३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

जगद्‌गुरू शंकराचार्यले गरे प्रहरी प्रधान कार्यालयको भ्रमण

जगद्‌गुरू शंकराचार्य विधुशेखर भारती सान्‌निधानम्‌ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन्।

सो अवसरमा उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई आशीर्वचन दिनुका साथै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा रचित भजनको विमोचन समेत गरे।

प्रहरी प्रधान कार्यालय पुगेका जगद्‌गुरू शंकराचार्यलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

भ्रमणका क्रममा उनले प्रहरी प्रधान कार्यालय परिसरमा ‘कल्पवृक्ष’ रोपण गरेका थिए।

अवलोकनपश्चात आयोजित विशेष समारोहमा जगद्‌गुरू शंकराचार्यले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा तयार पारिएको भगवान शिवप्रति समर्पित ‘शिव शम्भू’ भजनको विमोचन गरे।

सो अवसरमा उनले भौतिक र भर्चुअल रूपमा उपस्थित देशभरका प्रहरी कर्मचारीहरूलाई आध्यात्मिक सन्देश प्रवाह गरेका थिए।

सम्बोधनका क्रममा जगद्‌गुरूले ‘सत्य, सेवा, सुरक्षणम्‌’ को मूल मन्त्रलाई आत्मसात् गरी नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीको कार्यको प्रशंसा गरे। 

उनले आगामी दिनमा नागरिकको जीउधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरीलाई अझ पूर्ण सफलता मिलोस् भनी कामना समेत व्यक्त गरे।

कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जगद्‌गुरूको आगमनले सम्पूर्ण प्रहरी परिवारमा आत्मिक शान्ति, दिव्य प्रेरणा र अनुपम गौरवको अनुभूति गराएको बताए।

उनले जगद्‌गुरूको सान्निध्यले राष्ट्रिय सेवामा समर्पित प्रहरी कर्मचारीहरूको सेवाभाव र मनोबलमा नवऊर्जा सञ्चार गरेको चर्चा गरे।

महानिरीक्षक कार्कीले भने, ‘जगद्‌गुरूबाट प्राप्त आध्यात्मिक चेतना, आत्मिक अनुशासन र धार्मिक मर्मले प्रहरी पोशाकमा सुसज्जित कर्मचारीहरूलाई सहि मार्गमा स्थिर रहन मद्दत पुग्नेछ।’

उनले नेपाल प्रहरी कानुनी धर्मको पालकका साथै न्याय र जनसुरक्षाको साधक समेत भएको उल्लेख गर्दै आध्यात्मिक चिन्तनले धैर्य र नैतिक शक्ति प्रदान गर्ने बताए।

महानिरीक्षक कार्कीले विमोचित भजनले श्रद्धा र आध्यात्मिक चेतनातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै जगद्‌गुरूको आशीर्वादले भजनमा अझ दिव्यता थपिएको उल्लेख गरे।

उनले नेपाल प्रहरी सदैव सत्य, न्याय र अनुशासनको मार्गमा अडिग रही राष्ट्र सेवामा प्रतिबद्ध रहने प्रण समेत गरे।

कार्यक्रममा आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयका प्रहरी नायव महानिरीक्षक विश्व अधिकारीले स्वागत मन्तव्य राखेका थिए। समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष एवं पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा सातै प्रदेशका प्रहरी कार्यालयहरू, तालिम केन्द्रहरू, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू र ७७ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।

प्रकाशित: ११ जेष्ठ २०८३ १४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App