मूलरले चिनाएजस्तै उपन्यास मानव अनुभवको निरुपण हो जहाँ जीवनको आलोचना रहन्छ अथवा क्लारा रिब्सले व्यक्त्याए जस्तै उपन्यास वास्तविक जीवन,चालचलन, र आफ्नोल समयको तस्वीर पनि हो।
समय गतिशील छ र यही गतिशीलताले मान्छेको सभ्यतालाई आजको बिहानीसम्म ल्याइपुर्याएको छ। यस अर्थमा उपन्यास समयको अभिलेखन पनि त हो। त्यसैले उपन्यासको चियोचर्चो गर्दै गर्दा अर्नेष्ट ए बेकरलाई सम्झन्छु उनले भनेका थिए कि उपन्यास कल्पित आख्यानका माध्यमबाट गरिएको जीवनको व्याख्या नै हो।
संसार थरीथरी मान्छेहरूको बगैँचाजस्तै छ र रुचि क्षमता र भावका अनेकौं आयामहरू पनि छन्। त्यसैले त संसारको यो विराटता सिर्जना भयो। दर्शन, विचार र सिध्दन्तका पहाडहरू खडा भए, एक अर्काको पहाडका उचाइ सम्वर्धन र प्रवर्धनका निम्ति अर्काको अग्लाइ ताछ्ने, भत्काउने र खुइल्याउने परिघटनाहरू पनि बग्रेल्ती जन्मन थाले जहाँबाट युध्द, हिंसा र संहारका डरलाग्दा उपक्रमहरू पनि प्रारम्भ भए। हिंसाबाट वैश्विक शान्तिको परिकल्पनासाथ जन्म भयो बुध्द दर्शन। आज धेरैले मन पराउने, स्वीकार गर्ने तर अपनाउन नसक्ने व्यावहारिक र आवश्यक दर्शनको रूपमा व्याख्येय छ बुध्दवाद।
त्यसैलाई लिएर आख्यानकार शैलेन्द्र अधिकारीले अर्हत उपन्यास रचना गरेका छन् जुन बुध्दको धरावतरणदेखि मृत्युसम्मका केही महत्त्वपूर्ण परिघटनाहरू बटुलेर तयार गरिएको छ। मूल कथालाई नबङ्ग्याईकन काल्पनिक कथासूत्रको आवरण दिएर यसको संरचना गरिएको छ। यो एकप्रकारले बुध्दको जीवनीको बुनोटमा तयार भएको संरचना हो।
बुध्दको जन्मसमयदेखि आजसम्म सिध्दार्थ गौतम कतै इतिहास, कतै मिथक र कतै धर्मगुरु भएर बाँचेका छन्। कसैले बुध्दलाई सामान्य साधुसन्तका रूपमा प्रस्तुत गरेका छन् त कसैले सिध्द महामानव वा असाधारण देवताका रूपमा।
यस उपन्यासमा शैलेन्द्रले सिध्दार्थ गौतमलाई ज्ञानको उचाइ उक्लिएका सामान्य धर्मगुरुका रूपमा कथानायक बनाएका छन्।
उपन्यासको कथानक
उपन्यासको कथानक बुध्दजीवनी नै हो। उपन्यासको प्रारम्भ गौतम बुध्दको महापरिनिर्वाणपछि भिक्षु सङ्घमा आएका र आउन सक्ने मतान्तरहरूलाई मध्यनजर गरेर प्रस्तावित भएको कल्पित प्रथम भिक्षु सम्मेलन (सङ्गयाना)बाट गरिएको छ।
