८ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

चाडपर्वका समय सुदूरपश्चिममा बढ्यो सवारी दुर्घटना

चाडपर्वको समयमा दुर्घटनाको जोखिम बढ्दै गएको छ। दसैँ, तिहार र छठजस्ता पर्वमा सवारी दुर्घटना बढ्ने गरेको तथ्याङ्कले देखाएको छ। यस वर्ष सुदूरपश्चिममा दसैँको अवधिमा दुर्घटना बढेको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार असोज २५ गतेदेखि ६ गतेसम्म सुदूरपश्चिम प्रदेशमा १५२ सवारी दुर्घटना भएका छन्। यो सङ्ख्या गत वर्षको तुलनामा बढी हो। 

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २४३ जना घाइते भएका छन्। सबैभन्दा बढी सवारी दुर्घटना कैलालीमा भएका छन्। कैलालीमा ८८ दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने १४६ जना घाइते भएका छन्। यसैगरी कञ्चनपुरमा ३५ सवारी दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने ५० जना घाइते भएका छन्।

गत दसैँदेखि छठ पर्वसम्म सुदूरपश्चिम प्रदेशमा १२२ सवारी दुर्घटना भएका थिए। दुर्घटनामा परी २३ जनाको मृत्यु भएको थियो भने ५३ जना घाइते भएका थिए।

२०७१ असोज २० गते दसैँ मनाएर धनगढी फर्कंदै गरेका यात्रु बोकेको बस डोटीको जोरायलमा दुर्घटना हुँदा २९ जनाको ज्यान गएको थियो। उक्त दुर्घटनाको पीडा अहिलेसम्म स्थानीयले भुल्न सकेका छैनन्। चाडपर्वको खुसीयालीसँगै दुर्घटनामा आफन्त गुमाउनुपर्ने पीडा वर्षौँदेखि उस्तै रहँदै आएको छ। सरोकारवाला निकायले औपचारिकता प्रदर्शन गर्नबाहेक सवारी दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी कदम चालेको देखिँदैन।

ठाउँठाउँमा ट्राफिक प्रहरी मात्रै, बेथितिमा सुधार हुँदैन

दसैँ, तिहार र छठपर्वका लागि आवतजावत बढ्ने गर्छ। दसैँमा घर आउने, फर्कने र आफन्तकहाँ टीका लगाउन ओहोरदोहोर गर्नुपर्ने भएकाले यात्रा गर्नेको सङ्ख्या ह्वात्तै बढ्ने गर्छ। सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारीसाधन चलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेका कारण दुर्घटना बढ्ने गरेको छ। तर यी कुरामा सुधार गर्न सरोकारवाला निकायले कुनै ध्यान दिएको देखिँदैन। यी सबै बेथितिमा ट्राफिक प्रहरी मौन बस्ने गरेको स्थानीय बताउँछन्।

सवारीसाधनले सिट सङ्ख्याभन्दा दोब्बर–तेब्बर यात्रु खचाखच बोकिरहँदा पनि त्यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले ध्यान नदिँदा यात्रुले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।

सानो हाइस, किया लगायतका सवारीसाधनमा समेत सिटभन्दा बढी यात्रु कोचाकोच भरेर लैजाने गरेकाले दसैँमा सार्वजनिक यातायातमा यात्रा गर्न जोखिमपूर्ण र सास्तीपूर्ण रहेको स्थानीय युवा हिमाल साउँदले बताए। ‘बाटोभरि जतिपनि मान्छे कोचेर सिटभन्दा तेब्बर बढी मान्छे राखेर लैजाँदा हामीले टिकट काटेर सिटमा गएकालाई पनि धेरै गाह्रो भयो,’ उनले भने। यात्रुले भनेका छन्, ‘चालक र सवारीसाधनका कर्मचारीले नटेर्ने र ट्राफिक प्रहरीले नियन्त्रण नगर्ने गरेको यात्रुको गुनासो छ।’

सरकारले औपचारिकताका लागि सूचना जारी गर्ने र सुरक्षाकर्मी परिचालन गर्नेबाहेक अन्य प्राविधिक तथा भौतिक पक्षमा ध्यान नदिएकाले दुर्घटना न्यूनीकरण हुन नसकेको जानकार बताउँछन्। सरकारले यातायातका साधनको मेकानिकल पक्ष र सडक पूर्वाधारमा ध्यान पुर्‍याउन सकेको छैन।

सडकमा चलिरहेका सवारीसाधनको अवस्था कस्तो छ, गाडी सडकमा कति वर्षदेखि चलिरहेका छन् भन्नेतर्फ सरकारी निकायको ध्यान पुगेको देखिँदैन।

यस्तै, कतिपय ठाउँमा सडक निर्माण गर्दा इन्जिनियरिङ मापदण्ड पूरा नहुनु, बिग्रिएका तथा भत्किएका सडक मर्मत नहुनु र दुर्घटनाको दृष्टिकोणले जोखिममा रहेका सडकबारे सरोकारवालाको ध्यान नपुग्नुले पनि दुर्घटनाको जोखिम बढाइरहेको जानकार बताउँछन्।

प्रकाशित: ८ कार्तिक २०८३ २०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App