. हजुर्बा!

हजुरले ‘पोखरेलको हालीमुहाली भएको सिम्पानीमा राईको प्रवेश भयो’ भनेर दिक्क नमान्नू। इतिहास गौरव हो सन्ततीको। सभ्यताको। राई वंशीय खोटेहाङ पनि गौरव हो समग्र नेपालीको। अर्थात् समग्र नेपालीको इतिहास हो खोटेहाङ। नेपालीका पुर्खाले विकसित गरेको सभ्यताको प्रतीक हो खोटेहाङ। यही कुरालाई सम्बोधन गर्न हाल खोटेहाङ गाउँपालिकाको निर्माण भएको छ। र, अहिले हजुरको सिम्पानी त्यही खोटेहाङ गाउँपालिकाको एउटा वार्ड हो।

हजुर जन्मेको बेला पोखरेल, घिमिरे र खड्का मात्रको हालीमुहाली थियो सिम्पानीमा। वर्तमानमा ५/७ फुटकर घर पोखरेलका, १ घर घिमिरेको र केही घर खड्काको मात्र छ।

अहिले राईहरूको पातलो प्रवेश भएको छ सिम्पानी बजारमा। राजनीतिले जातिवादी नारा उचालेको बेलामा पनि सिम्पानीमा सहिष्णुता छ। राईहरू दसैँ मानिरहेका छन्। तिहार मानिरहेका छन्। क्षेत्रीबाहुनहरू राईका चाडमा हर्ष साट्छन्। मतवाली तथा तागाधारी आफूआफूमा साइनो लगाएर मात्र बोल्छन्। हेर्दा लाग्छ सिम्पानीको पूरै गाउँ एउटा परिवार हो।

हजुरलाई सिम्पानीमा भेटेका थिए रे दलबहादुर खड्काले। उनी अहिले ९६ वर्षका भए। उनैसँगको कुराकानीका आधारमा मात्र मैले हजुर जन्मेको खायल पत्ता लगाउन सकेँ। खटियामा गीताको पुस्तक अड्याएर पाठ गर्दै थिए दलबहादुर खड्का। कानमा विगुत, निधारमा चन्दन, गलामा रुद्राक्षको माला धारण गरेका हँसिला दलबहादुरमा मैले एकछिन हजुरकै रूप देखेँ। उनले त्यो बेलाको सिम्पानीको अवस्थाबारे अनुभव सुनाए। अनि नि हजुर्बा! यी दलबहादुर खड्काचाहिँ मेरा कान्छा हजुर्बा अर्थात् हजुरका साखै कान्छा भाइ गीतागुरु हरिप्रसाद पोखरेलका चेला रहेछन्। उनले आफ्ना गुरुप्रति श्रद्धाले शिर निहुराएका छन्। म गुरुनाति भएको छु। कुलगर्वले पल्लवित छु।

सिम्पानी बजारको मध्य भागमा पोखरेल र खड्काको प्रभाव क्षेत्रको साँधसिमाना छुट्याउन जमिनमुनि फलामको किला गाडिएको रहेछ। त्यस ठाउँलाई लोहकिल भनिने रहेछ। हजुर बारम्बार लोहकिलको सुन्दरताका बारेमा भन्नुहुन्थ्यो। लोहकिलको छेउमा हजुरले देखेको भोगेको पोखरी अहिले पुरेर सम्याएका छन्।

लोहकिलको भ्रमणपछि म रङ्गलालपट्टिका भाइ ध्रुवसँग तपाईँले पानी खाने गरेको धारापानीतिर मोडिएको छु। बनमारा तथा कान्छीनानीका झ्याङ छन् बाटामुन्तिर। अलिअलि ओह्रालो, अलिअलि तेर्सो गर्दै धारापानी पुगेको छु। धेरै ठूलो भन्न नमिल्ने तर हिँउदबर्खा केही नभनी लगातार झर्दै गरेको पानीधाराले बनाएको ओखलमुखे ढुङ्गा मात्र पनि आकर्षक छ। हो यही धारा हो जहाँ हजुरले नुहाउनुभयो, लुगा धुनुभयो, पानी खानुभयो। यतिबेला म किनकिन पुलकित छु। भावनामा बगेको छु। त्यसैले पानी अचाएर हिँडेको छु।