यस उपन्यासको मूल कथा कुशिनगरको शालोद्यानमा नै उब्जाएर त्यहाँ नै समाप्त गरिएको छ जहाँ बुध्दको महापरिनिर्वाण प्राप्त भएको थियो। यो कथानकको सूत्र भने उपन्यासकारको कल्पनाशीलताबाट औपन्यासिकता सिध्द गर्न तयार गरिएको हो। बुध्दको इहलीला समाप्त भएको स्थानमा विशाल चैत्य निर्माण गरिएको थियो।त्यसैको उद्घाटनमा भिक्षु आनन्दले दिएको पाँच घण्टा लामो प्रवचन नै उपन्यस्त विषय हो।
पाँच घण्टा लामो प्रवचनलाई लेखकले पैतालिस उपशीर्षक दिएर कथाहरूको विस्तीर्णता तयार गरेका छन्। गौतम बुध्दको मृत्यु तथा मृत्यु संस्कार वर्णित प्रारम्भ खण्ड र प्रवचन तयारीको दोस्रो खण्ड समेतको योगलाई हेर्दा यस उपन्यासको लम्बाई सत्चालिस खण्डसम्म पुगेको देखिन्छ।
प्रथम खण्डलाई आदाहनोत्सव भनिएको छ जहाँ बुध्दको मृत्युको चर्चा रहेको छ। त्यसपछि दोस्रो खण्डमा चैत्य निर्माण र उद्घाटनका प्रसङ्गहरू छन्। तेस्रो खण्डमा बुध्दले आफ्नो आयु क्षीण हुँदै गएको र महापरिनर्वाण समय भइसकेको चर्चा आनन्दसँग गरेको सन्दर्भ छ।
सम्यक् दृष्टि प्राप्त भइसकेका बुध्दात्माहरूले तीन महिना अगाडिदेखि नै आफ्नो मृत्युको पूर्वसङ्केत गर्छन् तदनुरूप बुध्दले आनन्दसँग आफ्नै मृत्युको पूर्वघोषणा गरेका र त्यसलाई शोकसुर्ताको समयको रूपमा होइन बरु नियमित प्राकृतिक प्रक्रियाको रूपमा लिन सुझाएका प्रसङ्गहरू छन्।
धेरै खण्डहरूमा अनोमा १ भनेर आफ्नो सन्यस्त जीवनको प्रस्थानविन्दु रहेको आनोमा नदीलाई सम्वोधन गरेर कथा प्रारम्भ भएका छन्।
यसभित्र अन्य, उद्विग्नता, अग्निज्वाला, प्रज्ञान, मरुद्यान, दुःखबोध, सर्वत्याग, वुभुक्षा, उग्रपथ, विवर्तन, पदानुग, भोगवृत्ति, निस्श्रेयसोन्मुख, सोत्सव, दौहृदय, सत्पथ, कर्मविपाक, नृपाभिमान, दीपस्था, विषयभोग, अंश, दादृता, अपमार्ग, उपस्थाता, कामाग्नि, विमुक्ति, मृत्युपर्यन्त, वीजवपन, प्रणाश, नृमांश, प्रमुदिता, प्रेमार्त, दूषण, मनस्पूत, जातदर्प, दुर्नियत, प्रतिहनन्, विहित, अपकर्ष, विच्छेदन, विलयन, स्वप्नदर्शन, विदेह,परिपूर्ण आदि उपशीर्षकहरूमा भिन्नभिन्न घटनाका कथाचूर्णकहरूको प्रयोगमार्फत देखाइएको छ।
