२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

तस्वीरमै देखिएझैं कहाँ हुन्छ र जिन्दगी!

मुक्तक

१) मुक्तक

जीवनभर कहिले नभरिने मानो रहेछ जिन्दगी यो

जति टाले पनि चुहिरहने छानो रहेछ जिन्दगी यो

कोही रुन्छन् ,कोही हाँसी पीडा लुकाउँछन्,

आँसु र हाँसो टुक्राउने आचानो रहेछ जिन्दगी यो।

२) मुक्तक

जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ

भन्नै पर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ

तस्वीरमै देखिएझैँ कहाँ हुन्छ र जिन्दगी,

बोकेर पीर ब्यथा दिलभित्र दुखेको हुन्छ।

३) मुक्तक

जीवन हाम्रो बगिजाने कर्कलाको पानी जस्तो

वर्षा याममा उर्लिएको खहरेको बानी जस्तो

दुई दिने जिन्दगानी कहिले घाम कहिले पानी,

प्रतिक्षामा अल्झिएको दुई आँखाको नानी जस्तो।

४) मुक्तक

भिर्नै पर्ने जीवन झोला काँधै गले पनि

बाँच्नै पर्ने रहेछ यहाँ विश्वास ढले पनि

रुँदा रुँदै थाके पनि बाहिर हाँस्नै पर्ने,

चोट हजार खाई यहाँ मुटु जले पनि।

५) मुक्तक

उस्तै छ धर्ति तर माटो अनेक

उही हो यात्री तर बाटो अनेक

कहिले नटुङ्गिने यात्रा जिन्दगीको

एउटै छ जीवन तर पाटो अनेक।

६) मुक्तक

समयले लछारेर लाँदोरहेछ जिन्दगी यो

व्यस्ततामै अल्झिएर जाँदोरहेछ जिन्दगी यो

रोकेर नि नरोकिने जीवन यस्तो भेल रहेछ,

सम्झनाले कुटुकुटु खाँदोरहेछ जिन्दगी यो।

७) मुक्तक

कहीले आकाशको जूनजस्तै लाग्छ जीवन

सुरिलो संगीतको धूनजस्तै लाग्छ जीवन

पलभरमै बदलिरहने जीवनको परिभाषामा,

आँखाबाट झर्ने नुनिलो नुन जस्तै लाग्छ जीवन।

८) मुक्तक

हाँस्ने मानिसको मुटुमा पनि दर्द हुन्छ

छातीभित्र रेटिरहने तिखो कर्द हुन्छ

बाहिर देखिएझैं कहाँ हुन्छ र जिन्दगी,

लुकाएर आँसु जो बाँच्छ उही मर्द हुन्छ।

९) मुक्तक

जीवन यो वरदान हो हाँसीखुसी जिउनुपर्छ

सुखदु:ख सम्हाल्दै आँसुहाँसो पिउनुपर्छ

सोचे जस्तो नभैदिंदा सम्झौतामा अल्झिएर

चोट लाग्दा फाटेको मन मौनताले सिउनुपर्छ।

१०) मुक्तक

ताली बजाउनलाई पनि दुई हात जोड्नै पर्छ

विपरीत ध्रुवहरू एकैतिर मोड्नै पर्छ

मै खाउँ मै लाउँ सुखसयल मै गरूँ नभनेर,

अहंताको घैंटो अब सबैले फोड्नै पर्छ।

-रेनु अधिकारी 'मौनता' , ( मुक्तकार ‘ मौनता' को ‘ आकृति ’ मुक्तकसंग्रहमा सङगृहीत।)   

प्रकाशित: २९ कार्तिक २०८१ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App