७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

माण्डवी

कथा

‘आर्य के गरिबक्सँदै छ?’

भरत केही बोलेनन्। उनी अहिले तरबारमा बारम्बार तेल लगाउने र पुछ्ने गरिरहेका थिए। छेउमा स्फटिक झैं सेतो ठुलो धनु उभिएको थियो र सफा गरिसकिएका वाणहरू खाटछेउ रहेको तूणीरमा राखिएका थिए।

उनले शिर उठाएर द्वारबाट भित्र पस्दै गरेकी पत्नी माण्डवीलाई हेरे। यद्यपि ती कुशध्वजपुत्री अझै पनि सुन्दर देखिन्थिन् तर धेरै किसिमका परिवर्तनहरू दृश्यमान थिए। भरतलाई लाग्यो, नबोलीकनै उभिए पनि मानौं तिनी केही भनिरहेकी थिइन्, ‘मेरो कालो, बाक्लो, चम्किलो र मुलायम केश तिलचाम्ले, पातलो ज्योतिहीन र जर्कटो भइसकेको छ। सुराहीजस्तो गोल गर्दन खपटे र झुम्रो बेरेजस्तो भएको छ। मांसल र उन्नत वक्षहरू चेप्टा भएका छन्। बारुले कटीप्रदेश बाक्लो भएको छ। नितम्ब कुच्चिएको कसौंडी भएको छ। पिँडौला मोटा भएर हात्तीपाइले लागेजस्ता हुँदैछन्। मधुरकण्ठी स्वर अब धोद्रो भएको छ।’

‘भयो नबोल माण्डवी,’ भरतले भने।

खुम्च्याइएको निधारसहित विस्फारित नेत्रले हेरेर माण्डवीले भनिन्, ‘के सुनिबक्स्यो आर्य ? कहाँबाट ? म त एक शब्द बोलेकी छैन।’

भरतलाई अप्ठ्यारो लाग्यो तर केही बोलेनन्।

झ्यालमा उभिएर माण्डवीले पश्चिमतिर हेरिन्। टाढा कान्यकुब्जको मैदानमाथि दुई धनुष घाम बाँकी देखिन्छ। यता उत्तरपश्चिम दिशामा सरयू किनारका अग्ला वृक्षहरू नूतन कोमल पालुवाहरूले ढाकिएका छन्। वसन्तको यस पूर्वार्धमा सरयू नितान्त शान्त र सुमधुर ध्वनिमा बगिरहेकी देखिन्छिन् तर प्रजामा नयाँ उत्साह सञ्चारण गर्ने बहानामा यो अयोध्या दरबार फेरि राजसूय यज्ञको प्रसङ्गले तातिरहेको छ।

‘लिइबक्स्योस्,’ दुईवटा सुवर्णमय कचौरामा चाँदीको करुवाबाट पानी खन्याएर एउटा कचौरा माण्डवीले भरतको हातमा दिइन्।

‘सम्पूर्ण अनुभवहरूले केश पाकेका आमाहरू र पत्नी, बुहारी आदि दरबारभित्रका महिला सदस्यसँग कुनै पनि किसिमको परामर्श नगरी राजसूयजस्तो ठुलो यज्ञको निर्णय गर्ने दम्भ यो इक्ष्वाकु कुलमा कहिलेदेखि पैदा भएको हो ?’ माण्डवीले भनिन् र खाटमा आएर बसिन्।

भरतले तरबारलाई म्यानभित्र राखेर भने, ‘जसरी यी शस्त्रअस्त्रहरू थन्क्याएर राखिरह्यो भने खिया लागेर भुत्ते हुन्छन्, त्यसरी नै राज्यमा कुनै महत्त्वपूर्ण कार्यको हलचल भइरहेन भने प्रजाहरू पनि आलस्यले भुत्ते हुन्छन् भन्ने दाजु महाराजको तर्कलाई अनुचित भन्न सकिने ठाउँ थिएन र यो राजसूय यज्ञको निर्णय उहाँकै हो।’

लामो केश बाँधेका, केही मलिन तर सुन्दर अनुहारका, धोतीको सप्को काँधमा हालेका, मोतीको माला लगाएका, अग्लो शरीर र साँघुरो छाती भएका, गहुँगोरो वर्णका आफ्ना लोग्नेलाई माण्डवीले नजिकै उभिएर हेरिन्, यौवन सुकेपछि बाँकी रहेको काठको ठुटोजस्तो लाग्यो।

