सुदूरपश्चिम समाज, टेक्ससको निमन्त्रणामा यसपटक गौरापर्व मनाउन काठमाडौं एयरपोर्टबाट जेट बिमानमा २२ घण्टाको यात्रा गरी डालस पुगें। राजधानी अस्ट्रिन र डालसको नेपाली शिवमन्दिरमा आयोजित गौरापर्वमा प्रमुख अतिथिका रूपमा उपस्थिति जनाएँ।
यसपटक गौरापर्व राजधानीमा राजनीतिकमय भएको नमिठो खबरले अमेरिकास्थित नेपालीहरू अझ सुदूरपश्चिमवासी खिन्न थिए। त्यो खल्लोपनलाई पंक्तिकारले मिठास दिलाउनु थियो। उपस्थित सयौं संस्कृतिप्रेमी नरनारीलाई मौलिक देउडा गाएर उनीहरूको सांगीतिक धोको पूरा गरेँ। स्यावासी र मायाका मालाले गरुङ्गो बनेँ।
२०३४ साल कात्तिकदेखि अटुट रूपमा देउडा गायन र संस्कृतिमा एकलव्य भएर लागिपर्दाको सुखद परिणाम हो मेरा लागि। टेक्सास, उइसक्यान्सिन, मासाचुक्से र न्युयोर्कका विभिन्न भागहरूमा बसोबास गर्ने हजारौं नेपालीलाई देउबडाका कालजयी पुराना गीतहरू सुनाउँदा र उनीहरूबाट पाएको अपार स्नेह शब्दमा उतार्न सकिँदैन।
ती सबैले एकै स्वरमा भने-‘देउडा लोकसंस्कृतिलाई राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा फैलाउने व्यक्तिले नेपालको कुटिल राजनीतिमा हात नहाल्नुहोस्, हरेक पाटीका नेताहरूले अमेरिकाको नजरमा बदनामबाहेक इमान कमाउन सकेका छैनन्।’ देशको राजनीतिलाई नजिकबाट चियाइरहेको पंक्तिकारलाई उनीहरूको राजनीतिक कटाक्ष बुझ्न गाह्रो भएन।
उइसक्यान्सिन राज्य र टेक्सास राज्यको संसद् भवनको अवलोकन
लोकतन्त्रको मर्यादित राष्ट्र अमेरिकाका ५० वटै राज्यका मानिस विधिको शासन अनुशरण गर्छन्। राष्ट्रपतिदेखि सामान्य मतदाता कानुनको अधीनमा छन्। उनीहरू कानुन र नियममा बराबर छन्। राष्ट्रपतिको सवारी भनेर कुनै पनि नागरिकको सवारी साधन सडकछेउमा लगाउने, सिठी बजाउने, नागरिकलाई तर्साउने काम त्यो मुलुकमा गरिँदैन।
कतिपय ठाउँमा त राष्ट्रपति आफैंले गाडीबाट झरेर ससाना बालबालिका र वृद्घवृद्घासँग हात मिलाएर कुरा गरेको दृश्य हामीले देखेका छौं। नेपालमा जस्तो आडम्बरी र भारदारी राजनीति अमेरिकामा मात्र होइन, कतिपय लोकतान्त्रिक मुलुकमा देखिँदैन। सायद लोकतन्त्रको उन्नत परिभाषा त्यही हो।
करिब पाँच बिघा जति फैलिएको संसद् भवन पाँच तला अग्लो छ। ढोकामा सुरक्षाकर्मी छन्। सुरक्षा जाँच गरेपछि हामी चार जना लक्ष्मण खड्का, डिल्ली फुलारा, राजु ओझा र पंक्तिकार त्यो भव्य भवनभित्र प्रवेश गर्यौं। सिंगमर्मर जडित मार्बल भवन कलाले भरिपूर्ण र इतिहासका कारण जीवित सङ्ग्रहालयजस्तै थियो।
अमेरिकी नागरिकहरूको अवलोकन गर्नका लागि बाक्लो उपस्थिति देखिन्थ्यो। आधुनिक भर्याङमा मैले सो दृश्य हेरिरहेको थिएँ। शिर निहुर्याएर भित्र प्रवेश गर्नाको कारण के रहेछ ? जिज्ञाशा बढ्यो। एक जना अधबैंसेले उत्तर दियो- ‘यो भवन मात्र होइन, सबै राज्यका संसद्मा यही चलन छ। यो सहिदको सम्मान र प्रजातन्त्रप्रतिको निष्ठा हो।’
