कानून, न्याय तथा संसदीय मामलामन्त्री अजयकुमार चौरसियाले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन्।
बिहीबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले यस्तो बताएका हुन्। उनले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पार्टीहरुको विकल्प पार्टीहरु नै भएको बताए। संविधान सभामार्फत जनताले हटाएको राजतन्त्रले पुनः संविधान उल्ट्याएर तानाशाही लाद्न खोज्ने प्रवृत्ति देखाउनेहरुसँग सरकारले कुनै किसिमको सम्झौता गर्न नहुने बताए।
उनले राजा चाहने दलहरुले दुई तिहाइ जनमत लिएर संविधान परिवर्तन गरी आफूले चाहेको व्यवस्था कायम गर्न चुनौति दिए। उनले स्रोतसाधानको कमीका कारण जनताका असन्तुष्टिहरुलाई सम्बोधन गर्न नसकेको बताए। राजनीतिक दल तथा जनप्रतिनिधिहरुमा भएका कमीकमजोरी सुधार गर्दै जानुपर्ने उनको भनाइ छ । भूकम्प, बाढी पहिरो, कोभिड जस्ता प्राकृतिक संकटमा सरकारले सीमित स्रोतसाधानका बाबजुत सर्वसाधारको आवास निर्माण तथा क्षतिपूर्तिका राम्रो व्यवस्था गरेको दाबी गरे। उनले तीनकुने घटनाबारेमा सरकारले निश्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनु पर्ने माग गरे।
प्रकाशित: २१ चैत्र २०८१ १८:१३ बिहीबार