७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

फरक विषय र शैलीमा लेखिएकाे ‘अविश्रान्त’ लघुकथासङ्ग्रह

पुस्तक

लघुकथा लेखन यात्राको छोटो समयमा दुई लघुकथासङ्ग्रह प्रकाशन गरेका डा.कुसुमाकर शर्माले यस क्षेत्रमा एउटा स्थान बनाइसकेका छन्। डा.कुसुमाकर शर्मा लघुकथाका कुशल विश्लेषक पनि हुन्। लघुकथाको क्षेत्रमा उनको लगाव निकै प्रशंसनीय देखिन्छ।

२०८० सालमा ‘हिउँको राप’ पछि एक वर्षको दौरानमा पुनः ‘अविश्रान्त’  लघुकथासङ्ग्रह बजारमा आएको छ। कृतिको नाम ‘अविश्रान्त’ नै आकर्षक लाग्यो।

मातापितालाई समर्पण गरेर लेखिएको ‘अविश्रान्त’ लघुकथासङ्ग्रहको प्रकाशक शब्दार्थ प्रकाशन रहेको छ। पन्ना पल्टाउँदा सुरुमै पढे, डा. हरिप्रसाद भण्डारीले लेखेको ‘फरक स्वादका लघुकथाहरू!’ जहाँ स्रष्टा भण्डारीले लघुकथाप्रेमीहरूका लागि  सारगर्भित विचार काेरेका छन्।  कृतिभित्रको एउटा आकर्षक पक्षको रूपमा पाएँ।

साठी लघुकथाको सिलसिलाभित्र सर्जकले आफ्नो जीवनको अविश्रान्त यात्रामा भोगेका, देखेका र सुनेका अनुभव एंव चिन्तन प्रस्तुत गरेका छन्। थोरै स्वदेश, धेरै विदेशको परिवेशलाई समाहित गरेर विविध विषयमा लघुकथा उनिएका छन्। लघुकथाहरूले देशप्रेमको भाव, जीवन संस्कार, मानवीय सच्चरित्र र दुश्चरित्रलाई उजागर गरेको  छ।

यसैगरी सामाजिक, राजनीतिक, न्यायिक, शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका दूषित पक्षमाथि व्यङ्ग्य कसिएको छ, गजबको प्रहार भएको छ। विज्ञान र प्रविधिका विषय उठान गरिएको छ। पारिवारिक मायाप्रेम, प्रेमिल भाव, महिला सशक्तिकरण, समलिङ्गी विवाह, प्रकृति दोहन र बचाऊ आदि विविध विषयभाव  बोकेका लघुकथाहरू रहेका छन्।

लघुकथाका मापदण्डका हिसाबले हेर्दा सर्जक निकै चनाखो भएकाले होला प्रायः सबै लघुकथा मानकमा बसेका छन्। गौरव, जरन, अभिद्रोह, आशा, कामचोर, अभियान, विद्यार्थी, मध्याउदी, कल्पवृक्ष, खेल, सत्ता, अभ्यास  जस्ता शीर्षकका लघुकथाहरू उच्च कोटिका छन्।

विदेशभूमिका शिक्षण संस्थामा नेपालको  झण्डाले प्राथमिकता पाएको देख्दा एउटा नेपालीले गर्व गरेको गाथा ‘गौरव’ मा बडा शालिन ढङ्गले प्रस्तुत भएको छ भने ‘जरन’ मा असार १५ को संस्कार आडम्बरमा परिवर्तन हुँदै जाँदा बेहोर्नुपरेको पीडा व्यङ्ग्यात्मक हिसाबले चित्रण गरिएको छ।

अभिद्रोह लघुकथामा लासलाई पात्र बनाएर वाग्मतीलाई दूषित बनाउनेहरूमाथि प्रहार भएको छ। वृद्ध भएका बाआमालाई सधैं बचाइराख्न कुनै औषधि पाइन्छ कि भन्ने आशले औषधि किन्न हिँडेका सन्तानको पीडा बढो मार्मिक छ, आशा लघुकथामा कामचोर लघुकथामा प्रशासनिक र न्यायिक क्षेत्रमा हुने गरेको विकृतिलाई छर्लङ्ग पारिएको छ।

आमाबाबुको सम्पत्तिमाथि सन्तानको अधिकार हुने तर बुढेसकालमा सन्तानले आमाबाबुलाई  पाल्नुपर्ने कर्तव्य नलेखिएको कानुन फेर्न सन्तान स्वेदेशमा नै पढ्ने अडान देखाइएको छ, अभियान लघुकथामा प्रस्तुत नवीन चेतले एकछिन दिमाग रनन्न बनाउँछ।