‘एकैजनाको निर्णय अकाट्य र सर्वमान्य हुन्छ भने सय जनाको सभा किन बोलाइएको थियो ? हजुरहरू सबै सुकेका काठका ठुटाहरूको सभा थियो त्यो ?’ माण्डवीले असन्तोषपूर्वक भनिन्।

‘मेरो निर्णयका निम्ति मात्र मेरो जवाफदेहिता रहन्छ,’ शुष्कतापूर्वक भरतले भने।

भित्ताको आलमारीमा आफ्ना केही गहनाहरू थन्क्याउँदै माण्डवीले भनिन्, ‘हजुरकै जवाफदेहिताका अनुत्तरित प्रश्नहरू पनि मसित छन्।’

बाजुबन्द, कमरबन्द, औंठी, चुरा आदि हीरा, नीलम, मणिक, पन्ना आदिबाट बनेका आभूषणहरू तथा रेशमको सारी थन्क्याएर सन्ध्या स्नान र पूजाका निम्ति माण्डवी सुती वस्त्रहरू निकालिरहेकी थिइन्।  

‘कस्ता प्रश्नहरू प्रिये ? तिमी मसँग जवाफ माग्न सक्छ्यौ ?’ खाटमा सहज पलेंटीमा बस्तै भरतले भने।

‘रामचन्द्रको वनवास हुँदा चित्रकूटबाट रामचन्द्रका पादुका लिएर फर्केपछि हजुरले नन्दीग्राममा गएर रामचन्द्र नफर्कुन्जेल चौधै वर्ष तपस्या गर्ने निर्णय गरिबक्सेको थियो। तीन तीनवटा विधवा आमाहरूलाई कसरी सम्हाल्ने, कसरी मिलाउने, कसरी सेवा गर्ने, दरबारका सयौं कर्मचारीहरूलाई नयाँ परिस्थितिअनुकूल कसरी र कसले प्रशिक्षित गर्ने, प्रशासित गर्ने, लक्ष्मणको वियोगले मस्तिष्क विचलन हुन लागेकी जतिखेरसुकै सुत्न मन पराउने उर्मिलालाई कसरी सान्त्वना दिने र अयोध्या एवं कोशलको समग्र राजनीतिलाई कसरी व्यवस्थित गर्ने भन्ने महत्वपूर्ण पक्षहरूलाई बेवास्ता गर्दै तपाईंहरू सबै आआफ्ना अहङ्कार र भावुकताका ढोलक बजाउँदै होइबक्सिन्थ्यो,’ माण्डवी बोलिरहिन्, ‘स्वर्गीय महाराज दशरथका अरू तीनसय पचास जना स्त्री सेविकाहरूको भूमिका आगामी दिनमा कस्तो हुने, उहाँका राजनीतिक, आर्थिक, धार्मिक प्रशासनिक सल्लाहकारहरूबाट अबका दिनमा के उपयोगिता लिने भन्ने कुरा पनि कसैले याद गरिबक्सेन।’

‘पानी खाऊ,’ भरतले भने, ‘गद्दीका वास्तविक अधिकारी दाजै श्रीरामलाई वनमा पठाउने र अनधिकृत रूपमा मलाई राजा बनाउने माता कैकेयीको शठताले बाबु महाराज दशरथको मृत्यु नै हुन पुगेको भयङ्कर परिस्थितिमा मेरो विक्षिप्तता स्वाभाविक थियो र त्यस परिस्थितिमा मलाई यी सबै कुराको होस नभएकोमा दोष दिनु जायज हुँदैन माण्डवी।’

‘तर पनि आर्य,’ माण्डवी भन्दै थिइन् तर भरतले बीचमै रोकेर भने, ‘सन्ध्या पूजाको समय हुन लाग्यो।’

भोलिपल्ट बिहानको भोजनपूर्व भरत र माण्डवी स्वर्गीय महाराज दशरथको समाधिसामु हात जोडेर उभिएका थिए। माण्डवीको मनमा आइरहेको थियो, ‘दशरथ महाराजले आफ्नी पत्नीको अनुचित मनसाय पूरा गर्न जनताको इच्छा र छोराको अधिकारलाई उपेक्षा गर्दै जेठो छोरालाई वनवास धकेलिदिएका थिए र यसबाट उत्पन्न आत्मग्लानिबाट आफ्नो प्राण गुमाएका थिए।

