३ कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

हिमचुचुराको असली रूप

नियात्रा

अन्ततः अनेक प्रतिकूलताको सामनापछि पुग्यौं अन्नपूर्ण आधारशिविर (४१३० मिटर)। यतिबेला यहाँको तापक्रम छ दुई डिग्री। चराभन्दा चाँडो उठेर भकाभक ओइरिँदैछन् हिउँ पहिरोको डिलमा अवस्थित दृश्यावलोकन परिसरमा पर्यटक। उल्लास, उमंग, प्रसन्नता र रोमाञ्चकताको बहार बोकेर।

जतिजति प्रभातकालीन उज्यालोको मात्रा बढ्दैछ, उतिउति चारैतिरका सेता हिमचुचुराले आफ्ना असली रूप र सौन्दर्य एकैचोटि प्रदर्शन गर्दैछन्। ती हिजो साँझसम्म बादलबाट पुरिएका थिए।

दक्षिणतिर हिमचुलीको शिरबाट हिमाली भाका बोकेर उँधो बगेको छ न्वारान नगरिएको एक खोला। यसैको सुसाइ सुन्दै रातभर रोदी बसेका वरपरका पहाड, प्रकृति पनि देखा परे। यिनको उपस्तिथिले आधारशिविरको वातावरणमा ‘सुनमा सुगन्ध’ थपिएझैं भएको छ।

सेताम्मे हिउँबाट सुशोभित हिम शृङ्खलाको गोलाकार पर्खाल उभिएको छ चारैतिर। अन्नपूर्ण आधारशिविरको विशेषता भनेको चारैतिर मज्जाले मुस्कुराइरहने दर्जनभन्दा बढी विशाल हिमचुचुराहरू हुनु र ती अद्भुत आनन्द दिलाउने हिमचुचुराहरूबीच आफैंलाई आनन्दमा हराउने दुर्लभ अवसर मिल्नु हो। जसको भव्यता, भद्रता र सुन्दरताको सम्पूर्णता समात्न सक्ने शब्द वा बिम्ब छैन मसँग। न त छ-असीमित खुसीका अनुपम अनुभव बताउने शैली वा सामथ्र्य नै। सानदार हिमशिखर आँखैअगाडि देखिन्छन्।

मानौं सजिलै आफ्नै हातले सुमसुम्याएर भरपुर तृप्ति लिन सकिन्छ। चित्ताकर्षक यी सुन्दर शिखरहरूको दृश्य हेर्नुमा जति आनन्द हुन्छ त्यत्तिकै लाग्छ गौरवानुभूति।

असोज १३ गते (सेप्टेम्बर २९)। सूर्योदयको सुरुवाती झुल्काले पश्चिमपट्टि सबैभन्दा ठुलो आकारमा उभिएको अन्नपूर्ण साउथ (७२१९ मिटर)को शिरमा सुनको जलप लगाइदियो। हेर्दाहेर्दै छिनभरमै चाँदीको सिंगो ढिक्का बन्यो। पालैपालो (घडीको सुईअनुसार) अन्नपूर्ण फाङ अर्थात् बाह्रशिखा चुली (७६४७ मिटर), अन्नपूर्ण पहिलो (८१६७ मिटर), खाङसार (७४८५ मिटर), सिंह चुली (६५०० मिटर), टेन्ट चुली (५६०० मिटर), अन्नपूर्ण तेस्रो (७७५५ मिटर), गन्दर्भ चुली (६२४८ मिटर), माछापुच्छ्रे  (६९९७ मिटर) र अन्नपूर्ण साउथको आडमा अवस्थित हिमचुली (६४४१ मिटर) लगायतका साराका सारा हिमचुचुरा चमचम चम्किने चाँदीमा बदलिन्छन्। आफैंलाई पूर्ण बनाइदिने आत्मिक सन्तुष्टिका सर्वोत्तम दृश्यावली ! योभन्दा अरू के हुन सक्छ पर्यटकका लागि सौन्दर्य रसोपानको खाट्टी खजाना?