विद्यार्थी लघुकथामा समय अनुसार नयाँनयाँ ज्ञानको खोजीमा मानिस अघि बढिरहनुपर्ने आवश्यकतालाई दर्शाइएको छ।

समयको  परिवर्तनमा  पुराना पुस्ताले नयाँ पुस्तालाई  गुरु मान्नुपर्ने सत्यभाव सटिक ढङ्गबाट प्रस्तुत गरिएको छ। घरका बाउ र देशका नेता गैरजिम्मेवार हुँदा अरूले सास्ती भोग्नुपर्ने यथार्थ झल्किएको छ, मध्याउदी लघुकथामा! आञ्चालिक भाषाको प्रयोगले लघुकथामा मिठास भरेको छ तर लघुकथाको शीर्षक नै आञ्चालिक भाषामा राख्नु कत्ति स्वीकार्य हुन्छ, मननीय लाग्यो।

सुनौलो भविष्यको आशा बोकेर अमेरिका पसेका मानिसहरूको दुर्दशाको चित्रण भएको छ, कल्पवृक्षमा! होमलेस अमेरिकनहरू, अनागरिक जस्ता शब्दले मुटुमा वाण हान्न सफल छ।

खेल लघुकथाले गणतन्त्र र सिंहदरबारको खिल्ली उडाएको छ। सत्ता लघुकथामा कमाउने र नकमाउने श्रीमानसँग श्रीमतीले गर्ने फरक व्यवहारलाई प्रस्तुत गरिएको छ। अभ्यास लघुकथामा बोर्डिङ स्कुलहरूमा अङ्ग्रेजी भाषाको अभ्यासले निकै जान्ने पल्टेको विद्यार्थी एसइई परीक्षामा नेपाली भाषामा गुल्टिनुपरेको तीतो यथार्थ व्यङ्ग्यात्मक शैलीमा प्रहार गरिएको छ।

यसरी पुस्तकभित्र समेटिएका सबै लघुकथालाई सर्सर्ती अध्ययन गर्दा फरकफरक विषय र शैलीलाई प्रयोग गरेकाले स्वादमा पनि फरकपन पाउन सकिन्छ।

एकाध लघुकथा सामान्य भए पनि धेरै लघुकथा उत्कृष्ट छन्। पात्र विधान  सुन्दर छ। मानव र  मानवेतर पात्रको प्रयोग भएको छ। स्वैरकल्पना, द्वन्द्व, व्यङ्ग्य, बिम्व र प्रतीकको भरमार प्रयोगले लघुकथाहरू रोचक, घोचक, रसिला, हँसिला र चोटिला बनेका छन्।

मानव र मानव जीवनप्रति  सर्जक  लेखनकलामा संवेदनशील र गम्भीर देखिन्छन्। लघुकथाहरूले चिन्तनको बाटाहरू प्रशस्त छाडेको पाइन्छ। प्रगतिशील भावना, सकारात्मक सोच र प्रेरणादायी जस्ता सुन्दर आशयले लघुकथा बुनिएको पाइन्छ।

कृत्रिम बौद्धिकता, हराएको मुस्कान, हाइब्रिड माग्ने, रङ्गीन संसार, मायाको रङ, आत्मिक सुख, भावनाको तौल, सुरक्षा कवच शीर्षकका लघुकथाहरू दुई पदमा छन् भने बाँकी सबै लघुकथाको शीर्षक एक पदमा हुनु पनि कृतिको खास विशेषता मान्न सकिन्छ। भाषा सरल, सुबोध र सहज छ। एकाध स्थानमा भएका व्याकरणीय त्रुटि देखिन्छ।

समग्रमा भन्दा कृति उत्कृष्ट छ, पठनीय र सङ्ग्रहणीय छ। लघुकथाहरू पढ्दै जाँदा कतै मज्जाले हाँसिन्छ, कतै आक्रोशको भावले मुठ्ठी कसिन्छ भने कतै खुच्चिङ! पनि भनिन्छ। धेरै लघुकथा चिन्तन र मननयोग्य  छन्।

 तुलनात्मक रूपले अध्ययन गर्दा हिउँको रापभन्दा अविश्रान्त निकै परिष्कृत रहेको छ। आगामी दिनहरूमा डा. गौतमको कलम अझ सशक्त बनोस् भन्ने शुभेच्छाका साथ बिट मार्छु।

प्रकाशित: ६ आश्विन २०८१ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App