सम्झेँ, मेरो देशमा पनि यस्तै रीति बसाल्न सकिएला? प्रत्येक भित्तामा बेलाबेलामा राज्यलाई योगदान दिएका विशिष्ट व्यक्तिका तस्बिर कहिल्यै नटुट्ने गरी टाँसिएका थिए। बिचभागमा सबैद्वारा देखिने गरी सभाहल थियो। सभा सञ्चालन भने भएको थिएन तर अवलोकनमा कसैलाई पनि बन्देज थिएन। पुस्तकालय, विश्रामस्थल, अवलोकन कक्ष बेग्लाबेग्लै देखिन्थे।
हामीहरूको तस्बिर लिइदिनका लागि दुई जना बुढी महिलालाई इसारा गर्यौं, दंगदास हुँदै सामूहिक तस्बिर लिइदिइन्। आफैंले सोधिन्-तिमीहरू कुन मुलुकबाट आएको ? हामीले नेपालबाट भन्यौं। नेपालको शब्द सुन्नेबित्तिकै अँगालो हालिन् र भनिन्-संसारको सुन्दर मुलुक हो। म दुईपटक नेपाल गएकी छु। १० वर्ष पहिले छोरालाई पनि नेपाल घुम्नका लागि पठाएँ। छोरालाई नेपाल घुम्न रहर पुगेको छैन।
उनले थपिन्– ‘पोखराको सौन्दर्य, उपत्यकाको कलाकौशल, नगरकोटको सूर्योदय आदिले मन छोयो। सौराहा, बर्दिया राष्ट्रिय निकुञ्ज आदिले मलाई लोभ्याइरहेछ।’ उनले सुनाउँदै गइन्, ‘नेपाल सगरमाथाको देश भएर पनि विश्वमा त्यति परिचित बन्न सकेको छैन। नागरिक सोझा छन्। तिम्रो देशका नेतामा भिजन छैन। देश बनाउने योजना र प्रतिबद्धता छैन। सायद भारत र चीनजस्ता शक्ति राष्ट्रका बिचमा परेर पनि यस्तो भएको हुन सक्छ। साथै तिम्रो देशमा धेरै भ्रष्टाचार हुने भएकाले व्यक्ति धनी छन्, राष्ट्र गरिब छ। सडक छैन, पिउने पानी सफा छैन।’
जन्ना स्याममोन्ड नाम गरेकी ती महिला डालसकी रहिछिन्। सन् १९७४ र सन् १९९० मा नेपाल भ्रमणमा आएकी उनी कलाकार भनेपछि भुतुक्कै हुने रहिछिन्। उइसक्यान्सिनको राजधानी म्याडिसन र अन्य ठाउँहरूमा नेपालीहरूको रहनसहन बाक्लो रहेछ। यसैगरी टेक्सास राज्यको राजधानी अस्ट्रिनमा अवस्थित संसद् भवनको कला, भवनको सौन्दर्यको वर्णन गरिसाध्य छैन।
जताततै हरियो चौर र बिचबिचमा लगाएका रुखहरूको सौन्दर्य मनमोहक थियो। चार तला अग्लो सो संसद् भवन चौबीसै घण्टा उज्यालो देखिँदो रहेछ। आगन्तुकलाई दृश्यावलोकन गराउने कर्मचारी पनि रहेछन्। जसले त्यहाँका वस्तुस्थितिबारे जानकारी गराउँदा रहेछन्।
प्रजातन्त्रप्रतिको अटुट आस्थाका कारण सबै नागरिकले दोस्रो मुलुकका नागरिकलाई उच्च सम्मान दिने रहेछन्। सो कुरा संसद् भवनभित्र ठुलो अक्षरले लेखिएको थियो। साथै अब्राहम लिंकनको प्रजातन्त्रबारे लेखेको कोटेसन ठुलो अक्षरले लेखेको देखियो। बाहिर एक जोडी अधबैंसे रुखको छहारीमुनि बसेका थिए। भाइ पदम ठकुराठीले नजिकै बसेर देउडा गीत गाउन भने। गाइदिएँ।