विश्व पदयात्रा मानचित्रमा उत्कृष्ट श्रेणीमा कहलिएको गन्तव्य हो– अन्नपूर्ण आधारशिविर। अन्नपूर्ण संरक्षण क्षेत्र नेपालकै सबैभन्दा ठुलो संरक्षण क्षेत्र हो, जसको फैलावट ६६२२ वर्गकिलोमिटरको छ। यसकै सिमानामा समेटिएको अति आकर्षक केन्द्र अन्नपूर्ण आधारशिविर धेरै पर्यटक पुग्नेमध्येको नेपालको चर्चित थलो हो।

ग्रीन भ्याली नेपाल ट्रेक्स एन्ड रिसर्च हबमार्फत अन्नपूर्ण आधारशिविरसम्मको पदयात्रामा मसँग जोडिएकी मेरी पाहुना हुन् जस्टिन। जे पायो त्यही (जन्क फुड) नखाने, नपिउने। जे पायो त्यही नबोल्ने भलादमी प्रकृतिकी। पदयात्राका बेला मान्छेसँग होइन, प्रकृतिसँग एकाकार हुँदै बात मार्न रुचाउँछिन्।

हाम्रा जम्मा नौ दिने यात्राका प्रायः सबै दिन (अन्नपूर्ण आधारशिविर पुगेपछिको एक बिहान बाहेक) मौसम प्रतिकूल बनिरह्यो। हिमालहरू चुपचाप बादलभित्रै बेपत्ता भए। देखा परे पनि कम संख्यामा हिमाल देखिए। ती पनि आंशिक रूपमा मात्र।

वीरेठाँटीदेखि उल्लेरी (२०५० मिटर)सम्मको पहिलो दिनको पदयात्रामा धुम्म थियो आकाश, आपत्तिको रापमा जलेर आँसु झार्नै लागेको अनुहारजस्तो। एकघण्टा अगाडि एकसरो आँसु झारिसकेकाले आज उक्लन सहज भयो, मध्याह्न बेलामा पनि। अरू बेला भएको भए यो ठाडो उकालोले सातो खान्थ्यो।

दोस्रो दिनको पदयात्रा थियो उल्लेरीदेखि घोरेपानी (२८७४ मिटर) सम्मको। बिहानै पूर्वउत्तर दिशामा अन्नपूर्ण साउथ र हिमचुलीले स्वागत गरेका थिए हामीलाई। बिगँ्रदो मौसमकै कारण यस पटक घोरेपानी, पुनहिल (३२१० मिटर)बाट एउटै हिमालले सग्लो रूप देखाएन।

तेस्रो दिनको गन्तव्य ताडापानी (२६३० मिटर) पुग्नासाथ स्वागत गरेको थियो मुसलधारे पानीले। साँझ ५ बजे थामिए पनि सिमसिमे पानी भने रातैभरि परिरह्यो। चौथो दिन छोम्रोङ (२१७० मिटर)को बसाइमा पानी परेन। तर पर्लापर्लाजस्तो भइरह्यो।

पाँचौं दिनको बास थियो, बेम्बु (२३१० मिटर) मा। दिउँसो झन्डै दुई बजेबाट ४ः३० सम्म दर्केर प¥यो पानी। त्यसपछि एकछिन पानी थामिएको के थियो, साँझ ८ बजेतिरबाट पर्न सुरु गरेको सिमसिम पानी रातैभरि परिरह्यो।

छैठौं दिन असोज ११ को गन्तव्य थियो, चार घण्टा उक्लेपछिको देउराली (२६०० मिटर)सम्म। दिनको आधी उमेर गुज्रिसक्यो तर पानी थामिने छाँटकाँट नदेखिएपछि देउरालीसम्मको गन्तव्य तय गरियो।

पानीले देशभर बितन्डा मच्चाएको बेला हामी भने अन्नपूर्ण आधारशिविरका आखिरी बिसौनीहरूतिर उक्लँदै थियौं। उर्लाएका अनगिन्ती खहरे खोलानाला तर्दै।

अनेक परिस्थितिको सामना गर्दै कहिले दायाँ कहिले बायाँ, कहिले नजिक कहिले टाढा हुँदै निरन्तर हुँदै बगिरहेछ मोदीगङ्गा। मोदीगङ्गा संघर्ष र धैर्यको पाठशाला बन्यो।

सफा मौसममा रमाएर पदमार्गमा देखापर्ने जंगली पशुपन्छी पनि पराइ बने। बरु घोरेपानी (२८७४ मिटर)देखि तल्लो सिनुवा (२२२० मिटर)सम्मका सेपिला जमिनका जुकाबाट जोगिन धौधौ भयो।

अस्ति यात्रा रोकिएको ठाउँ देउराली (३२३० मिटर) पुगियो तर पानी रोकिएन। हिजो असोज १२ गते अन्नपूर्ण आधारशिविर (४१३० मिटर)सम्मको यात्रा पनि पानीमय बन्यो। आठौं दिनको हिजोको गन्तव्य थियो, अन्नपूर्ण आधारशिविरको।

