२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
कला

सुकुम्वासीको कथा चलचित्र आँखाको टिजर सार्वजनिक

फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र आँखाको टिजर सार्वजनिक भएको छ । टिजरले काठमाडौंको बागमती नदी किनारको सुकुम्वासी बस्तीको दयनीय अवस्था र यसलाई सरकारले हेर्ने दृष्टिकोणलाई मार्मिक ढंगले चित्रण गरेको छ ।

केही समयअघि काठमाडौंका विभिन्न नदी किनारमा टहरो बनाएर बसोबास गर्दै आएका सुकुम्बासीहरुको संरचनालाई महानगरले बलपूर्वक हटाउन प्रयास गर्दा उत्पन्न झडप र आन्दोलनको स्मरण टिजरले गराउँछ । वर्षौंदेखि सरकारका लागि टाउको दुखाइको विषय बनेको सुकुम्बासी व्यवस्थापनको मुद्दालाई फिल्मले उठाएको छ । टिजरले फिल्मको दृश्यभाषा बलियो रहेको छनक दिन्छ । टिजरको अन्त्यमा एउटा संवाद राखिएको छ, यिनीहरुले गर्दा यो सहर गन्हाइसक्यो ।

निर्देशक जोन योन्जनले यसको कथा, पटकथा लेखन र निर्देशन आफैं गरेका छन् । निर्देशक योञ्जनले काठमाडौं महानगरका प्रमुख बालेन शाहले खेपिरहेको यतिबेला ज्वलन्त मुद्दालाई फिल्मको कथावस्तु बनाएका छन् ।

टिजरमा चलचित्रका सबै प्रमुख कलाकारलाई परिचय गराइएको छ  । चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा मुख्य भुमिकामा स्मिता लामिछाने र आर के मेहता देखिन्छन् । लामिछानेले यसअघि बाह्र सत्ताईस, म राजेश हमाल लगायतका थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् भने आर के मेहता यसै चलचित्रमार्फत् डेब्यु गर्दैछन् । उनले यो चलचित्रको लागि १५ किलो वजन घटाएका थिए ।

रंगमञ्चमा लामो समय सक्रिय मेहताले शिल्पी थिएटरमा जेसिमो बेटा भर्सन, कोमा, माझिपा लाखे, नारी, के लाग्यो हाल्का ले, एल्लो कमेडी जस्ता थुप्रै नाटकहरु गरेका थिए । उनी हारजित वीच, जिउँदो आकाशु नाटकका अभिनेता तथा निर्देशक पनि हुन् । उनले इटालीमा एकडेमिया डेल् आर्ते मा फिजिकल थिएटरको डिप्लोमा गरेर त्यही प्रशिक्षण पनि दिएका थिए । इटालीमा पनि उनले धेरै प्रदर्शनहरू गर्नुका साथै नेपालको मण्डला थिएटर, कान्तिपुर फिल्म एकेडेमी, एनएफडीसी, पिफिटमा पनि ओकर्सप दिएका थिए ।

ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो चलचित्र निर्माण गरिएको हो । सम्पादन कृष्ण भण्डारीले गरेका छन् भने छायाङ्कन आलोक शुक्लाको रहेको छ । आरआर फिल्म्सले यसको वितरण गर्दैछ । पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका छन् । यो फिल्म असोज ११ गतेबाट प्रदर्शन हुँदैछ ।

प्रकाशित: ७ भाद्र २०८१ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App