१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

रहेनन् अग्रज पत्रकार एनपी उपाध्याय

अग्रज पत्रकार नरेन्द्रप्रसाद उपाध्याय–अर्याल (एनपी उपाध्याय) को मृत्यु भएको छ। उनका छोरा निरज अर्यालले जनाएअनुसार भदौ २३ गते अमेरिकाको क्यालिफोर्नियाको समय अनुसार ३ः३८ बजे आइतबार मृत्यु भएको हो। मिर्गौलामा समस्या देखिएका कारण उपाध्याय क्यालिफोर्नियाकै स्थानीय अस्पतालमा विगत १० दिनदेखि उपचाररत थिए।

उपाध्यायको जन्म सन् १९४० को अन्त्यतिर सप्तरी जिल्लाको बैरवामा भएको थियो। विराटनगरमा हुर्किएका उपाध्यायले आदर्श विद्यालयमा अध्ययन गरे र सन् १९६० को दशकको मध्यतिर काठमाडौं आएका थिए। उपाध्यायले सन् १९६० मा ज्योति साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका थिए। उनले पछि आफ्नै सम्पादनमा द टेलिग्राफ साप्ताहिक र द टेलिग्राफ अनलाइनको प्रकाशन प्रारम्भ गरे।

अंग्रेजी भाषाको सो साप्ताहिकलाई तीन दशक बढी समयसम्म निरन्तरता दिए। पत्रकार उपाध्यायले आफ्नो जीवनको धेरै समय शिक्षक र पत्रकारका रूपमा बिताए। विशेष गरी नेपाल र दक्षिण एसियाली राजनीतिक परिस्थितिबारे लेख्दै उनी नेपालको पत्रकारिता क्षेत्रमा सक्रिय रहे। उनका लेखहरू मुख्यतः भारत, नेपाल र दक्षिण एसियाली क्षेत्रबिचको भू–राजनीतिक तनावबारे केन्द्रित थिए।

यसैगरी उपाध्यायले ‘कम्प्लेक्ससिटिज अफ द साउथ एसियन पोलिटिकल अर्डर’ शीर्षकको पुस्तक पनि प्रकाशन गरेका छन्। उपाध्यायका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रकाशित: २४ भाद्र २०८१ ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App