नवजोडीले ‘हाम्रो भाषा मिठो लाग्यो’ भने। उनीहरू बोस्टनबाट घुम्न आएका रहेछन्। जसमध्ये केटो सन् २०१० मा नेपाल आएको रहेछ। ६ महिना नेपाल बसेर नेपालबारे धेरै जानकारी लिएको रहेछ। ठमेलमा बस्ने गरेको जेम्स स्मिथ नामको सो व्यक्तिले गणेशमानसिंहको नाम सुनेको रहेछ। धेरै कुरा जानेको पनि रहेछ लौहपुरुषबारे। प्रधानमन्त्री पद त्याग गर्ने नेता के नेपालमा जन्मेलान् र ? उसको प्रश्न गम्भीर थियो।
भुटानी शरणार्थीहरूको नेपालप्रतिको दृष्टिकोण
भुटान सरकारद्वारा लखेटिएका भुटानी शरणार्थीहरूलाई झापाका विभिन्न ठाउँमा अस्थायी टहरा निर्माण गरी गासबासको व्यवस्था नेपाल सरकारले गरिदिएकोमा जति सन्तुष्ट छन्, त्योभन्दा बढी तीन वर्ष पहिले नक्कली शरणार्थीका नाममा मानव बेचबिखनजस्तो घृणित कार्यमा तत्कालीन सरकार लागिपरेको देख्दा धेरै असन्तुष्ट देखिन्छन्।
उनीहरूको आक्रोश छ-‘तत्कालीन नेपालका गृहमन्त्री बालकृष्ण खाणलाई सर्वोच्चको फैसलाअनुसार कारागार पठायो तर सो काण्डका मुख्य नाइकेलाई किन बचायो ? के यही हो मानव अधिकार ? यही हो कानुनी राज्य ?’ यी प्रश्न सुनेर म अवाक भएँ।
मेन्चेस्टरस्थित न्युहेमसर निवासी डेमोक्रेटिभ पार्टीका आगामी चुनावका सहरी क्षेत्रका उम्मेदवार सुरज बुढाथोकीले विगतमा आफू र आफ्ना धेरै भुटानीले पाएको दुःख शब्द–शब्दमा टिपाउनुभयो। सन् २००९ मा भुटानको सामराङबाट झापाको टिमाई खोलाको छेउमा आएर बस्दा सो खोलाको ढुङ्गा बोकी बिक्री गरेको र जीविकोपार्जन गरेको थिएँ।
सामराङ भुटानमा त्यसबेला तीन सय घरहरू थिए। अहिले विस्थापित भएर ५२ वटा घरपरिवार मात्र रहेका छन्। भुटानका मानव अधिकारकर्मी आरके बुढाथोकीको हत्यापछि टेकनाथ रिझाल, बलराम पौडेलसँगै आफू पनि संघर्षमा उत्रिँदा ‘पिस मियटिभ भुटान’ नामक संस्था खोलेका थियौं। पछि अमेरिकी सरकारले आश्रय दियो, अमेरिकाको नुनपानी पिएको छु, अमेरिकाका प्रायः सबै राज्यमा भुटानी शरणार्थी आएर बसेका छौं।
पछिल्लो अवस्थामा नेपालले हामीलाई माया होइन, तिरस्कारको दृष्टिले हेरेकोमा दुःख लाग्छ। नेपाल हाम्रो पुर्खौली घर हो भन्नुहुन्छ सुरज बुढाथोकी। यस्तै आसयको दुखेसो पोखेका थिए उइसक्यान्सिन राज्यमा शनिबारको हाटबजारमा सामान बिक्री गर्दै गरेका एकजना अधबैंसे भुुटानीले।
उनले भने, ‘आफ्नै पुर्खाहरू जन्मेको थलो नेपालको दृष्टिमा अहिले त हामी भेडाबाख्राका रूपमा देखापरेका रहेछौं।’
यी केवल नमुना पात्र मात्र हुन्। अन्तराष्ट्रिय क्षेत्रमा भ्रष्टाचारी धन्दाका कारण नेपालको नूर गिरेको जस्तो अनुभूति भयो मलाई। सुनकाण्ड, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्डजस्ता जघन्य अपराधका कारण नेपालप्रति चासो र चिन्ता लिने जो कोहीले नेपाललाई भ्रष्टचारीको देश भनेको सुनियो। विदेशी भूमिमा नेपालको एकजना इमानदार नागरिकले यी विविध टीकाटिप्पणी सुन्नुपर्दा मलाई त लाज लाग्यो।
हार्डवर्ड विश्वविद्यालयको अवलोकन