हजुर जन्मनुभएको घरको जमिनमुनिको गाह्रोको ढुङ्गा तथा त्यसले बनाएको राँहटा अझै छन् हजुर्बा। त्यही ढुङ्गालाई साक्षी राखेर मैले तस्बिर खिचेको छु। सिम्पानीमा जङ्गल फाँडेर पोखरेलको पहिलो बसोबास गराउने पुर्खा सदानन्दको खायल पनि हजुर जन्मेकै घरखायलको साँध रहेछ। अहिले सो जग्गामा परशु कार्कीको स्वामित्व रहेछ। त्यसकै परतिर तपाईहरूले बेचेपछि जन्तरी आमैले रोपेको वरपीपल अझै रहेछन्। तपाईँले हिँडेको पुरानो बाटो पनि जस्ताको तस्तै रहेछ। अहिले त्यो तपाईँको खायल जग्गामा केही उत्तिसका रुख छन्। फलफूलका रुख छन्। यसबाहेक कान्छीनानी र बनमारा झारले साम्राज्य बनाएको छ। हजुरले नाचेको खेलेको सिम्पानीमा अब हजुरलाई चिन्ने कोही मान्छे छैनन्। समयको गर्तमा हराएको छ परिचय।

सिम्पानीका पुराना मान्छेले मलाई स्मरण गराए “यो भेगमा पोखरेलहरू मुखिया, डिट्ठा, तहविलदार थिए। खुब तगझग थियो। यो भेगको मुद्दा तिनै पोखरेलले हेर्थे तर आज त्यही भेग बिरानो भयो। पोखरेललाई पाल्ने त्यो पाखो झाडीमा परिणत भयो। वनमारा र कान्छीनानीको कब्जामा पुग्यो। बाँदरको राज भयो। कमाउने कोही छैन। हुनेखाने विदेशिए।”

म यतिबेला सम्पत्ति, सौर्य र सौन्दर्यबारे सोचिरहेको छु। तिनताक सिम्पानीमा पोखरेलको सम्पत्ति, सौर्य र सौन्दर्य विलुप्त भएको छ। विलुप्तता नै जीवनको अन्तिम सत्य हो भन्ने कुरा बुझेको मैले  सिम्पानीलाई म के जवाफ दिऊँ?

हजुर्बा ! म ध्रुव भाइसँग छु। अब बिस्तारै उनकै घरतिर जाँदैछौँ। उनको घर पनि धारापानीको माथिल्लो पाटो त रहेछ। ध्रुव भाइको बारीमा पुग्नेबित्तिकै हराभरा छ भूमि। कोदो, धान, सुन्तला, केरा, अभाकादो आदि छन्।

गाईपूजाको दिन परेको छ आज। ध्रुव भाइको घरमा गाईपूजा गरिँदै छ। म भने थालभरि ताजा सुन्तलासँग जिब्रो भिजाउँदै छु। आलो घिउसँग भात खाँदै छु। सायद २० वर्षअघि त्यसरी घिउभात खाएको थिएँ। पछि त शरीरका जुइनु खुकुलो हुन थालेपछि भने घिउ सुँघेको मात्र छु। सिम्पानीको पानी, सावा खोलाबाट आउने चिसो बतास, सूर्यले दिएको पहारिलो रापमा म रमेको छु। यसै बिच धु्रव भाइले भन्नुभयो “अहै! कुलका देवता तथा मन्दिर हेर्न खाना पो खाइसकियो त? अब के गर्ने?”

मैले भनेको छु “हाम्रा कुल आफ्ना सन्तानले लाएको खाएको देख्दा खुसी हुन्छन्। पाप लागे मलाई लाग्छ। लु हेरौँ कुलको सक्कली र पुरानो मन्दिर। पुर्खाले कर्णाली प्रदेशबाट बोकिल्याएको कुल देवताको मान्यता।”

हामी घरको बुइँगलमा चढेका छौँ। बुइँगलको एकाछेउमा मान्द्राले बेरेको स्थानमा दियो, खम्बामा झुन्ड्याइएको चमर तथा पेरुङ्गामा झुन्ड्याइएको केही दियो तथा अन्य कुरा थिए। त्यसरी कुलका देवतालाई महिलाले हेर्न नहुने भएकाले मान्द्राले घेरबेर गरेर राखिएको हो। हो यो त्यही चम्मर थियो जसलाई हातमा लिएर हजुर ‘हेर! हेर!! कालामष्ट हुँ’ भनी धामी बस्नुहुन्थ्यो। देवालीमा गतिलो धामीको भूमिका निर्वाह गर्नुभएको थियो। कुलको दीप प्रज्ज्वलित भइरहेको छ। सायद अविच्छिन्न। तर सदानन्दका दाजु रामेश्वरका जतनपुर खायल भएका दाजुभाइले भने बलिप्रथामा आधारित देवाली पूजा परम्परा २०१४ सालदेखि परित्याग गरेका छन्। मेरा विचारमा पनि यसरी बोकाको बलि दिने देवाली पूजा अब बदलिएको परिवेशमा परित्याग गर्नुपर्छ जस्तो लाग्छ।