सनातन धर्मग्रन्थहरूमा श्रीकृष्ण अर्जुन सम्वादबाट निर्मित गीता,परिक्षित शुकदेव सम्वादबाट निर्मित भागवत् भएजस्तै यसमा पनि आनन्दले आफूसँग बुध्दले कुन प्रसङ्गमा के विषयको सम्वाद गरेका थिए भन्ने स्मरण भिक्षुहरूसँग गरेका छन्। यो एकप्रकारले धर्मदेशनाको पुनस्सिर्जनबाट बनेको छ। बुध्दवादमा सबै जात, धर्म, संस्कृति, परम्परा र पेशा, व्यवसाय भएकाहरू एकैस्थानमा अटाउन सक्छन् भन्ने देखाउन अङ्गुलिमाल जस्ता हिंस्रकहरू, भद्दा जस्ता प्रेमार्तहरू, वेश्याहरू, राजपुत्रहरू ऋषि मनिषिहरू एकै भान्सा, छाना र संस्कारमा दीक्षित गरेर देखाइएको प्रसङ्ग कथामा समेटिएको छ।
पात्रहरू
उपन्यासकारले प्रस्तुत उपन्यासमा पनि बुध्दकालीन परिवेश र भोगाइहरूबाट तत्जन्य पात्रहरू नै टपक्क टिपेका छन्। बुध्दका जीवनका महत्त्वपूर्ण क्षणमा निकट रहेका आनन्द, अनाथपिण्डक, सारिपुत्त, महाकश्यप, मौद्गल्यायन, प्रजावती गौतमी, यशोधरा, शुध्दोधन,अजात शत्रु, देवदत्त, प्रजितसेन, महानाभ, विशखा, विड्डुभहरूलाई भूमिकामा देखाएका छन्। प्रधान भूमिका गौतम बुध्द र आनन्दको नै रहेको छ।
परिवेश
उपन्यासको मूलभूत परिवेश उपन्यासकारले सिर्जना गरेका काल्पनिक परिदृष्य र घटनाहरू निर्मित छ। बुध्दको महापरिनिर्वाणको पहिलो वर्ष शालक्योद्यानमा निर्मित चैत्य उद्घाटन क्रममा भिक्षु आनन्दले दिएको पाँच घण्टा लामो प्रचनलाई केन्द्रीय परिवेश बनाइएको छ।
भिक्षु आनन्दलाई प्रमुख वक्ता बनाएर प्रारम्भ गरिएको प्रवचन पाँच घण्टा चलेको देखाइएको छ र प्रवचनको समाप्तिसँगै उपन्यस्त परिवेश अन्त्य भएको छ। यसरी हेर्दा प्रत्यक्षत: कुशिनगरको शालक्योद्यान नै मूल भौगोलिक परिवेश देखिन्छ भने अप्रत्यक्षत: वर्तमानमा बुध्दसर्किटको कल्पना गरिएको लुम्विनीदेखि श्रावस्ति, कुशिनगर, वैशाली, नालन्दा, बोधगया हुँदै सारनाथसम्मको लामो भूखण्डलाई यसले अप्रत्यक्ष भूपरिवेश बनाएको छ। जहाँजहाँ बुध्दले पुगेर तप साधना गरे, धर्मदेशना गरे तिनलाई अप्रत्यक्ष रूपमा अभिलेखन गरिएको छ।
प्राकृतिक परिवेश प्रत्यक्षत: वसन्त ऋतुको बैशाख पूर्णिमाको दिन आनन्दले प्रवचन दिएको समय नै हो भने अप्रक्षतस्बुध्दले ज्ञानप्राप्तिका लागि गरेका प्रेरणादायी तपस्चर्या, गर्मीमा पञ्चाग्नी तपन, जाडोमा बरफमा गरिएका ध्यान साधना र ज्ञानप्रप्तिमा अभ्यासहरुका चर्चा गरिएका छन्।
उतिबेलाको राजधर्म,राजनैतिक खिचातानी, शक्तिको होडबाजी,सत्ताप्राप्तिका तिकडम, हत्याका श्रङ्खलाहरूलाई मानवीय परिवेशका रूपमा यसभित्र समेटिएका छन्।
उपन्यासको दार्शनिक भवभूमि वा प्राप्ति
