पानी परेर आकाश खुलेको असारको गोधुली साँझ आमा र म घरको छतमा बसेर नीलो आकाशले ढाकेको, अस्ताउँदो सूर्यको सुन्तला र पहेँलो किरणले क्यानभासमा रङ पोते झैं दृश्यमा डुबिरहेका थियौं। विशेष समयमा प्रकृतिले दिने यस्ता सुन्दर दृश्य र सुन्दरताको क्षणरूपी उपहारप्रति धन्यवादको भाव बढेर आउँछ।
हामी एकापसमा भलाकुसारी गर्दै थियौं। क्षणिक रूपमा खुसी भएको महसुस भए पनि दैनिक यो उपहार त प्रकृतिले हामीलाई मात्र होइन, सबैलाई दिएको छ तर त्यो समयसँग साक्षात्कार हुन जान्नुपर्छ आफैं। दिनभर थाकेको मस्तिष्क पनि यतिबेला हामीलाई आनन्दमा जान साथ दिइरहन्छ। मानसिक र भावनात्मकरूपमै यस क्षणमा रहन सिकाउँछ प्रकृतिले।
आहा दृश्य, आहा मन, अझ त्यसमाथि आमाछोरीको समय है भन्दै हामी मस्ती लिइरहेका थियौं, हातमा चियाको कप, भलाकुसारीसँगै चियाको चुस्की, पृष्ठभूमिमा गोधुली साँझको दृश्य र सूर्यास्तले बिस्तारै बिदा लिँदै गरेको आभास दिलाउँदै। आमा थप्नुहुन्छ– भोलि फेरि सूर्योदय हुने संकेत दिँदै अस्तायो है घाम। आमाको गफ पनि कम्ता साहित्यिक छैन यो क्षणमा।
आमाको गफमा म थप्छु, ‘अब्राहम मास्लोले यी अनुभवहरूलाई ‘शिखर अनुभव’ भनेका थिए।’ आमा मलाई बिचमै टोक्नुहुन्छ– ऊ हातमा किताब पनि त छुटेको छैन नि, त्यही किताबले भनेको होला होइन ? मैले हाँस्दै भने– कसरी थाहा भयो हजुरलाई ? हो एकार्ट टोलेले लेखेको यो पुस्तकमा ‘अहिलेको शक्ति’ अर्थात् अहिले यो क्षणमा जे अनुभूति गर्न सकिन्छ त्यो ताजा र सत्य अनुभूति हो भनेका छन्।
मैले आमालाई थोरै बुझाउने कोशिस गरें। ६ वर्षको उमेरदेखि हो किताब पढ्न थालेको, अझै छोडेकी छैन। फुर्सद हुनासाथ हातमा किताब त भइहाल्छ। ‘पढ्नेलाई पढेर कहिल्यै नसकिने रहेछ है’ म मुस्कुराएँ मात्र, आमालाई अरू धेरै के भनिरहनु भनेर।
आमाले भन्नुभयो, ‘हो त, यस्तै समयलाई खुसीमा बदल्न जाने दुःखी किन हुनुपथ्र्यो र ? आकाश हेर्यो, चराचुरुङ्गीसँग बात मार्यो, तिनीहरूले पनि बुझ्छन् हाम्रो भाषा। प्रेमको भाषा कसले बुझ्दैन र ? अरूसँग खुसी हुन जान्नु नै प्रेमको अनुभूति हो। अरूको प्रशंसा गर्नू, सहयोग चाहिएकालाई सहयोग गर्नू। सहयोग गर्दा कम्ता आनन्द आउँछ ? यही त भनेका होलान् नि मास्लोले। ऊ बेला चिठी पढ्न सक्ने भई छोरी भनेर त्योभन्दा धेरै पढाउनुभएन बुबाले। किताब त म पनि फुर्सद हुँदा पढ्छु नि, पत्रपत्रिका पनि पढ्छु तर तिमीहरूको जस्तो ज्ञान कहाँ हुनु र ? अलि धेरै पढ्न पाएको भए त सबै कुरा बुझ्थेँ होला नि।’
मलाई आमाका कुरासँग आनन्द आइरहेको थियो किनकि आमा नै आफैंमा सबैभन्दा ठुलो ज्ञान हो। त्यो जीवन्त–ज्ञान म अनुभूत गर्न सक्छु। आमाबाट जति मैले सिकेको छु, त्यति विद्यावारिधिले पनि सिकाएको छैन। बाहिरी ज्ञान बाहिरको डिग्रीले सिकाएको छ तर आन्तरिक ज्ञान, प्रेम, ममता र मातृत्व शक्ति मैले आमाबाट नै सिकेको छु।
