१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भूमिकामाथि सांसद साम्पाङको प्रश्नैप्रश्न, नैतिकताको आधारमा राजीनामा दिन माग

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहप्रति लक्षित गर्दै संसद्‌प्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन्।

शुक्रबार जारी विज्ञप्तिमार्फत उनले प्रधानमन्त्रीले आफ्नो संवैधानिक तथा संसदीय कर्तव्य पूरा गर्न नसकेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।

उनले प्रधानमन्त्री शाहले संसद्लाई अपमान गरेको र संसद्‍मार्फत सारा नेपाली जनताको लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको जिकिर गरे। उनले प्रधानमन्त्री संसद्‌प्रति गैरजिम्मेवारी भएको प्रमाणित गर्न चार कारणहरू प्रस्तुत गरेका छन्।

सांसद हर्कले प्रधानमन्त्रीले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला संसद् बैठक छाडेको, नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित भएको तथा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन उपस्थित नभएको आरोप लगाए। साथै उनले संसद्‌मा उपस्थित नभइ प्रधानमन्त्री आफ्नै कार्यालयबाट ‘लाइभ’ हेरेर बसेको दाबी पनि गरेका छन्।

विज्ञप्तिमा प्रधानमन्त्रीको यस्तो व्यवहारले संसद् र लोकतान्त्रिक अभ्यासको अपमान गरेको उल्लेख गर्दै संसद्‌मा मर्यादा र थिति बसाल्न नसक्ने प्रधानमन्त्री असक्षम र असफल देखिएको टिप्पणी गरिएको छ। उनले प्रधानमन्त्रीले जनताका प्रश्नबाट भाग्ने प्रवृत्ति देखाएको आरोपसमेत लगाए।

'प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई अपमान गरेको, संसद मार्फत सारा नेपाली जनताको लोकतन्त्र प्रतिको विश्वासलाई लत्याएको प्रमाणित हुन्छ। संसदमा मर्यादा र थिति बासाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिन्छ। यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको छ,' विज्ञप्तिमा भनिएको छ। 

यस्तै, जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ भन्दै साम्पाङले प्रश्न समेत गरे। आफ्नो धारातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने लुकेर बस्ने के प्रवृति हो यो? यसले कस्तो नजीर बसाउँछ? उनको थप प्रश्न रहेको छ।

सांसद हर्कले अध्यादेशमार्फत सरकार सञ्चालन गर्न खोजिएको भन्दै संसद्को औचित्यमाथि नै प्रश्न उठेको बताएका छन्। साथै उनले सीमा सुरक्षा, विपन्न नागरिकको संरक्षण तथा जनजीविकासँग सम्बन्धित विषयमा सरकारले न्यूनतम जिम्मेवारीसमेत पूरा गर्न नसकेको आरोप लगाए।

उनले कर्तव्य पूरा नगर्नेले नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्दै लोकतन्त्र र जनताको सम्मानका लागि प्रधानमन्त्रीले पद छाड्नुपर्ने बताएका छन्।

उनले भने, 'संसदलाई छलेर अध्यादेशको बाटो हिँड्ने सरकारलाई संसदको औचित्य र शक्ति याद दिलाउनु पर्ने देखिन्छ। अध्यादेशको बाटो लिएर सरकार चलाउन उद्दत प्रधानमन्त्रीले अभिभावकीय भूमिका खेल्न सकेको देखिँदैन। सीमा रक्षा गर्न नसक्ने नालायक सरकार गरिब दुःखी जनतालाई आतंकित बनाउन र बेघर बनाएर बेहाल बनाउन बाहेक अर्थोक केही नगरेको, न्यूनतम जिम्मेवारी समेत पूरा नगरेको प्रति खेद व्यक्त गर्दछु।'

प्रकाशित: १ जेष्ठ २०८३ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App