संसारको सबैभन्दा पुरानो र उत्कृष्ट विश्वविद्यालयका नामले परिचित वोस्टन स्थित हार्डवर्ड विश्वविद्यालयमा घुम्न लगे रसायन शास्त्रमा विद्यावारिधि गरेका डा. विष्णु जोशीले। पुख्र्यौली घर बझाङ हो उनको।
यो विश्वविद्यालयमा संसारभरका उत्कृष्ट र मेधावी विद्यार्थीहरू छन्। त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरूका लागि कहिल्यै पनि सूर्य अस्ताउँदैन रहेछ। जुन बेला पनि बिहानी र दिउँसो हुँदोरहेछ त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरूलाई।
अपराह्न तीन बजे हामी त्यहाँ पुग्दा भवनको उत्तरतिर राखेको हार्डवर्डको सालिकमा ढोग्ने र तस्बिर लिनेहरूको लाइन लागेको थियो। सबैले श्रद्धाले हार्डवर्डको देब्रे गोडामा ढोग्दा रहेछन्। तस्बिर लिने त भइहाले। हामीले पनि त्यसै गर्यौं। विश्वविद्यालयमा अमेरिकी झन्डा फहराइरहेको देखिन्थ्यो। जापान, कोरिया, चीनका पर्यटकहरूको बाक्लो उपस्थिति देखिन्थ्यो।
मनमा नेपालको आदिम संस्कृति देउडा गाएँ, ‘झ्याम्म झ्याम्म’। सबैले एउटै ताल र लयमा झ्याम्म... झ्याम्म... गाए। एकछिन बडो सांगीतिक माहोल बन्यो। आफ्नो परिचय दियौं। निकै चासो मानेर नेपालबारे उनीहरूले हाम्रो कुरा सुने। उनीहरूको भनाइ छ-नेपाल अति सुन्दर छ। बुद्ध नेपालमा जन्मेका हुन्। सुन्दर छ तर नेपालमा अशान्ति छ, दिनहुँ जुलुस हुन्छ, अशान्ति छ भन्ने सुनिन्छ।
एकजना हैदराबादबाट आएका विद्यार्थीसँग तस्बिर खिच्ने क्रममा परिचय भयो। परिचयका क्रममा उसले नेपालको राजनीतिबारे केही जिज्ञासा राख्यो। ऊ हाम्रो देशको विपरीत भ्रष्टाचार र गैरलोकतान्त्रिक शासनप्रणाली भएको देशको नागरिक थियो। शान्त ठाउँमा केही देउडा गीत र कविता पनि कोरेँ। यी रचनाहरू नेपाल आमालाई सम्झँदै लेखेको थिएँ।
त्यो विश्वविद्यालयको केही पूर्वतिर एटलान्टिक महासागरको किनारामा एमआइटी विश्वविद्यालय रहेछ। निकै ठुलो हरियाली चौर, चौरको चारैतिर चार तलाको टेक्निकल विश्वविद्यालय देखिन्थ्यो। १८ औँ शताब्दीमा स्थापना भएको रहेछ। प्रविधिमा सो विश्वविद्यालयको पनि नाम कहलिएको रहेछ।
हार्डवर्डझैं यस विश्वविद्यालयबाट उत्पादित धेरैजना मेधावी विद्यार्थीले विविध विधामा नोबेल पुरस्कार पनि पाएका छन् भन्दै थिए डा. विष्णु जोशी। त्यो हरियाली र सफा चौर देखेर देउडा खेलौं खेलौं लाग्यो।
अवसर नै अवसरको भूमि हो अमेरिका। अल्छीहरूको होइन, काम गर्ने राष्ट्रप्रति इमानदारिता देखाउनेहरूको स्वर्णिम भूमि पनि भएकाले मानिसहरू निकै बेफुसर्दिला छन्। उनीहरू नेपाली र भारतीय नागरिकहरूझैं गफ गर्दैनन्। जोडाजोडीहरू पनि अरूलाई असर नपरोस् भनेर सानो स्वरले वार्तालाप गर्छन्। सबैले गाडी चलाउँछन्। एक हातमा ब्रेड अर्को हातमा कफी पिउँदै गन्तव्यमा पुग्छन् अमेरिकीहरू।
राष्ट्रपतिद्वयको टेलिभिजन बहस