ठिक यसको विपरीत सीताको सम्बन्धमा उटपट्याङ कुरा गर्ने जनताले गरेको अपवादलाई सम्मान गर्दै राजा रामचन्द्रले आफ्नी पत्नीलाई नै वनमा धकेलिदिएका थिए। यी दुवै घटना अतिवादका पराकाष्ठा थिए।’ तर राजा दशरथको समाधि अगाडि उभिएर यस्तो प्रसङ्ग बोल्नु भरतलाई दुःखी बनाउनु हुन्थ्यो। त्यसैले मनमा उठेको यस प्रसङ्गलाई माण्डवीले मौनतामा रूपान्तरण गरिदिइन्।

त्यस दिन सभाका निम्ति शुभ समय छैन भन्ने गुरु वशिष्ठको अभिमतलाई स्वीकार गरी राजसभा आमन्त्रण नगरिएकाले भरतलाई फुर्सद मिलेको थियो र यसै कारणले माण्डवीलाई पनि भोजनागारमा निर्देशन दिने दरबारको कामबाट मुक्ति मिलेको थियो। उनीहरू विचरण गर्दै उर्मिलाको भवन र कार्यशालातिर गइरहेका थिए।

भवनबाहिर ठुल्ठुला पुष्पद्रोणहरूमा सुसज्जित नवमल्लिका, पाटल, स्त्रीवत, मलाव पुष्प, भुजङ्गराज, युथिका आदि फूलहरूको सौन्दर्य हेर्दै उनीहरू उत्तराभिमुख कार्यशालातिर लागे र कार्यशालाको एकतले लामो भवनभित्र पसे। त्यसको दक्षिणी भित्तामा सयौंको सङ्ख्यामा उर्मिलाद्वारा सिर्जित चित्रकलाकृतिहरू आकर्षक ढङ्गमा झुन्ड्याइएका थिए। आफूतिर आइरहेका जेठाजु–जेठानीलाई देखेर उर्मिलाले हतारहतार आफ्नो करवस्त्रलाई नै शिरमा राखेर नमस्कार गरेकी थिइन्।

‘कति सुन्दर, कति धेरै चित्रहरू पो बनाइसकिछौ त उर्मिला !’ माण्डवीले भनिन्।

‘आज तिम्रा केही चित्रहरू हामीलाई देखाऊ,’ भरतले भने, ‘तिमीलाई फुर्सद छ भने।’ आफ्नै चित्रहरू पनि कलात्मक रूपमा राखिएको देखेर माण्डवी प्रफुल्ल अनुहारसहित भित्तामा पुगिसकेकी थिइन्।

‘मेरो सौभाग्य,’ उर्मिलाले भनिन् र भरतको पछिपछि माण्डवीछेउ पुगिन्। ‘यहाँ त धेरै चित्रहरू पो छन्, एकएक बुझाऊ त,’ भरतले खुसी व्यक्त गर्दै भने। ‘तिमीले मेरा चित्रहरू पनि बनाएकी छौ भन्ने सुनेर म बडो खुसी थिएँ, तिम्रो स्नेह सम्झेर तर सधैंको कार्यव्यस्तताले यी अवलोकन गर्ने सौभाग्य आज मात्र जुट्यो,’ माण्डवीले पनि उर्मिलाप्रति प्रशंसा र स्नेहसाथ उनको पाखुरा समाएर भनिन्।

‘सुरुमा मैले मिथिला चित्रकला मात्र गरेकी थिएँ। ती यस भित्ताको वामपाश्र्वमा छन् तर पछि मलाई के पनि लाग्यो भने दरबारभित्रका महत्त्वपूर्ण प्रसङ्गहरूलाई पनि चित्रकथाका रूपमा सञ्चित गर्नुपर्छ। यसै प्रसङ्गमा दिदीका चित्रहरू पनि मैले सिर्जना गरें।’