 बर्खा यामजस्तो दुई दिन त झरी नभनेर हिँडियो। यहाँ आएपछि बल्ल साँझपख पानी थामियो। आधाजस्तो हिमाल पनि खुले। आज असोज १३ गते सूर्योदय हुनु पहिल्यैबाट खुलेको हिमाल आधारशिविर छोड्दा (बिहान ७ः३०)सम्म चम्किरहेकै थियो।

प्राकृतिक, जैविक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाका विविध खाले सौन्दर्यले झकिझकाउ सिँगारिएको छ अन्नपूर्ण पदमार्ग। जसमा मौलिक विशेषताका दर्जनौं लोकप्रिय पर्यटकीय गाउँ समेटिएका छन्।

मनमोहकताको हिसाबले पनि विशेष किसिमका। फरकफरक सम्पदाका आयामबाट फरकफरक मिठासका आनन्द, ऊर्जा र पाठ सिक्न सक्छन् पर्यटकले। निःशुल्क मिल्ने स्वच्छ स्वास्थ हावा अनि वनजंगलको शान्त शीतल वातावरण जो कोहीका लागि जीवन ऊर्जा पनि बन्न सक्छ।

पदमार्गमा जीवन दर्शन बन्न सक्ने हाम्रा परम्परागत एवं मौलिक संस्कारका अनेकौं गाउँघर भेटिन्छन्। जतिजति उचाइ बढ्दै जान्छ, उतिउति होटलका परिकारका मूल्य बढ्दै जान्छन्। तर बोटबिरुवाका उचाइ र संख्या घट्दै जान्छन्। त्यसैगरी होटल र कामदारको संख्यामा कटौती हुन्छन्।

माछापुच्छ्रे आधार शिविर (३७०० मिटर) देखि अन्नपूर्ण आधारशिविर (४१३० मिटर) सम्म त ठुला बोटबिरुवाको नामोनिसान भेटिँदैन। सफा मौसम हुँदो हो त अगाडि यो बाटो डोरिएको दिशाबाट हिमचुली, अन्नपूर्ण साउथ, अन्नपूर्ण फाङ अर्थात् बाह्रशिखा चुली, अन्नपूर्ण पहिलो र पछाडि अथवा पूर्व दिशाबाट माछापुच्छ्रे गन्दर्भ चुलीलगायतका हिमशिखर झन्झन् नसालु बन्ने थिए, नजिकिँदै र प्रस्टिँदै जानाले।

बेम्बो (२३१० मिटर) देखि नै होटलमा मालिकलगायत सबै कामदार पुरुष मात्र छन्। पुरुषबाहेक बुढाबुढी केटाकेटी कोही बस्दैनन्। खेतीयोग्य जग्गा त उपल्लो सिनुवाबाट नै भेटिँदैन। त्यसपछि होेटलबाहेक न त घरबस्ती छन्, न त छन् कुनै मानवजन्य निसाना। बरु अनेक आकारप्रकारमा बडेमानका प्रकृतिप्रदत्त चट्टान भेटिन्छन् ठाउँठाउँमा। माथिमाथिका पहाडपर्वतमा भने हरिया खर देखिन्छन्।

 हिँडाइबाट उत्पन्न शरीरको तापले बेम्बोसम्म पसिना निकाल्यो। त्यसपछि घामको रापको प्रभाव खेप्न नपरेकाले होला, लगाएको लुगा खोलेर कता फ्याँकू जस्तो गर्मी भएको छैन। अन्नपूर्ण संरक्षण क्षेत्रको जति प्रसिद्धि छ सम्पदाका हिसाबले उति नै मानवीय कमीकमजोरीका चर्का विरोध र बग्रेल्ती गुनासाहरू छन्।

विशेषतः होटलमा बासको असुविधा टड्कारो छ। सिजनको बेला पैसा तिर्ने पर्यटकसमेत सुविधाजनक कोठाको के कुरा, डाइनिङ हलमा टेबुल–बेन्च जोडेर भेडाबाख्रा जसरी सुत्नुपर्छ कोचिएर।

अहिलेजस्तै कुनै बेला पहिरोमा ज्यानको जोखिम मोलेर गर्नुपर्छ पदयात्रा। पदयात्रा मात्र होइन, आधार शिविर पनि जोखिममुक्त छैन। हिमशिखरहरूबाट हिमपहिरो निरन्तर झरिरहन्छ। तारबारबिनाको पहिराको डिलबाट असुरक्षित दृश्यावलोकन गर्नुपर्ने समस्या छ पर्यटकका लागि।

यी र यस्ता विद्यमान प्रमुख समस्या समाधान भइदिए साँच्चिकै धरतीको स्वर्ग बन्ने थियो यो अनेक आयामबाट सुसज्जित पर्यटकीय गन्तव्य।

प्रकाशित: ३ कार्तिक २०८१ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App