आगामी नोभेम्बरको पहिलो मंगलबार सम्पन्न हुने अमेरिकी राष्ट्रपतिको बहस चर्चामा छ पनि, छैन पनि। बौद्धिक र जागरुक वर्गका लागी राष्ट्रपतिको चुनाव हटकेक बनेको देखिन्छ तर अधिकांश श्रमजीवि वर्गका लागि खासै चासोको विषय बन्दो रहेनछ। त्यस दिन पंक्तिकार विष्णु जोशीका घरमा पाहुना लागेको थिएँ बोस्टनमा। टेलिभिजनमा आगामी राष्ट्रपतिका उम्मेदवार ट्रम्प र कमला ह्यारिसबिच कडा प्रतिस्पर्धा चलिरहेको थियो।
राजनीति देश निर्माणका लागि नभएर महिलाले गर्भ पतन गराउन पाउने कि नपाउने ? युक्रेन र रसियाबिचको द्वन्द्व, भुटानी शरणार्थी मामला, मध्यपूर्वमा चलिरहेको द्वन्द्व कसरी अन्त्य गर्ने ? विश्वका गरिब राष्ट्रका लागि विकासको नयाँ मोडल के हुन सक्छ ? अमेरिकामा बस्ने आप्रवासीहरूको समस्या, एसियाली दुई ठुला मुलुक चीन र भारतबिचको सम्बन्ध, उत्तर कोरियाली देशले मिसाइल किन परीक्षण गरिरहेको छ ? आदिबारे बहस भइरहेको थियो।
बडो सहज ढंगले पत्रकारको प्रश्नको उत्तर दिइरहेकी कमला ह्यारिस अमेरिकाकी दास्रो महिला उम्मेदवार हुन् डेमोक्रेट पार्टीकी। धेरैले उनको प्रस्तुति र अमेरिकी नागरिकले ट्रम्पको भन्दा बढी मन पराएको भनाइ छ।
बौद्धिक वर्ग कमलाको पक्षमा रहेका देखिन्छन् तर यसअघिकी राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनले पराजयको सामना गर्नु परेकाले महिला उम्मेदवारको विजयमा शंका गर्छन् आप्रवासी नेपालीहरू। दुइटा पार्टीमा नलागेको तर १० लाखजति नागरिकको मतले निर्धारण गर्छ विजय भन्छन् जोशी।
अमेरिकामा पनि राजनीतिक जुलुस
विकासको चरम रूप लिएको अमेरिकामा पनि ठाउँठाउँमा बेलाबखत जुलुस निस्कँदा रहेछन्। ती जुलुसबारे स्थानीय सरकारलाई आयोजकले पहिले नै सूचना दिएको हुन्छ। नेपालजस्ता अल्पविकसित राष्ट्रमा गरिने नारा, धर्ना आमसभाभन्दा भिन्न रहेछन्। खानेपानी, शिक्षा, स्वास्थ्य, घर–टोलको समस्याबिच सडकमा पोख्ने चलन पुरानो हो नेपालमा।
सबै कुरामा सम्पन्न राष्ट्रमा मानव अधिकारका विषयमा विदेशमा नारी–पुरुषबिच विभेद विशेषगरी बालबालिकाको अधिकारप्राप्तिका लागि गरिने रहेछन् धर्ना जुलुस।
नायक कृष्ण मल्ल, शर्मिला मल्ल, नायिका वसुन्धरा भुसालसहित अमेरिकामा नेपाली समाजका प्रतिष्ठित व्यापारी र वरिष्ठ समाजसेवी शिव श्रेष्ठ, नेपाल फिल्मी समाजका उपाध्यक्ष मोहनकृष्ण श्रेष्ठ, नायक रवीन्द्र खड्का, डा. घनश्याम भुसाल र पंक्तिकार वोस्टन सहरको डाउनटाउनमा जाँदै थियौं।
एउटा फराकिलो चोकमा हातहातमा प्लास्टिकका खाली बाल्टिन ठटाइरहेका ७०-८० जना अमेरिकन रंगीबिरंगी लुगामा उभिएका देख्यौं। उनीहरूमध्ये कोही सिठी बजाइराखेका, कोही माइकमा गीत सुनाइरहेका, बाँकी नाँचिरहेका हामीले गाडीको झ्यालबाट देख्यौं। साथीहरूले मतिर संकेत गर्दै भने– २०६२-६३ को जनआन्दोलन यहा पनि सुरु गरेछन्, दाइ पनि झ्याम्म झ्याम्म गीत गाउन जाने हो कि?