माण्डवीले भनिन् र भरततिर हेरिन्, ‘यो चाहिँ हजुरको मावली केकय देशमा उठेको रोष शान्त पार्न दिदी माण्डवीले आर्य सुमन्त्रसँग गर्नु भएको मन्त्रणाको चित्र हो। आर्य श्रीरामको वनगमन र हजुरको नन्दीग्राम प्रस्थानपछि अयोध्या दरबारमा माता कैकेयीको अपमान भइरहेको छ भन्ने केकय नरेश अश्वपतिलाई लाग्यो र उहाँ आफ्ना सातै भाइछोराहरूसहित अयोध्याविरुद्ध पश्चिमका राज्यहरूलाई गोलबद्ध गर्ने अभियानमा लाग्नुभयो

 सो समस्या समाधान गर्न दिदी माण्डवीले आर्य सुमन्त्रसँग परामर्श गरिसकेपछि परराष्ट्र तथा कूटनीतिनिपुण मन्त्री जयन्तलाई पठाइबक्सेको थियो। यहाँ देखिबक्स्यो होला– पछाडि जयन्त उभिनुभएको छ,’ उर्मिलाले चित्र देखाएर भनिन्।

भरतले एकचोटि माण्डवीलाई हेरे कुनै नयाँ व्यक्तित्वलाई देखे झैं, गम्भीर भए र फेरि चित्रतिर हेरे। ‘यहाँ त माताश्री कौशल्या पनि हुनुहुन्छ,’ भरतले अर्को चित्र देखाएर जिज्ञासा व्यक्त गरे।

‘हो, यहाँ माताश्री कौशल्यासँग दिदी माण्डवी होइबक्सिन्छ र त्यता हात जोडेर राष्ट्रवर्धन उभिनुभएको छ,’ उर्मिलाले भनिन्, ‘त्यतिबेला कोशल राज्यकै उत्तरवर्ती ग्रामहरूमा दुर्भिक्ष वा अकालको समस्या आइलागेको थियो र यस्तो अवस्थामा तिनीहरूले अयोध्यामा राजा भएको भए हामीले भोकै मर्नु पर्दैनथ्यो, अयोध्या राजाविहीन राज्य भएकाले यो सब भएको हो भनेर ठुलो हल्लाखल्ला गरे।

माताश्री कौशल्याको माइतीदेशको समस्या भएकाले दिदीले माताश्रीसँग सल्लाह लिइबक्स्यो र अर्थकोष हेर्ने उत्तरदायित्व दिदीले राष्ट्रवर्धनलाई दिइबक्सेकाले उहाँको उपस्थिति आवश्यक भयो।’

त्यहाँ अरू पनि धेरै चित्र थिए। राम वनगमनको चित्र, महाराज दशरथको मृत्युशैड्ढयाको चित्र, काशीका राजदूतसँग माण्डवीको वार्तालापको चित्र, मिथिला नरेशसँग माण्डवीको परामर्श भएको चित्र आदि। भरतले वैरागी भएर नन्दीग्राम प्रस्थान गर्ने समयका चित्रहरू पनि त्यहाँ थिए। भरतले आमाहरू, गुरुहरू र मन्त्रीहरूसँग परामर्श र बिदाइ लिएका चित्र देखेर भरतले सोधे, ‘उर्मिला, त्यतिबेला मैले माण्डवीसँग बिदा लिएको चित्र त देख्दिनँ नि ?’

‘त्यतिबेला हजुरले मसँग कुनै बिदा लिइबक्सेको थिएन,’ माण्डवीले भनिन्।

भरतले अलि सङ्कोच र असजिलो मानेर बुहारी उर्मिलाको अनुहारमा हेर्दा उर्मिलाले पनि भनिन्, ‘हो, यहाँ पूर्णतः काल्पनिक रूपमा कोरिने चित्रहरू छैनन्।’

