सुनाखरी गाउँको मन्दिर परिसरमा एकपटक धार्मिक अनुष्ठान र कथा वाचन कार्यक्रमको भव्य आयोजना गरिएको थियो। कार्यक्रममा राता, पहेँला र गेरु वस्त्रमा सजिएका महिला–पुरुष भक्तजनको बाक्लो उपस्थिति थियो। उद्घोषकले कार्यक्रमको औपचारिक रूपमा थालनी गरेपछि वरपर छरिएर रहेका भक्तजन सभामा एकत्रित भएर बसे। त्यसपछि स्वनामधन्य वाचन शिरोमणि पण्डित रामनाथजी आफ्नो आसनमा पलैटी कसेर बस्नुभयो र आफ्नो कथा वाचन शुरू गर्नुभयो।
कथा वाचनको क्रममा उहाँले उपदेश दिँदै भन्नुभयो, “श्रद्धेय भक्तजन, हामीले काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता अवगुणलाई आफ्नो मनमस्तिष्कमा कदापि पालेर राख्नु हुँदैन। यसलाई हामीले जरैदेखि उखेलेर फाल्नुपर्छ। किनकि यी यस्ता पंच दोष हुन् जसले मानव जातिलाई कहिल्यै सद्मार्गतर्फ अघि बढ्न दिंदैन। सदैव विनाशतर्फ धकेल्दछ, नर्क कुण्डतर्फ धकेल्दछ।
उहाँले पुनः उपदेशात्मक शैलीमा भन्नुभयो, “हामीले अनेकन् किसिमका लोभलालचको वशमा परेर जतिसुकै धनसम्पत्ति आर्जन गरे पनि आखिर मृत्युपछि लाने त केही पनि होइन। सबै कुरा यही धर्तीमा छाडेर जानुपर्छ। त्यसैले लोभ लालचको वशमा हामी पर्नु हुँदै हुँदैन।”
पण्डित रामनाथजीले आफ्नो दाहिने हातका औंलाहरू भक्तजनतर्फ केन्द्रित गर्दै अगाडि भन्नुभयो, “सबैभन्दा ठूलो कुरा हो आत्मसन्तोष। आत्मसन्तोष जस्तो ठूलो सुख जीवनमा अरू केही पनि हुँदैन। सन्तोषम् परम् सुखम् जो भनिएको पनि छ।”
पण्डित रामनाथजीको कथावाचन भक्तजनले निकै ध्यानमग्न भएर श्रवण गरिरहेका थिए। कतिपय भक्तजनले उहाँको उपदेशलाई एक किसिमबाट शिरोधार्य गर्दै आआफ्नो टाउको हल्लाइरहेका पनि देखिन्थे। अन्त्यमा आफ्नो कथा वाचन सम्पन्न भएपछि पण्डित रामनाथजी आशनबाट जुरुक्क उठेर सिधै आयोजकसमक्ष पुग्नुभयो र आफ्नो बेफुर्सदीको जनाउ दिँदै दक्षिणा भेटी माग गर्नुभयो। दक्षिणास्वरूप पूरा चालीस हजार रकमको चेक बुझेपछि उहाँले अलिकति क्रोध र अहम् मिश्रित स्वरमा आफ्नो असन्तुष्टि भाव दर्शाउँदै भन्नुभयो, “यति त कमै भयो नि! अन्यत्र यस्ता कथा वाचनको कार्यक्रमहरूमा मैले कम्तीमा पनि पचास हजार लिने गरेको छु, अलिकति त थप्नुस्।”
- राजेशमान के.सी.
प्रकाशित: २४ कार्तिक २०८१ १०:१६ शनिबार