प्रथमत: उपन्यासले सबै वैचारिक धारहरूको सङ्क्षेप मध्यमार्ग नै बुध्द दर्शन हो भन्ने तथ्यलाई सकारेको छ। बुध्दवाद नवमार्ग र मानव धर्मको मार्ग हो भन्ने दृष्टान्त दिएको छ। धेरै लेखकहरूले दर्शनका पीठिकाबाट आफ्ना शब्दका जलप लगाएर मौलिकताको पाण्डित्य देखाउन खोज्छन् र त्यहाँबाट चिप्लिएर फुस्सा पाउने गरेका छन् तर लेखक त्यस हर्कतबाट जोगिएर बुध्द दर्शनको कथ्य भाँच्ने कोसिस गरेका छैनन् त्यो लेखकीय इमानदारी उनले प्रकट गरेका छन्। चार आर्यसत्य, अष्टाङ्ग, उनका मानवीय उपदेशहरू र शान्तिका लागि दिएका प्रवचनहरू जस्ताको तस्तै प्रस्तुत गरेका छन् तर बुध्दले अन्त्यमा ज्ञान हासिल गर्न प्रयोग गरेका विपश्यनाको जति चर्चा हुनुपर्थ्यो त्यो अटाएको छैन।
मुर्तिपूजाभन्दा महान कार्य मानवता पूजा हो। शान्ति बाहिर होइन आफूभित्रबाट नै खोज्न सकिन्छ र सांसारिक दुस्ख निवारणका लागि त्यसको कारणसम्म पुगेर उधिन्नुपर्छ। कारण मिटाउन सकियो भने दुस्खको समूल अन्त्य हुन्छ। जब दुस्ख रहँदैन तब शान्ति र सुखको लदावदी रहन्छ। संसार अति सङ्ग्रह, लोभ, डाह र ईर्ष्याको अग्निमा जलिरहेको छ त्यसबाट त्राण पाउन त्रिशरण नै एक मात्र उपाय भएको बुध्द विचारको भावलाई उपन्यासमा दुरुस्त उतारिएको छ।
जतिबेला दीपङ्करहरू, शङ्कराचार्यहरू, अन्य ऋषिकुलका तपस्वीहरूको सनातनी ध्यान, ज्ञान र औपदेशिक गुरुकुलहरू प्रचलनमा थिए गौतम बुध्दले त्यतिबेला यो नयाँ धारणा जन्माएका थिए र त्यसलाई संस्कारित गर्दै सङ्गठनात्मक स्वरूप पनि दिएका थिए। उनको धारणा क्रान्तिकारी ,समसामयिक र नवपन्थको प्रवर्तन पनि थियो त्यो सम्यक एवम् मध्यमार्गी थियो भन्ने सत्यलाई लेखकले अङ्गीकार गरेको पनि देखिन्छ।
समग्रमा उपन्यासको मूल भावभूमि बुध्द दर्शनको आलोक हो र त्यसैको प्रकाशलाई वर्तमान पुस्ताको रुचिअनुकूल बनाएर पठनीय सामङ्ग्रीको उज्यालो पस्किनु नै लेखकको ध्येय रहेको देखिन्छ।
संरचनात्मक कला र भाषिक प्रस्तुति
"अर्हत" उपन्यासकाे मूल शीर्षक बनाइएकाे छ। संस्कृतमा यसलाई "अर्हःप्रशंसायां कर्म्मणि शृत: अथवा स्थितार्थवादी च देवाेहर्न परमेश्वर: वा तन्मतं सर्व्बदर्शनसङ्ग्रहात् सङ्गृह्यते। ननु न कश्चित पुरुषविशेष: सव्वज्ञपदवेदनीय: प्रमाणपध्दतिमध्यास्ते सद्भावग्राहकस्य प्रमाणपञ्चकस्य तत्रानुप ..!