एकछिन रमाइलो भयो। जुलुसको औचित्य के रहेछ भनी बुझ्दा हातहातमा लिएका प्लेकार्डमा लेखिएको थियो-‘महिलाले गर्भपतन गराउन पाउनुपर्छ, इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्व तुरुन्त समाधान गरिनुपर्छ, त्यहाँ मारिएका बालबालिका र महिलाका परिवारले क्षतिपूर्ति पाउनुपर्छ।’
एकछिन जाम भएको सो चिल्लो र सफा सडक खुला भयो र हामी अगाडि हुइँकियौं। एटलान्टिक महासागरको तीरमा रहेको सो सहरमा बेलायती महारानी बस्ने स्वर्णगृह अग्ला अग्ला भवनको बिचमा देखिन्थ्यो।
बेलायतविरुद्ध अमेरिकनहरूले अन्तिम लडाइँ लड्दा पराजित भएर बेलायतीहरू पानी जहाजमा चढी स्वदेश फर्केका थिए रे। सँगै उभिएको गगनचुम्बी ‘म्यारोट लङ ह्वार्फ’ होटेल सात स्टारको रहेछ। एक रातको १९ सयदेखि तीन हजार डलर तिरेर पाहुनाहरू बस्दा रहेछन् भनी जानकारी दिँदै थिए भाइ अनिल संग्रौला।
नागरिकप्रतिको जवाफदेहिता
उइसक्यान्सिन राज्यको ग्रीनवईमा अछाम जिल्लाबाट गएका मानिसहरूको बस्ती छ। नवराज उपाध्याय, हेमराज शर्माहरूको निमन्त्रणामा ब्रुकफिल्डबाट डोटीका गोविन्द फुलारा र पंक्तिकार चार घण्टाको दुरीमा रहेको सो ठाउँ गयौं। समथल सडकको दायाँबायाँ हरिया मकै पाकिरहेका देखिन्थे। हरियाली सौन्दर्य, घाँसे मैदान नेपालका जस्तै रुखविरुवा, बिचबिचमा पानीका तालहरू, कतै फलेका राताम्मे स्याउका बोटहरू नुहेका देखिन्थे।
अमेरिकामा फलफूलहरू रुखबाट टिपेर खाने चलन रहेनछ रोग लाग्छ भनेर। स्याउ फलेको देखेर जुम्लाको र तालहरू देखेर पोखरा र राराको याद आयो। बिचबाटोमा गाडीमा आगो लागेको देख्यौं। एकैछिनमा बारुण नियन्त्रक यन्त्र र प्रहरीको भ्यान कुदेर आयो। छिनभरमै आगो निभाए। मानिसलाई उपचारका लागि पुलिसले सुरक्षित तवरले अस्पताल लग्यो।
दुर्घटनामा परेका जोसुकै व्यक्तिलाई यसरी निःशुल्क रूपमा सरकारले उपचार गरिदिन्छ। आराम नहुँदासम्म स्थानीय सरकारले निजको परिवारलाई निःशुल्क रूपमा सम्पूर्ण खर्च बेहोर्छ। यदि कामका सिलसिलामा सडक दुर्घटनामा परी ज्यान गुमाएको छ भने जीवनभर स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, यातायातजस्ता आवश्यकीय खर्च बेहोर्छ भनी फुलारा जानकारी दिँदै थिए।
सरकार नागरिकका लागि अभिभावकको भूमिका निर्वाह गर्छ। नागरिकहरू पनि सरकारप्रति पूर्ण निष्ठावान हुनुपर्दो रहेछ। जीवन बिमा त त्यहाँ अनिवार्य नै रहेछ। अशक्त असहाय, रोगी आदिका लागि सरकारले सम्पूर्ण खर्च बेहोर्ने रहेछ। नेपालमा खाल्डाखुल्डीमा परी सवारी साधनबाट कैयौं नेपालीको अकालमा ज्यान गएको छ।
