७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

खोस्दा खोस्दै मेरो देशको चित्र खोसे!

मुक्तक

१) मुक्तक

सत्य सोचलाई मित्रताको डोरीले तान्छ भन्छन्

हरदिन हररात प्रगति हुँदै जान्छ भन्छन्

जसले अरूको डाह गर्छ उस्लाई भने हजुर

आफ्नै मनभित्र जलेको आगोले खान्छ भन्छन्।

२) मुक्तक

वसुधैवलाई प्रेमको धागोले बेर्न सके

माछा जस्तै गहिराइमा पुगेर हेर्न सके

कति सार्थक हुने थियो होला जिन्दगी मेरो!

सर्पले जस्तै यो देशको काँचुली फेर्न सके।

३) मुक्तक

न पिर फुकाउने ठाउँ छ

न शिर झुकाउने ठाउँ छ

न यो दिलभित्र तिम्रो

तस्वीर लुकाउने ठाउँ छ।

४) मुक्तक

मनलाई रोकेँ खारेँ गालेँ

उनलाई पनि मुद्दा हालेँ

आखिर दोषी आँखा रैछन्

व्यर्थै यस्तो कदम चालेँ।

५) मुक्तक

यदि म स्वप्न हुँदो हुँ त बिच्कने थिएँ

निन्द्राभरि उनीसँग जिस्कने थिएँ

गाजलु परेलीबाट सुटुक्क प्रवेश गरी

बिहानीको मुस्कानसँगै निस्कने थिएँ।

६) मुक्तक

माया त लाएको जस्तो हुनुपर्‍याे

वसन्त वहार आएको जस्तो हुनुपर्‍याे

असिना परेर बिलाए जस्तो माया के माया?

माया त सराव खाएको जस्तो हुनुपर्‍याे।

७) मुक्तक

कृष्णले अर्जुनको नेत्र खोसे

इन्द्रले ऋषि पत्नीको चरित्र खोसे

खोस्न त यहाँ पनि केके खोसेखोसे!

खोस्दा खोस्दै मेरो देशको चित्र खोसे।

९) मुक्तक

आँखा अगाडि अनुपम बाग छ

फूल हेर्न उत्कट मन लाग्छ

कमजोरी भन्ने कि वासना!

मनभित्र तीव्र अनुराग छ।

१०) मुक्तक

शीतल पवन बनेर आउँला

कि प्रकाशलाई भनेर आउँला

तिमीले आउ मात्र भन न प्रिय!

सुरङको बाटो खनेर आउँला।

(तीर्थराज अधिकारी ‘मुक्तकमणि’ का मुक्तकसंग्रह ‘सारवत’मा सङ्गृहीत।) 

प्रकाशित: २७ आश्विन २०८१ १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App