यसको भाव पूजनीय स्तुतियोग्य व्यक्तिलाई दिइने पदवी वा विशेषणलाई नै अर्हत् भनिएको हो। सारमा अर्हतको अर्थ उपासना वा स्तुति गर्न योग्य महापुरुष हो। यस उपन्यासमा सिध्दार्थ गौतमलाई मूल नायक बनाएर उनको जीवनको समग्रतालाई चित्रण गरिएको छ।
सिध्दार्थ गौतमले राजसी भोगमय जीवन छोडेर त्याग र शान्तिको मार्ग चयन गरे। संसारलाई शान्ति ,आनन्द र सत्यको आलोक दिएर सम्पूज्य बने। त्यसैले उनको नामलाई अनुकूल हुने एकशब्दीय शीर्षक विषयानुकूल छ। उपयुक्त चयन भन्न सकिन्छ।
उपन्यासमा विन्यस्त कथातत्वलाई संस्मरणात्मक शैलीमा श्रृङ्खलित रुपले प्रस्तुत गरिएको भएपनि पहिले उपशीर्षक र दोस्रो उपशीर्षकमा जोडिने तन्तु अलिक कमजोर भएको महशुस हुन्छ किनकि बुध्दको महापरिनिर्वाण पश्चात् भएको सङ्गायनामा र चैत्य उद्घाटनमा भिक्षु आनन्दले दिएको पाँच घण्टे प्रवचन एकै हो वा भिन्न रु पाठक अलमलमा पर्छन्।
आजका पाठक गहिराइमा पुगेर तथ्यलाई केलाउने जाँगर कम राख्छन् र सतहबाट नै तथ्यबोधको अपेक्षा राख्दछन् त्यसैले उपन्यसको कथाश्रृङ्खलामा बाँकि सबै उपशीर्षकहरुमा मिहीन ढङ्गको योजकत्व छ । यी दुई उपशीर्षकमा पनि उस्तै रसायन भइदिएको भए अझै यसको प्रभावकारिता बेजोड हुनसक्थ्यो । यहाँनेर योजक विच्छिन्न छ वा प्रसङ्गहीनता पाठकले महशुस गर्नु नपरेको भए हुन्थ्यो भन्ने ठान्छन्।
लेखकले उपन्यासको भाषा चयनमा निकै कसरत गरेका छन् र कथानुकुलता सिध्द शब्दचयन र वाक्यगठन भएको छ। बुध्दवादसँग जोडिएका दार्शनिक शब्दावलीलाई अर्थयुक्त बनाउन शब्दार्थ खण्ड थपिएकाले बोधमा उतिसारो कसरत पर्दैन पनि। अधिकांश वाक्यहरू सरल छन्। बोधगम्य छन् र ठाउँठाउँमा शान्त रस प्लावित भएर रसार्द्र बन्दै छुर्लुप्प बनाउने अवस्था सिर्जना गरेका छन्। यसो हुँदा हुँदै पनि केही ठाउँमा सङ्गतिगत बेमेल र निकै कम भाषिक टुटफुट रहनु उपन्यासको गरिमापूर्ण बनोट मान्न सकिन्छ।
अन्त्यमा नेपाली औपन्यासिक साहित्यको वर्तमानमा अर्हत् उपन्यासले भिन्न र अलग अस्तित्व कायम गर्ने निश्चित छ। महाभारतीय उपन्यासको उपजीव्यतामा संरचित योजनगन्धा र कृष्णा उपन्यासहरु उही विषयवस्तु र भिन्न संरचनाले तयार भएका यस अघिका प्राप्तिहरू हुन्।
उस्तै बुध्दको जीवनीको मूल कथातन्तु र अलग धार लिएर बनेको यस उपन्यासको शालीन प्रस्तुतिले नवीन स्थापना दिएको छ। बौध्द साहित्यको इतिहास र मिथकहरुका पुन: सिर्जनबाट औपन्यासक उपलब्धि शून्यप्रायस् भएको नेपाली साहित्यमा अर्हतको प्राप्ति बेजोड ,गणनीय र एतिहासिक रहने छ।
प्रकाशित: १ कार्तिक २०८१ १०:१० बिहीबार