त्यसै दिन साँझ बत्ती बाल्नुअघि आफ्नो कक्षमा भरतलाई शान्तिपूर्वक पलङमा बसाएर माण्डवीले भनिन्, ‘भोलि पुनः राजसभा आमन्त्रित गरिएको छ र त्यसमा हामी महिलाहरूको उपस्थिति नहुने हुनाले मैले केही बढी बोल्नुपरेको छ, क्षमा गरिबक्सेला। आर्यहरू नभएको बखतमा हाम्रै नजिकका श्रावस्ती, काशी आदि र उत्तरपश्चिमका केकय, पुष्कलावती आदि ठाउँमा समेत मैले मन्त्रीहरू राष्ट्रवर्धन, जयन्त, धर्मपाल, सुराष्ट्र आदिलाई खटाएर ती क्षेत्रका गुनासा र विद्रोहलाई शान्त पार्नुपरेको अनुभव छ। महर्षि वशिष्ठ, वामदेव, सुयज्ञ र जाबालिसमेतलाई त्यतिबेला पौरोहित्यमा भन्दा आन्तरिक राजनीतिमा ध्यान दिनुहोस् भनेर मैले भन्नुपरेको थियो। अब सारांशमा तात्पर्य के हो भने विविध राज्य र जनपदहरूमा त्यस बेलादेखि नै हाम्रो सम्मानजनक मित्रता स्थापित भइसकेको छ र जुन राज्यहरूले हाम्रो गरिमा, उच्च अस्तित्व र सम्प्रभु स्वरूपलाई मैत्रीभावले स्वीकार गरिसकेका छन्। फेरि तिनीहरूसँग राजसूय यज्ञको नाममा काटमार गर्न हजुरहरूले हतियार उधाउन थाल्नु मलाई उचित लाग्दैन। आफ्नो घर सुरक्षित राख्न भन्दै अर्काको घरमा अकारण ढुङ्गा हान्नु विपरीत बुद्धि हुन्छ।’

भरतले माण्डवीको विश्लेषणलाई र अभिमतलाई राम्ररी बुझेको अर्थ लाग्ने गरी तल–माथि पालैपालो गरेर शिर हल्लाएकाले माण्डवी चुप लागिन्।

सन्ध्या घनीभूत हुँदा–नहुँदै दासीहरूले सुनका पानसहरूमा बत्ती बालेर भरत–माण्डवीको कक्षलाई झलमल्ल उज्यालो पारिदिए।

भरत राति अबेरसम्म निदाउन सकेनन्। अलिकति निदाएको समयमा पनि माण्डवीको स्वर सुनेरहे जस्तो लाग्यो, ‘नन्दीग्राममा गई पृथ्वी खनेर त्यसमा कुश बिछ्याई यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको व्रत लिएका हजुरले रामचन्द्रका पादुकालाई प्रतिनिधि बनाई राज्य सञ्चालन गरिबक्स्यो भन्ने ऋषिहरूको भ्रमपूर्ण भाष्यले अयोध्या राज्य सञ्चालन भएको थिएन। आध्यात्मिक तपस्या गर्नु र राजनीति सञ्चालन गर्नु, दुवै विरोधी चरित्रका काम एउटै व्यक्तिले एकै समयमा गरेहोला भन्नु नितान्त भ्रमपूर्ण हो। यो कुरा स्वयं हजुरलाई ज्ञात छ।’

तर उठेर हेर्दा माण्डवी निद्रामा मस्त थिइन्।

भोलिपल्टको राजसभा विशाल थियो। त्यहाँ वामपाश्र्वको लहरमा सुमन्त्रको अगुवाइमा धृष्टि, जयन्त, विजय, सुराष्ट्र, राष्ट्रवर्धन, अकोप, धर्मपाललगायत सबै मन्त्री उपस्थित थिए र दाया पाश्र्वमा लहरै ऋषि वशिष्ठको नेतृत्वमा सुयज्ञ, जाबालि, काश्यप, गौतम, मार्कण्डेय, कात्यायन, विश्वामित्र, दीर्घतमा, दुर्वासा, पुलस्त्य, शक्ति, भार्गव, वामन, मौद्गल्य, गर्ग, च्यवन, शतानन्द, भरद्वाज, सुप्रभ, नारद, पर्वत आदि महर्षि, ऋषि र ऋत्विजहरू विराजमान थिए।

विशाल सभा कक्षको सामुन्ने महाराज रामचन्द्र थिए र उनका दुवैतिर भाइहरू भरत, लक्ष्मण र शत्रुघ्न थिए। सभाको पछाडिको लहरमा दरबारभित्रका उच्च पदस्थ कर्मचारीहरू, केही धनपति, सेठ र महासेठहरू थिए।