अनि नि हजुर्बा मलाई हाम्रा कुलको देवतालाई महिलालाई हेर्न नदिने प्रचलन भने मन परेन। कुलका देवताले त्यसरी महिला र पुरुष भनेर किन विभेद गर्दा हुन्! महिला र पुरुष दुवै देवताकै सृष्टि हुन् भनिन्छ। अनि फेरि पनि विभेद गर्छन् भने के देवता भए ती!

हजुरलाई पक्का पनि मेरा कुरा मन परेन होला। तर म त यसरी महिला र पुरुष भनेर विभेद गरेको कुरा मन पराउन्न। चाहे पुर्खाले गरेका हुन्, चाहे देवताले गरेका हुन्, चाहे मान्छेले गरेका हुन्। नाजायज परम्परा फेरिनुपर्छ भन्ने मेरो मान्यता छ।

कुल देवताको दर्शन गरिसकेपछि म सिम्पानीमा रहेको हाइस्कुल, कलेज तथा स्वास्थ्य केन्द्रको अवलोकन गर्दै अर्को भाइ रामबाबु पोखरेलको घरतिर लागेको छु। तपाईँ छक्क पर्नुभयो होला हजुर्बा, सिम्पानीमा पनि हाइस्कुल, कलेज, स्वास्थ्य केन्द्र! हो तपाईँले त्यो कुरा देख्न, सुन्न, भोग्न तथा कल्पना गर्न पाउनु भएन। लगभग निरक्षर हुनुभयो । तर अटल खत्रीले पश्चिमबाट ल्याएको गीता मार्गको भने साधक हुनुभयो।

तपाईको सिम्पानीमा बाटो पुगेको छ। बिजुली बत्ती पुगेको छ। अब हजुरले झैँ उज्यालो पार्न सल्लोको दियालो बाल्नु पर्दैन सिम्पानीले। मधेसबाट मट्टितेल बोकर धिब्री डिबिया बाल्नु पर्दैन सिम्पानीले। टेलिफोन पुगेको छ। तर मान्छे निख्रिएका छन्। बस्ती बाटैबाटो थप सुविधाका लागि बहकिएको छ। पलायन भएको छ। हैकम चलाएर बसेका पोखरेल अहिले पलायन भएका छन्। हजुरले लगाउने भोटो कछाडलाई सर्ट प्यान्टले, हजुरआमाले लगाउने बाह्र हाते फरियालाई सुरुवाल कुर्ताले प्रतिस्थापन गरेको छ। अब ढिँडोको साटो चाउचाउ खान थालेको छ सिम्पानीले। घरबुना कपडालाई चाइनिज लत्ताकपडाले बिदा दिएको छ। सायद समय हो यो हजुर्बा।

त्यहाँ पुरानो तथा पोखरेलले बनाएको गणेश मन्दिर भने जीर्ण भए पनि अस्तित्वमै छ। मूर्तिभित्र गणेशलगायत् अन्य देवता गहिरो गर्भगृहमा रहेछन्। गणेशकै मन्दिरका बाहिरपटिट भित्तामा भैरव नामको ढुङ्गो रहेछ, त्यहाँ दसैँमा दिएको बलिको रगतका टाटा देखिएका छन्। गणेशको मन्दिरमा बलि भन्नु पनि धार्मिक सहिष्णुताको नाम हो। उदाहरण हो।

म सिम्पानी बजार डाँडामा छु। एकातिर ट्वा खोलाको बहाब क्षेत्र देखिएको छ। अर्कातिर सावा खोलाको बहाब क्षेत्र देखिएको छ। धु्रव भाइ मलाई अथ्र्याउँदै छन,

 “उः त्यो सिम्पानीपारिको नाङ्गेडाँडा, कात्तिके, मुसमुसा, तारेभिर, मझुवा, कसेरी आदि सबै ठाउँमा पोखरेलका बस्ती थिए।”

म हेर्दैछु। परपर देखिएका छन् ती।

दाजुभाइसँग सिम्पानीका पोखरेलको छोरो जन्मिँदा कोशीमा पाठी पूजाको प्रचलन अर्थात् बलि दिने प्रचलनका बारेमा कुरा भए। म जन्मँदा पनि हजुरहरूले कोशीमा पाठीको बलि दिनुभएको थियो भन्ने कुरा भन्नुहुन्थ्यो। यतिबेला म सम्झिरहेको छु, किन पो त्यो बलि दिनुपथ्र्यो होला? संसारबाट बलिप्रथा विलुप्त भइसकेको अवस्थामा पनि कोशी नदीमा पाठी काट्नुको के अर्थ?

