अरूबेलाचाहिं उठ्दै अइयाया बस्दै अइयाया! आज त दौरासुरुवाल भादगाउँले टोपी ढल्काएर! नसकिने भो! ससुरातिर आँखा सन्काउँदै बुढालाई तोबर्का हानिन् रमाले।
रमेशले फकाउने शैलीमा भन्यो, 'रमा, बुवालाई प्रज्ञाप्रतिष्ठानमा छोडेर म अफिस जान्छु। कार्यक्रम सकिएपछि तिमीले लिएर आउँनु है।'
'मलाई खाना अलिक घटाउ है बुहारी, आजभोलि मुख गुलियो भएर खान नपरे हुन्थ्यो जस्तो लाग्छ', ससुराले भने।
बुहारीले वचनकाे झटाराे हानी,'घरमा त लागिहाल्छ नि।'
ससुरा बुहारीको चेपमा पयाे रमेश। बुवा रसिला आँखा बनाउँदै करले चार गाँस चारो टिपेर उठे।
-वचन नलगाउन रमा, पाको उमेरमा सबैलाई त्यस्तै हो के!
'त्यही त मलाई नै उस्तो देख्नुहुन्छ हैन? मै उस्ती रहिछु हाेकि!'
रमाले सुँकसुँकाउदै भनिन्, 'अघि कार्यक्रममा त्यो मैदाको डल्लो चैं मिठो मानीमानी कपाकप खाँदै थिए। अहिले चैं मुख गुलियो छ रे!'
'त्यस्तै भो होला, के भनु न त! एउटा कुरा भेटेपछि घोचेको घोच्यै?' रमेश जंगियो।
घरको काम सकेर दुवै जना विछ्यौनामा गए। ठुस्किएकी रमालाई फकाउन कुनै कसर बाँकी राखेन रमेशले।
भोलिपल्ट बिदाको दिन भएकाले अलि अबेला उठे उनीहरू। बुवा ओछ्यानमा थिएनन्। नित्यकर्ममा होलान् भनेर केहीबेर वास्ता गरेनन्। खाना खाने बेलामा खोजतलास गर्दा सिरानीमुनि पत्र भेटियो।
मेरा प्यारा मुटुका टुक्रा छोराबुहारी,
उमेर बढ्दै गएपछि आफ्ना पुस्ता छुट्दै जाँदा रहेछन्। नयाँ पुस्ताले आफूलाई बुझ्दा रहेनछन्। कति त जिन्दगीको उत्तरार्द्धमा नराम्रो गरी मानसिक रोगी हुँदा रहेछन। धन्न म त्यसको शिकार हुनबाट बचेको छु।
साथीसंगतीको साथमा बन्दा पोको पारेको म: म: को डल्लो पनि रुच्दो रहेछ। मैले कार्यक्रममा म: म : खानु र घरमा खाना नरुच्नु नै तिमीहरूकाे कलहको बिउ भएछ।
मन, मत र मति मिलेपछि एक अर्कालाई साथ दिन मात्रै होइन सति जान पनि तयार भइँदोरहेछ। तसर्थ म यतै कतै मत मिल्ने मलाई बुझ्नेहरूको भिडमा हुनेछु।'
तिमीहरूको बुवा!!!
प्रकाशित: १८ भाद्र २०८१ १३:०७ मंगलबार