त्यस महत्वपूर्ण सभालाई सम्बोधन गर्ने क्रममा महाराज रामचन्द्रले भने, ‘आज बिहान हाम्रा अतिप्रिय र विद्वान् भाइ भरतको सल्लाह र तर्कबाट प्रभावित र सहमत भई हामीले राजसूय यज्ञको निर्णयलाई स्थगित गरेका छौं तर आर्य सुमन्त्रको ‘प्रजामा उत्साह ल्याउनका निम्ति पनि महान् कार्यहरू आवश्यक हुन्छन्’ भन्ने सल्लाहअनुरूप र मलाई नै पनि कुनै न कुनै यज्ञ गर्ने अघिदेखिकै इच्छा भएकाले के–कसरी कुन कार्य गर्ने भन्ने विषयमा तपाईंहरूजस्तो विद्वान् र बुद्धिमान्हरूको सल्लाह निर्णायक हुन्छ भन्ने लागेर यो सभा आमन्त्रण गरिएको हो।’

केहीबेर सभा मौन रह्यो र दुवै लहरमा रहेका सभासद्हरूले गुरु वशिष्ठको मुखतिर हेरे।

‘यसमा स्वयं महाराजको इच्छा नै सर्वोपरि महŒवको हुन्छ’ गुरु वशिष्ठले भने।

‘तर ऋषिवर,’ रामचन्द्रले भने, ‘म के निष्कर्षमा पुगेको छु भने यस सभाको सर्वसम्मत निर्णय नै मेरो निर्णय हुनेछ।’

अलिक चञ्चल स्वभाव भएका तर तीक्ष्ण बुद्धिका लक्ष्मण आफ्नो मनको कुरा अभिव्यक्त गरिहाल्ने अभिप्राय राखेर जुरुक्क उठे।

‘प्रिय भाइ लक्ष्मण,’ महाराजले भने, ‘तिम्रो मनमा के छ, प्रस्टरूपमा सभासामुन्ने प्रकट गर।’

‘महाराज ! यद्यपि रावणवध अनिवार्य थियो तर उच्चकुलीन ब्राह्मण विश्रवाका पुत्र रावणको वध भएपछि दाजै महाराजबाट ‘ब्रह्महत्याको पापभागी भएँ’ भन्ने चिन्ता बारम्बार प्रकट गरिबक्सेको थियो र त्यो क्लेश महाराजको मनबाट अझै विरेचित भइसकेको छैन भन्ने मेरो अनुमान छ,’ प्रस्टवक्ता लक्ष्मणले अगाडि भने, ‘त्यस विषयले हजुरलाई पटक पटक ग्लानिको अनुभूति दिइरहेको छ। यस्तो सन्दर्भमा हजुरले समस्त पापलाई नाश गर्ने परम पावन एवं दुष्कर अश्वमेध यज्ञको अनुष्ठान गरिबक्सनु श्रेयस्कर लाग्छ मलाई। महात्मा इन्द्रले पनि जब उहाँलाई ब्रह्महत्याको दोष लागेको थियो। उहाँले अश्वमेध यज्ञ गरेर पवित्रता प्राप्त गर्नुभएको थियो।’

लक्ष्मणका तर्कयुक्त, उत्तम र मनोहारी वचन सुनेर इन्द्रसमान पराक्रमी तथा बलशाली रामचन्द्र प्रसन्न र सन्तुष्ट भए।

‘महर्षि के भन्नुहुन्छ ? लक्ष्मणको सुझाव कस्तो लाग्छ सभालाई ?’ रामचन्द्रले गुरु वशिष्ठलाई अनि समग्र सभालाई हेरेर प्रश्न गरे।

‘सुमित्रानन्दनको तर्क र सुझाव स्वागतयोग्य छ,’ गुरु वशिष्ठले समर्थन गरेर ‘साधु’ भने।

साधु ! साधु ! र लक्ष्मण धन्य छन् भन्ने सामूहिक आवाजसहित अश्वमेध यज्ञ गर्ने निर्णय भयो। राजा रामचन्द्रले भने, ‘भाइहरू, यस निर्णयले म खुसी छु। परम पवित्र अश्वमेध यज्ञ गर्ने सम्पूर्ण प्रक्रियाको सन्दर्भमा म ब्राह्मणहरूमा अग्रगण्य एवं सर्वश्रेष्ठ ऋषि वशिष्ठ, वामदेव, जाबालि आदि आदरणीयहरूसँग पुनः बस्नेछु र परामर्श गर्नेछु तर अब मुख्य विषयमा निर्णय लिइसकिएकाले केही निर्देशनहरू अहिले नै दिन चाहन्छु।