यसैगरी हजुरले धामी बस्दा भन्ने गरेको कुलपूजा परम्पराको पद्धति, बाह्र भाइमध्येको काला मष्ट, मण्डल्नी, आदिवारा तथा माधव जैसीसमेतको पूजाआजाका बारेमा छलफल गरेका छौँ। माधव जैसी हाम्रो कुल देवता भएको प्रसङ्ग उठाएका छौँ । समयले कुलपूजा परम्परामा केही परिवर्तन पनि ल्याएको अुनभूत गरेको छु। हजुर धामी भएको र सिम्पानीका पोखरेलले कुलपूजा देवाली गर्ने ठाउँ पनि देखेँ। चिलाउनेको रुखका पोथ्राहरू छन् त्यहाँ।

मैले पढेको छु हजुर्बा! पोखरेल थरको जन्म थलो दैलेख जिल्लाको पोखर गाउँ हो। दुल्लुका वरिपरि पनि छन् हाम्रा पुर्खाका सन्तान। म दुल्लु र पोखर पुगेको छु। कर्णाली क्षेत्रमा खस, ब्राह्मणमा मष्टो पूजा प्रसिद्ध थियो। अहिले पनि छ। दैलेखबाट पूर्वतर्फ बसाइँ सर्ने क्रममा आफूले मानिआएका मष्टो, इष्टदेवीलाई सँगै लिएर आएकाले मष्ट परम्परा पोखरेलका लागि पनि ऐतिहासिक तथा महत्त्वपूर्ण हो। सोही परम्पराको निरन्तरतामा छौँ हामी।

हजुरलाई त पक्का थाहा छैन। हजुरको सिम्पानीले माओवादी आतङ्कको पीडा अझै भुलाउन सकेको छैन। लिच्की राम्चेकी महिलालाई माओवादीले कुटीकुटी मारेर धारापानीको हामै्र खायल परतिर रहेको परशु कार्कीको घरमुनि गाडेको, सिम्पानीले प्रतिकार गरेको, मोर्चावन्दी गरी विद्रोह गरेको पीडा सम्झिरहेको छ। यसको कारण मैले जान्न चाहेँ। मान्छे भन्छन् ती महिलाको श्रीमान् माओवादी थिए। श्रीमतीसँग मनमुटाव थियो। अनि परपुरुषसँग लागेको आरोप लगाएर दण्ड दिएर मारे। यो कुराको सत्यतथ्यतिर म लागिनँ। तर सिम्पानीले त्यही पीडा बोल्छ।

बास बसेको ठाउँमा होटलवाला बहिनी माओवादी कहरका बारेमा मलाई भन्छिन्, “के गर्नु बुवा! मेरो आप्पा ओभरसियरका रूपमा काम गर्नुहुन्थ्यो। माओवादी आतङ्कका कारण गाउँ छोड्नुपर्यो।”

हजुर्बा! यी त प्रतिनिधि घटना मात्र हुन् माओवादी आतङ्को। तर पक्का कुरा के भने यतिबेला सिम्पानीले त्यो बेलाको माओवादी क्रियाकलापलाई घृणा गर्छ। सिम्पानी स्वाभिमान पनि रहेछ। एकजुट भएर रहने संस्कृतिको पनि विकास गरेको रहेछ। २००७ सालपछि काङ्ग्रेसको नाममा राईले गरेको लुटपाटमा पनि सिम्पानीले प्रतिकार गर्यो। माओवादीलाई पनि प्रतिकार गर्यो।

कस्तो सुन्दर रहेछ सिम्पानी! टम्म मिलेको डाँडा, पहारिलो पाखा, मलिलो माटो, लेकदेखि बेँसीसम्मका तुलफूल, अन्न तथा गेडागुडी आफैँ उब्जाउँदो रहेछ। सिम्पानीको डाँडामा घर भएका रामबाबु पोखरेलको बलेँसीको पानी आधा ट्वा खोलामा आधा सावा खोलामा जाँदो रहेछ। क्या गजब भूबनौ । तर के गर्नु पोखरेलले पौरख जमाएको सिम्पानीमा अहिले बाँदरको शासन छ। वनमारा र कान्छीनानी काँडे झारको हुकुम छ। नजिकैबाट पानी बगेको छ। तर जमिन पट्टन बाँझो छ। पलायन मात्र भएका छैनन्; विदेशिएका छन् सिम्पाने। त्यसैले म बसेको होटलवाली राईनी भन्छिन्, “के युग आयो आयो, लोग्ने जति विदेशमा स्वास्नी जति काठमाडौँको डेरामा। घरबारीमा वनमाराको रजाइँ।”

अनि नि हजुर्बा!