नेपाल सरकारलाई थाहा भएर पनि सडक दुर्घटना, हवाई दुर्घटनामा परी बर्सेनि सयौं नेपालीको ज्यान जाँदा पनि घाउमा मलमपट्टी लगाउनेबाहेक नेपाल सरकारले नागरिकप्रति खासै जिम्वेवार भूमिका खेलेको देखिँदैन। त्यो ठाउँका सबै घरमा भोटे ताल्चा नलगाई मानिसहरू काममा जान्छन् फर्कन्छन्। सुरक्षा स्थानीय सरकारले नै गर्छ भन्छन् गोविन्द फुलारा।
हाम्रो देशमा कैदीहरूलाई तोकेको सजायअनुसार कैदको म्याद भुक्तानी नगरे पनि हुन्छ। भनसुनका आधारमा राष्ट्रप्रमुखका हातबाट बाँकी कैद मिनाहा हुन्छ, कैदी छुट्छ। अमेरिकामा पूरै सजाय भोग्छन्। बरु सरकारले कैदीहरूलाई प्रशस्त मात्रामा सुविधा दिने गरेको सुनियो।
धार्मिक स्वतन्त्रता
भनिन्छ, अमेरिकाका विभिन्न प्रान्तमा विश्वका विभिन्न मुलुकबाट बसोबास गर्ने मानिसहरूको संख्या अमेरिकी मूलका नागरिकको जति नै छ, जसमध्ये एसियाली महादेशका नागरिकको संख्या बढी छ।
आआफ्नो धर्मअनुसार चाडपर्व मनाएका देखिन्छन्। भारतीय मूलका नागरिकले धेरै प्रान्तमा हिन्दु मन्दिरहरूको स्थापना गरेर वैदिक परम्परालाई जोगाएका देखिन्छन्। सिकागो जाँदा बिचमा ठुलो हनुमानको मन्दिर छ।
यसैगरी डालसमा आकर्षक सिद्धिविनायक मन्दिर स्थापना गरिएको रहेछ। प्रत्येक मंगलबार र शनिबार सो मन्दिरमा ठुलो भिड लाग्दो रहेछ। डालसकै अर्को ठाउँमा नेपाली शिव मन्दिर स्थापना गरिएको छ।
दिनहुँ दर्शनार्थीको भिड लाग्ने गर्दोरहेछ। राजधानी अस्ट्रिनमा पनि शिव मन्दिरको स्थापना नेपाली मूलका भक्तजन भोजराज भट्टले गरेका छन्। मासाचुसे राज्यको वास्टनमा पनि शिवजी र बुद्ध मन्दिर स्थापना गरिएको देखियो।
अमेरिकाको विधानअनुसार संघसंस्थाहरू, मन्दिरहरू स्थापनाका लागि ५०१ ‘सि’ नं. मा दर्ता गरेपछि कर छुट हुन्छ भनी जानकारी गराउनुहुन्छ बास्टन निवासी विरोचन नेपाल। देवमन्दिरहरू वैद्धिक विधिअनुसार स्थापना गरेको देखियो। यी हिन्दु मन्दिरहरूमा धार्मिक परम्पराका साथै विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमहरूको आयोजना पनि सम्पन्न गरिँदा रहेछन्।
कुनैकुनै ठाउँमा त अमेरिकनहरू स्वयं उपस्थित भएर हिन्दु परम्पराअनुसारका कार्यक्रममा प्रमुख अतिथिका रूपमा पनि सहभागिता जनाएको सुनियो। पाकिस्तानीहरूको घरमा भूतप्रेत नलागोस् भनेर नानाथरी कपडाले बेरेर मुकुन्डो लगाएको पनि देखियो। त्यसैले सबैथरी जातजाति र परम्परा कायम राख्न सक्ने विश्वका नागरिकहरूको साझा घर पो रहेछ अमेरिका।
आश्रय दिने मुलुक अमेरिका
अमेरिका भनेपछि हुरुक्क नहुने नेपाली को नहोला र ? रहरको मुलुक मात्र होइन, प्रहरको मुलुक पनि हो अमेरिका। घण्टाको १६ डलर कमाइ हुन्छ। त्यसैले सबैजना कामप्रति बफादार देखिन्छन्। खाने र सुत्ने कुनै ठेगान नहुँदा फ्रिजभित्र राखिएका खानेकुरा खानुपर्दो रहेछ। लोग्नेस्वास्नी, केटाकेटीसँग बसेर खान पाउनु त भाग्य नै हो।