उनले भने, ‘अरू तयारी सँगसँगै सबैले बुझ्नुपर्ने के छ भने पूर्ण सावधानीका साथ सम्पूर्ण शुभलक्षणहरूले सम्पन्न कृष्णसार मृगजस्तै कालो घोडा चयन गरी त्यसलाई स्वतन्त्र छोडिने छ। उक्त घोडालाई सम्पूर्ण शृङ्गार गरिने छ र त्यसको ललाटमा जयपताका टाँसिने छ। त्यो घोडा जहाँ जहाँ पुग्नेछ ती ती देशका राजाहरूले अयोध्याको प्रभुत्व स्वीकार गरेको अवस्थामा त्यस जयपताकाको अर्थ ती राजाहरूलाई अश्वमेध यज्ञमा निमन्त्रणा गरिएको भन्ने हुने छ, जसले अयोध्याको प्रभुत्व स्वीकार गर्दैनन् वा घोडालाई सहज विचरण गर्न नदिएर पक्डिन्छन्। त्यसको अर्थ तिनीहरूसँग हाम्रो युद्ध हुनेछ र ती राज्यहरूलाई अयोध्यामै मिलाइने छ।

यो कुरा प्रस्ट रूपमा अयोध्याका सेनालाई पनि बुझाइयोस् र अहिलेदेखि नै शस्त्रास्त्रले सुसज्जित अवस्थामा राखियोस्। यद्यपि हामी के चाहन्छौं भने सेनाले खड्गकोशबाट आफ्नो तरबार झिक्नुपर्ने स्थिति नआओस्। घोडाको अनुगमन र निगरानीका निम्ति हाम्रा वीर एवम् बुद्धिमान् भाइ लक्ष्मणका साथ केही ऋत्विजहरू र सेनाको संक्षिप्त टुकडी पठाइने छ।

भाइ शत्रुघ्न, दरबारभित्रका भरपर्दा र सक्षम मानिसहरूको सहयोगले लङ्काका राजा विभीषण एवं उनका सहयोगीहरूलाई, देश–देशावरका समस्त राजाहरूलाई, अन्य देशमा गएकाहरूसमेत धर्मनिष्ठ ब्राह्मणहरूलाई र नट एवम् नर्तकीहरूलाई आमन्त्रण गर्ने व्यवस्था गर। यज्ञ गर्ने स्थान गोमती नदीकिनारको पवित्र नैमिषारण्यमा पठाउनुपर्ने–लैजानुपर्ने कुराहरू सम्झिराख।

प्रशस्त दाल, चामल, तिल, मुँग, चना, गहत, अरहर, घिउ, तेल, दुध, दही, चन्दन आदि हजारौं पशुहरूको माध्यमबाट ढुवानी गर्नुपर्ने हुन्छ। सुन–चाँदीका लाखौं सिक्काहरू पुर्‍याउने, भण्डारण गर्ने र सुरक्षा गर्ने व्यवस्था मिलाउनुपर्छ। विभिन्न क्षेत्रबाट नैमिषारण्य आउने मार्गमा व्यापारको सहजीकरणका लागि वणिक् तथा व्यवसायीहरूलाई निर्देश गर्ने व्यवस्था गर।  

भाइ भरत अगाडि नै प्रशस्त सेनासहित यज्ञस्थलमा जाऊन् र जाँदा शास्त्रवेत्ता विद्वान्हरू, बालक एवं वृद्धहरू, नोकर–चाकर र कोषाध्यक्षहरू, वैदिकहरू, सबै आमाहरू, बुहारीहरू र अन्य स्त्रीहरू सीताको सुवर्णमय प्रतिमा आदिलाई रथमा चढाएर लगून्।’

महाराज रामचन्द्रको निर्देशनलाई सभाभवनको ठिक भित्र रहेको भण्डारगृहको सानो भ्यालबाट उत्सुकतापूर्वक सुनिरहेकी माण्डवीलाई यज्ञका निम्ति छोडिने घोडाको विचरण र त्यसको निधारमा रहने जयपताकाको सङ्केतले व्यथित तुल्याइरहेको थियो।

सभा सकिएपछि सभासद्हरूलाई यथोचित भोजन गराउन पाकशालाबाट नोकर एवं दासदासीहरूले ओसार्ने व्यञ्जनहरूको परीक्षण–निरीक्षण गर्न खटाइएकी माण्डवीको ध्यान व्यञ्जनहरूमा भन्दा घोडाको जयपताका र यसले गर्ने सङ्केततर्फ केन्द्रित भइरह्यो।