हामी भलाकुसारीकै क्रममा थियौं, छिमेकमा हल्लाको आवाज आयो। आमाले थप्नुभयो– ‘पल्लो घरकी नानी कहिलेकाहीं छतमा बसेर चुरोट तानेको देख्छु अनि आमाचाहिँ कराउँछिन्। चुरोट तानेर कराएको कसरी थाहा भयो र हजुरलाई ? योभन्दा अगाडि पनि सुनेको छु के, छोरी भएर चुरोट तान्छेस् भन्दै आमा कराउँथिन्। दिदीभाइ छन्, कहिलेकाहीं दुवैजना सँगै रमाइलो गरेका हुन्छन्। तर छोरालाई कराएको त सुनेको छैन।’
‘हजुरलाई अरूको कति चासो चाहिएको त ? लौ, मैले चासो लिएको हो र छतमा निस्किँदा, फूलमा पानी हाल्दा, यसरी नै बिहानबेलुका बस्दा आमा सन्चै हुनुहुन्छ भन्छन्, बोलाउँछन्, बोलिन्छ नि, काठमाडौंमै भएर पनि यसरी छिमेकी छत छतबाट बोल्छन् र ? राम्रा छन् यिनीहरू। सिंगापुर बसेर आएका लाहुरेजस्ता छन्,’ आमाले तारिफ गर्दै विस्तार गर्नुभयो। ‘बिचरा ! आमाछोरीलाई किन नकाराउन् त ? चुरोटले छोराको फोक्सो मात्र बिग्रिने, छोरीको त चरित्र नै बिग्रिन्छ नि। यो समाजले छोरीलाई कहाँ स्वतन्त्रता दिन्छ र ?’ छोरीको पनि स्वास्थ्यको चिन्ताले होला, मैले कुरामा कुरा थपें।
आमा मान्नुहुन्न मेरो कुरा अनि थप्नुहुन्छ– ‘यो संस्कार नै यस्तै बनाएको छ समाजले। छोरी स्वतन्त्र हुनुभएन। छोराले जे गर्छ त्यो गर्न पाउनुभएन। छोराको इज्जत गए पनि फर्काएर ल्याउँछ, छोरीले सक्छन् ?’ आमाको एकोहोरो विश्लेषणमा एउटा निर्दोषपूर्ण भाव र समाजको चित्रण थियो। धूमपान सही भन्नेसँग होइन, समाजको धारणासँग आमा सहमत देखिनुहुँदैनथ्यो। मैले आमाको स्वतन्त्रता र जे बुझ्नुभयो र व्यक्त गर्नुभयो, केवल अँमा हँ मिलाएँ। मनमनै गमेँ उहाँको भावनालाई। अरू धेरै प्रश्न तेस्र्याउन पनि मन लागेन।
एकछिनपछि फेरि हामी आफ्नै भलाकुसारीमा फर्कियौं। छिमेकको हल्ला पनि शान्त भइसकेको थियो। मलाई पनि साँझको खाना खाएर आफ्नै घर फर्किनुथियो। मनमनै ओशोको प्रवचन याद आइरहेको थियो– पश्चिमाहरूले स्वतन्त्रतालाई समानतासँग जोडेर हेरे, चरित्रमा महिला–पुरुषको भेद देखेनन् तर भारतीय उपमहाद्वीपमा यो संस्कार जीवित छ।
चरित्र जोगाउने जिम्मा छोरीको नै हो जस्तो। यही धारणाले गर्दा स्वतन्त्रता र समानताको लडाईं अझैं बाँकि छ। मैले गहिराइबाट मनन गरें– जबसम्म आध्यात्मिकताको रस भिज्दैन, तबसम्म अन्तर्दृष्टि खुल्दैन। सामान्य धारणा, विभेद र परम्परागत मानसिक सोचमै जीवन गुज्रिरहन्छ।
को कस्तो छ भन्ने दृष्टिबाट माथि उठेर म कस्तो छु र म को हुँ भन्ने आधारभूत प्रश्न अन्तरतमबाट जागृत भयो भने मात्र यो ब्रह्माण्ड, त्यसमा आफ्नो हिस्सा, गुणस्तरीय जीवनस्तर, भातृत्व र प्रेमको आयाममा जीवन देख्ने दृष्टि बदलिन्छ। यही दृष्टिबाट रूपान्तरण सुरु हुन्छ। असल सोच, महान् हृदयले सोच, सुन्दर समाज र सुन्दर जीवनको परिकल्पना गर। तिम्रो सोचको परिणाम नै तिम्रो जीवनको सफलताको मापन हो।
आध्यात्मिक रहस्यदर्शी खप्तड बाबाले यही बताउनुभएको थियो। परिपक्वता आध्यात्मिक चिन्तनमा हुनु जरुरी छ अनि संसार र व्यवहारमा स्वयं परिपक्वता आउँछ। साधारण क्षमताले प्रतिस्पर्धा मात्र सिर्जना गर्छ। आध्यात्मिक यात्रा असाधारण क्षमताको प्रस्फुटन हो।