कुनै बेला त लोग्नेस्वास्नीको देखादेख पनि हुँदो रहेनछ कामको व्यस्तताले। दिनमा झैं रातिको प्रहरमा बढी काम गरिन्छ त्यो मुलुकमा। हाम्रो देशमा सरकारले कलकारखाना आदिको स्थापना गरिदिएको खण्डमा युवाहरूले रोजगार पाउने थिए कि ? पूर्वसचिव, पूर्वसांसद, हरेक पार्टीका नाम चलेका व्यक्ति, अध्ययनरत विद्यार्थीहरू मात्र नभएर नेपालमा भ्रष्टाचार गरी लुक्न गएका व्यक्तिहरूको पनि आश्रय स्थल अमेरिका बनेको छ।
युवाहरूको नेपाल हेर्ने दृष्टिकोण
जन्मभूमिको माया सबैलाई लाग्छ। हजारौं युवालाई नेपालको गहिरो माया छ। वर्षौंदखि अर्काको भूमिमा बसेर काम गर्नु सजिलो कहाँ छ र ? हामी बाध्यताले यहाँ बसेका हौं भन्छन् चावहिल स्थायी घर भएका युवा राजन खनाल, अछाममा जन्मेर काठमाडौंमा हुर्की अमेरिका भासिएका टिबी भण्डारी। यस्तै गुनासो पोख्छन् हेटौंडा घर भएका हाल बोस्टनमा बस्दै आएका शिव श्रेष्ठ।
उल्लिखित नामहरू प्रतिनिधि पात्र मात्र हुन्। एनआरएन सँग सम्बद्ध धेरै युवाहरू जसले नेपालमा बाढीपहिरो, भूकम्प आदि जस्ता दैविक प्रकोपमा परी मृत्यु भएका र घाइते नेपालीजनलाई बेलाबेलामा सक्दो रकम नेपालमा पठाएर सेवा दिइरहेका छन्। उनीहरू पनि नेपाल फर्कन चाहन्छन्। तर नेपालको बेरोजगारी समस्यासँग अब उनीहरू जुध्न सक्दैनन्। यो मुलुकमा कामको धेरै सम्भावना छ।
विडम्बना, देशका प्रत्येक राजनीतिक पार्टीका नेता कार्यकर्ता पाल्नका लागि आफ्नो परिवारका लागि सम्पत्ति जम्मा गर्न शीर्षस्थ नेता र तिनका नातेदार नै लागिपर्छन्। देशमा प्रगतिका लागि गरिएका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका कृष्ण पहाडीजस्ता व्यक्तिलाई मौका नै दिँदैनन्। अनि नेपालमा के लोकतान्त्रिक शासन प्रणाली छ भन्नु ? उनीहरूको राष्ट्रप्रतिको पीडामय प्रश्न हो यो।
हुन पनि हो, नेपालबाट बर्सेनि नेता, सांसद, प्रशासनका उच्च ओहोदाका व्यक्तिहरू अमेरिका लगायतका मुलुकमा भ्रमण गर्छन्। परिणाममा त्यो भ्रमण राष्ट्रको हितका लागि सम्झनलायक बन्दैन। ती व्यक्तिको वैयक्तिक विवरणमा काम देला तर राष्ट्र र समाजका लागि बोझ मात्र हुन्छ।
हालै संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आएका प्रम ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाप्रति पनि अमेरिकामा बसोबास गर्ने धेरै युवाले अविश्वास प्रकट गरे। त्यसैले पनि पावर होइन, प्रतिभाको कदर गरिनुपर्छ देशमा।
योगदान र तपस्याको कदर नगरुन्जेल जुनसुकै सरकार आए पनि नेपाली राजनीतिक खेल भ्रष्टाचारीको झुन्डमा मात्र सीमित हुन्छ भन्छन् अमेरिका बसोबास गर्ने हजारौं युवा। त्यसैले नेपाली राजनीतिमा थैली छ पद छ, थैली छैन सम्भावना छैन भन्ने भाष्य बदल्न जरुरी देखिन्छ।
प्रकाशित: ३ कार्तिक २०८१ ०८:५१ शनिबार