भोजनको उपक्रम सकियो। फुर्सद मिल्दा आधा दिन ढलिसकेको थियो। धेरै बेर चिसो पानीले स्नान गर्दा पनि माण्डवीको मस्तिष्क सेलाएको थिएन। माण्डवीले चाहेअनुरूप नै दाजु महाराजलाई राजसूय यज्ञको निर्णयबाट पछाडि हट्न लगाएकोमा खुसी देखिएका भरतले साँझपख आफ्नो कक्षमा प्रवेश गर्दाबित्तिकै भने, ‘महाराजले राजसूय यज्ञको निर्णय फिर्ता लिइबक्स्यो।’

आधा दिनभरि ऊहापोहमा गुजारेकी माण्डवीले अलिक तातेको स्वरमा भनिन्, ‘अनि त्यो अश्वमेध यज्ञको घोडाको निधारमा रहेको जयपताका के हो आर्य ?’

‘तिमीलाई कसरी थाहा भयो ?’ भरतले चकित भएर सोधे।

‘भित्ताको पनि कान हुन्छ तर महत्वपूर्ण कुरा मलाई कसरी थाहा भयो भन्ने होइन।’

‘अनि के हो त महत्वपूर्ण कुरा ?’ भरतले भने।

‘त्यो घोडा निधारमा जयपताका बोकेर देश–देशावर विचरण गर्दा सम्बन्धित राज्यले घोडालाई कुनै बाधा व्यवधान गर्दैन भने त्यस राज्यलाई अयोध्याको सम्प्रभुताभित्र गाभिएको मानिनेछ। यो हो महŒवपूर्ण कुरा,’ माण्डवीले पलङछेउ उभिएर भनिन्।

‘के भो त ? यसले त हाम्रो वा अयोध्याको गौरवलाई र यसको विस्तारलाई नै बढाउनेछ,’ भरतले आश्चर्य मानेर माण्डवीतिर हेरे।

‘हजुरहरूलाई अयोध्या स्वर्गभन्दा प्रिय छ, जुन स्वाभाविक छ किनभने यो हजुरहरूको जन्मभूमि हो। त्यसैगरी मेरा पिताश्री कुशध्वज, मिथिलानरेश जनक र म स्वयं कुशध्वजपुत्री माण्डवीलाई मिथिला प्रिय छ, त्यो हाम्रो जन्मभूमि हो। क्षमा पाऊँ आर्य,’ माण्डवीले भनिन्, ‘अयोध्या पनि मलाई प्रिय छ। यसमा सन्देह छैन तर पनि अयोध्या चिरकालसम्म मिथिलाको मित्र र परम मित्र बन्न सक्छ तर सम्प्रभु बन्न सक्तैन। त्यसैले जयपताका बोकेर हिँडेको घोडा मिथिला पुग्यो भने फिर्ता आउँदैन भन्ने कुरा अहिले नै बुझिबक्सनु राम्रो हुन्छ। मिथिलाको सम्प्रभु मिथिला नै हो।’

‘तिमी हाम्रो विरुद्ध, अयोध्याविरुद्ध उभिन्छ्यौ ?’ भरतले आश्चर्यचकित भएर माण्डवीलाई हेरे।

‘यो विवाद व्यर्थ छ, कुशल अश्वारोही र घोडालाई जस्तोसुकै तालिम दिन पनि निपुण बाबु लक्ष्मण त्यस घोडाको पछि जाँदै हुनुहुन्छ। बरु तत्काल उहाँलाई आज्ञा गरिबक्स्योस्– घोडाले मिथिला प्रवेश नगरोस्। कसका विरुद्ध को उभिन्छ भनेर नाता कुटुम्ब हेर्नेभन्दा पनि मिथिलामाथि कतैबाट तरबार उठ्यो भने म मिथिलाको पक्षमा उभिन्छु। आफ्नो मातृभूमिका निम्ति म यमराजको अगाडि पनि निःसङ्कोच उभिन्छु।’

माण्डवी चट्टान थिइन्। भरतले बहस गरेनन् बरु उनी सन्ध्या घनीभूत हुँदा नहुँदै उर्मिलाको कार्यशालाको बाटो लक्ष्मणको कक्षमा प्रवेश गरे।

प्रकाशित: ५ आश्विन २०८१ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App