भगवान् बुद्धले यो अध्यात्मलाई हृदयको वीणाको संज्ञा दिनुभयो। अर्थात् अध्यात्म मस्तिष्कबाट होइन, हृदयबाट प्रस्फुटन हुनुपर्छ। बुद्धले जति हृदयका वीणा बजाउनुभयो, त्यो अरूले बजाउन नसकेको ओशो उल्लेख गर्नुहुन्छ। बुद्धका माध्यमबाट जति व्यक्तिहरू भगवत्तामा उपलब्ध हुनसके, त्यो अरूबाट हुन नसकेको भन्नुहुन्छ किनकि बुद्धले आफ्ना मधुर वाणीबाट यस्ता व्यक्तिलाई चेताउनुभयो, जुन कठिन थियो।
बुद्धि, तर्क र विचारले भरिएका, हृदयमा कुनै झङ्कार नभएका, बुद्धिवादी व्यक्तिलाई बुद्धले जागृत गराउन सफल हुनुभयो। हृदयले भरिएको व्यक्ति त स्वयंमा जागृत र समर्पित हुन्छ, उसलाई जगाउन कुनै कठिन उपाय लगाउनुपर्दैन। ध्यान एक मात्र मार्ग हो, जसले तिमीलाई तिम्रो अन्तस्करणमा लैजान मद्धत गर्छ। एक ıष्टाझैं आफैंले आफैंलाई हेर्ने एक मूलमन्त्र हो ध्यान।
आफूले गरिने कर्महरू जस्तैः हिँड्दा, बोल्दा, कुराकानी गर्दा, खाँदा, पढ्दा, श्वास लिँदा–छोड्दासमेत सबै काममा भित्रबाट आफैं ıष्टा भएर हेर्ने जागृत अवस्था हो ध्यान। कसरी, के, किन, कसका लागि गरिरहेछु र यसले आफूलाई या अरूलाई सकारात्मक ऊर्जा दिन्छ या नकारात्मक, त्यो जान्न सक्नु जागृति हो। जागृतिको कला जानेपछि जीवनमा चाहेको सबै कुरा पूरा हुन्छ र जे वास्तविक आवश्यकता हो, त्यसको मात्र चाहना हुन्छ।
ध्यान घटित हुनासाथ तिमीमा प्रेम जागृत हुन्छ। प्रेम जागृत हुनासाथ तिम्रा हरेक कर्म पूजा बन्छन्। ध्यान र प्रेम जागृत हुनासाथ व्यक्तिले गर्ने कर्म सकारात्मक र फल पनि सकारात्मक नै आउँछन्। बुद्ध आफ्ना शिष्यलाई कल्याणमित्र भनेर सम्बोधन गर्नुहुन्थ्यो। कल्याणमित्र जो संगत गर्न लायक छ, जो चेतनाको स्तरबाट उत्कृष्ट छ र जसको मार्ग ध्यानको छ।
हरेक कर्ममा ध्यान, हरेक सम्बन्धमा ध्यान, हरेक परिणाममा साक्षी भएर हेर्छ। जसको भाव सुन्दर छ, जोसँग अन्तरंग मिल्छ, जो अन्तर्मुखी हुने खुबी राख्छ, त्यही कल्याणमित्र हो। त्यसैले तिमीहरू मेरा कल्याणमित्र हौ र तिमीहरूको मार्ग पनि कल्याणकारी हुनुपर्छ भने कुरालाई बुद्धले बहुत मार्मिक तरिकाले बुझाउने प्रयास गर्नुभयो। उहाँका यिनै अनुभूतिहरू÷वाणीहरू सङ्गृहीत भएर धम्मपद बन्यो।
धम्मपदको पाठले मात्र हाम्रो चेतनाको स्तर उक्सिनेवाला छैन। उहाँले गर्न सकेको बोध हामीले पनि गर्न सकेको क्षण नै बुद्धको सम्मान भएको मानिने छ। ओशोले बुद्धकै सार्थक सन्देश र अनुभूतिलाई आफ्नो जीवनमा उतार्नका लागि जोरबा दी बुद्धको माध्यमबाट भोग र योग दुवैमा निपुणता पाउन सक्ने सूत्रहरू बताउनुभएको छ।
बाहिरको सम्पन्नतालाई सुखपूर्वक भोग गर तर भित्र योगलाई सतत स्मरणमा राख भन्ने कलालाई ओशोले जोड दिनुभयो। जोरबा सुरुवातको अवस्था हो। त्यसैले चरित्र छोरा र छोरीको चित्रणसँग होइन, हाम्रो आध्यात्मिक गहिराइमा खोजिनुपर्छ।
प्रकाशित: ८ भाद्र २०८१ ०७:५४ शनिबार