तपाईले अन्तिमसम्म पनि नाम जपिरहने ट्वा खोलामा अझै धान फल्छ, तर त्यहाँ पोखरेल र घिमिरे छैनन्। ट्वा खोलाको चिसो पानीमा फलेको धान उकालो बोकेर सिम्पानीको धारापानीमा ल्याउनु कठिन त थियो। लेकबेँसी गर्नु दुःख थियो। तर सिम्पानीको पहारिलो पाखामा बसेर घाम ताप्दै दुधसँग धानको भात खान पाउनु पनि त्यो बेला त स्वर्ग थियो नि!

तर हजुर्बा! मैले पत्ता लगाएको छु हजुरहरू पाँच भाइ त्यो प्रचण्ड औलो लाग्ने मधेसमा किन त्यो बेला बसाइँ सर्नुभयो? हजुरहरूकी तीन जना चेलीबेटी भागेर एक रात मझुवामा बास बसे। बास बसेको ठाउँ ठूलीआमाको घरबाट सिम्पानीमा फिर्ता भए। त्यो बेलाको जाज्वल्य पोखरेल समाजले ती तीन चेलीलाई जातिच्युत गर्न भन्यो। हजुरहरूले मान्नुभएन। पोखरेललगायत सबै तागाधारीले हजुरहरूलाई जातबाट काढे। पतिया गर्नुपर्ने थियो जात फिर्ता गर्न। तर हजुरहरू झुक्नु भएन। बरु त्यही झ्वाँकमा बसाइँ सर्नुभयो। जे होस् अन्यायका विरुद्धकै आँट हो हजुरहरूको बसाइँ सराइ

म यतिबेला सम्झिरहेको छु हाय रे समाज! हाय रे जात! हाय रे पतिया!

सिम्पानीका हरिया पाखा, ट्वा खोलाको सुन्दरता, सावा खोलाको परिदृश्य, धारापानीको कलकललाई हेर्दा रोमाञ्चित छु। फेरि उत्ति नै खेर पलायन बस्ती तथा वनमाराका झ्याङको साम्राज्य हेर्दा अलिकति उदास पनि भएको छु। यस्ता बेलामा निकै सुन्दरी देखिने होटल साहुनी राइनीलाई जिस्क्याएको छु “यति राम्री हुनुहुन्छ। बिहे त भागेरै गर्नुभयो होला?”

राईनीले लोग्नेलाई देखाउँदै जवाफ दिएकी छिन् “म १४ वर्षकी थिएँ। यो २४ वर्षको थियो। भागेँ यही केटासँग।”

“लान्छु भन्न अरू कोही आएन?” मैले झन् वातावरण रसिलो बनाइदिएको छु।

राईनी साहुनी मरीमरी हाँसेकी छिन् र भनिहालिन् “खोई त म मेरो बुढो विदेश जाँदा यही ठाउँमा बसेँ। तर मलाई लैजान्छु भन्न कोही आएन। आइमाईले मनपेट नदिई लोग्नेछोराले के गर्दो हो विचरा?”

हजुरको जन्मस्थान सिम्पानीको मेरो यात्रा तुरिएको छ। फेरि फर्कने बाचा गरेको छु। तर पनि मनचाहिँ भन्दैछ, “अब त फेरि आउन समयको अुनकूलता के मिल्दो हो र सिम्पानी! प्रयत्न भने गरी नै रहने छ।”

अब के भनूँ हजुर्बा?

बिहानै फिरेको छु सप्तरीमा। गोरो छाला पट्ट फुटाएर हजुरले जोरेको घरतर्फ। अर्थात् घरमुहाँ भएको छु। सम्झनामा आइरहने हजुरको प्रिय जेठो नाति कृष्ण  

कञ्चनरूप -१२, सप्तरी नेपाल

प्रकाशित: ११ मंसिर २०८१ ११:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App