१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ लोकार्पण

इतिहास अन्वेषक भगिराज इङ्नामद्वारा लिखित तथा सङ्कलित पुस्तक ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ लोकार्पण भएको छ। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, इतिहासविद् दिनेशराज पन्त, प्रा. बालकृष्ण माबुहाङ, डा. कमल तिगेला, किराँत याकथुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, महासचिव निरन्ती तुम्बापो र लेखक इङनामले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।

इङ्नामको २०७७ सालमा ‘लिम्बुवानको दस्ताबेज सङ्ग्रह’ प्रकाशित भएको थियो। त्यस पुस्तकमा राख्न छुटेका तथा त्यसपछिका खोज–अध्ययनमा पाइएका अभिलेखहरू यस ग्रन्थमा समेटेर प्रकाशन गरिएको हो।

यस ग्रन्थमा सङ्गृहीत अभिलेखहरू काठमाडौं उपत्यका र लिम्बुवानका विभिन्न क्षेत्र, अड्डा र गाउँघरबाट सङ्कलन गरिएका छन्। यस ग्रन्थमा सङ्गृहीत अभिलेखहरू सेन, शाह, सिक्किमे र तिब्बती राजाहरूले पल्लो किरात लिम्बुवानका लिम्बू, याक्खा, लोहोरुङ, याम्फू र आठपहरियालगायतलाई राय, राऐ र राई आदि सम्बोधन गरी प्रदान गरेका लालमोहर, स्याहा मोहर, कस्यपत्र, पुर्जी, सनद र इस्तिहार आदि छन्।

लोकार्पित पुस्तकबारे बोल्दै बैरागी काइँलाले यहाँ समेटिएका विषयले तत्कालीन राजनीतिक अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थिति बताउने उल्लेख गरे। ‘परम्परागत रूपमा नभनिएको कागजपत्रमा लिपिबद्ध भएका मिति, तिथिहरूले त्यतिबेलाको लिम्बुवानको राजनीतिक, सामाजिक, आर्थिक सबै कुराहरू बुझ्न सक्छौं,’ काइँलाले भने।

कार्यक्रममा बोल्दै प्राध्यापक पन्तले नेपालको इतिहासलाई प्रामाणिक रूपमा अघि बढाउने ऐतिहासिक सामग्रीहरूको अनुसन्धान अझै खड्किएको बताए। ग्रन्थबारे तथ्यांकशास्त्री माबुहाङ, डिबी आङ्बुङलगायतले चर्चा गरेका थिए।

इतिहास अन्वेषक भगिराज इङ्नामको ‘लिम्बुवानको दस्ताबेज सङ्ग्रह’ ग्रन्थले मदन पुरस्कारप्राप्त कृति हो। त्यसअघि उनका ‘लिम्बू जातिको इतिहास’ र ‘तेह्रथुमको सब्बाङ्गी प्रथा’ (सहलेखन) कृति प्रकाशित छन्। लोकार्पित कृति मुन्धुम एकाडेमीले प्रकाशित गरेको हो। 

प्रकाशित: १९ आश्विन २०८१ १२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App